Sajhamanch Archive

शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिन्छ : मन्त्री आङ्बो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

फिदिम । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने दोहोर्याएका छन् ।

संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेका कारण यी क्षेत्रको सम्पूर्ण दायित्व राज्य स्वयम्ले लिने मन्त्री आङ्बोको कथन छ ।

निजी क्षेत्रबाट पाँचथरको सदरमुकाम फिदिममा स्थापना भएको समर्पित अस्पतालको आज उद्घाटन गर्दै मन्त्री आङ्बोले सरकारले आफ्नो दायित्व पूरा गर्ने क्रममा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए ।

विगतमा गलत अर्थनीतिका कारण राज्यबाट सेवा प्रवाह गर्ने संरचना धरासायी बनेको बताउँदै मन्त्री आङ्बोले निजी क्षेत्रसँगको सहकार्यबाट भए पनि राज्यले आफ्नो दायित्व पूरा गर्ने स्पष्ट पारे ।

“शिक्षा, स्वास्थ्यजस्ता सेवा प्रवाह गर्ने संरचनालाई निजी क्षेत्रबाट स्थापित संरचनासँग प्रतिस्पर्धी बनाउँदै पूर्ण रुपमा सबल बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित छ” मन्त्री आङ्बोले भनेका छन् ।

“राज्यका संरचना सबल नभएसम्म निजी क्षेत्रलाई हरेक तवरबाट साथ दिनु तीनै तहका सरकारको जिम्मेवारी हो” मन्त्री आङ्बोले थपेका छन् ।

फरक प्रसङ्गमा मन्त्री आङ्बोले स्थानीय तहहरुले भूलबस गरेका केही कमजोरीका कारण करका विषयमा सर्वसाधारणमा असन्तुष्टि पैदा भएको हुनसक्ने जिकिर पनि गरे । प्रदेश र संघीय सरकारले त्यस्ता कमजोरी सुधार्न सहयोग गर्ने मन्त्री आङ्बोको भनाई छ ।

मन्त्री आङ्बोले करका विषयलाई लिएर संघीय संरचना र संविधानमाथि प्रहार गर्ने प्रयत्न भए सरकार जस्तोसुकै जवाफ दिन तयार रहेको स्पष्ट पारे । साथै उनले नागरिकलाई मार पर्ने गरी कर सङ्कलन नगर्न स्थानीय तहहरुलाई आग्रह पनि गरे ।

समर्पित अस्पताल सुविधासम्पन्न रहेको दावी

पाँचथरको फिदिममा आजदेखि सञ्चालनमा ल्याइएको समर्पित अस्पताल अत्याधुनिक सुविधासम्पन्न रहेको दावी गरिएको छ ।

५ करोडको लगानीमा सञ्चालनमा ल्याइएको अस्पतालले पाँचथरको फिदिमलाई कार्यक्षेत्र बनाएर सेवा विस्तार गर्ने योजनासहित तत्काललाई २५ शैयाको रहेको छ । अस्पतालको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गरिदिएका हुन् ।

विकास र समृद्धिका निमित्त स्वच्छ वातावरण र स्वास्थ्य जीवन निर्माण भन्ने मूल नाराका साथ अस्पतालको सुरुवात गरिएको सञ्चालक समितिले जनाएको छ ।

पाँचथर, ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका केही भागका जनतालाई लक्षित गरी अस्पताल सुरुवात गरिएको हो ।

अस्पतालबाट मेजर अपरेशनका साथ आइसियु, एनआइसियु, सिटी स्क्यान, आँखाको अपरेशनलगायतका सेवा पनि केही समय पछि सुरु गर्ने अस्पताल स्रोतले जनाएको छ ।

हालका लागि चार जना विशेषज्ञ डाक्टरहरुको सेवा रहने उक्त अस्पतालमा सामाजिक दायित्वलाई बढी महत्वमा राखेर काम गर्न लागिएको जानकारी व्यवस्थापन समितिका घनेन्द्र खनालले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *