Sajhamanch Archive

भुटानको सत्तारुढ दल पहिलो चरणको निर्वाचनमै पराजित

Published: (Updated: ) in राजनीति by .

थिम्पु । भुटानका निवर्तमान प्रधानमन्त्री छिरिङ् तोब्गेले आइतबार आम निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन् । उनको सत्तारुढ पिपुल्स डेमोक्रेटिक पार्टी निर्वाचनमा तेस्रो स्थानमा आएपछि पहिलो चरणबाटै बाहिरिएको छ ।

निर्वाचनमा पहिलो र दोस्रो भएका पार्टीहरु क्रमशः ड्रुक फुएन्सुम शोग्पा(डीपीटी) र  ड्रूक न्याम्रुप शोग्पा पार्टीहरु अब अक्टोबरमा १८ मा हुने दोस्रो चरणको निर्वाचनमा भिड्ने छन् ।

यो परिणामसँगै अमेरिकाको हारवार्ड विश्वविद्यायलमा पढेका निवर्तमान प्रधानमन्त्री छिरिङ् तोब्गेको दोस्रो कार्यकालको प्रधानमन्त्री हुने चाहनामा ठेस लागेको छ ।

“म डीएनटी, डीपीटी र तिनका उमेद्वारहरुलाई तिनको असाधरण प्रदर्शनीको लागि बधाई दिन चाहन्छु,” तोब्गेले ट्वीटरमा लेखेका छन् ।

५२ वर्षे तोब्गे हिमाली साइकलको उत्साही समर्थक हुन् । उनको पिपुल्स डेमोक्रेटिक पार्टी सन् २०१३ मा विपक्षीलाई हराएर सत्तामा आएको थियो ।

तर आलोचकहरुले उक्त निर्वाचनमा भुटानको शक्तिशाली छिमेकी भारतले निर्यातमा कढाई गरेर तत्कालिन भारतविरोधी सत्तारुढ दलको पतनमा सघाएको र भारतप्रति नरम तोब्गेको सत्तागमनलाई सहज बनाइदिएको आरोप लगाउने गर्छन् ।

८ लाख जनसङ्ख्या भएको भुटानमा यो पटक भएको आम निर्वाचनमा कुल मतदाता मध्य ६६% अर्थात २,९१,००० ले मतदान गरेका छन् ।

भुटानमा सन् २००८ मा पहिलो संसदीय निर्वाचन भएको थियो ।

भ्रष्टाचार, ग्रामिण गरिबी, युवा बेरोजगार तथा अपराधी ग्याङ् भुटानको अर्थतन्त्रले भोगिरहेको समस्या हो ।

अघिल्लो वर्ष यसका दुई ठूला छिमेकी देशहरु चीन र भारत यसको भूभाग दोक्लम पठारको विवाद लाई लिएर युद्धको संघारमा पुगेका थिए । दुई ठूला छिमेकी बीच सन्तुलित विदेश सम्बन्ध कायम गर्ने पनि भुटानको चुनौती रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *