Sajhamanch Archive

अञ्चल अस्पतालमा बिरामीको चाप बढ्दो : एउटै शय्यामा ४ बिरामी

Published: (Updated: ) in स्वास्थ्य by .

माेरङ  । धनपालथान २ की पुनमदेवी मण्डलले २ वर्षीया छोरीलाई ज्वरो आएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल ल्याइन् । आकस्मिक कक्षमा ओछ्यान खाली थिएन ।

 

अन्त लैजाने अवस्था नभएपछि उनको छोरीको झ्यालको सानो ठाउँमा राखेर उपचार भइरहेको छ ।मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालस्थित आकस्मिक कक्षमा एउटै शय्यामा ४ जनासम्म बिरामी राखेर उपचार गरिंदै ।

विराटनगर २ का दशरथ सहनीले पनि ज्वरोले बिरामी भएकी पत्नीलाई उपचारका लागि अस्पतालमा ल्याउँदा ओछ्यान पाएनन् । उनी पनि झ्यालमा राखेर उपचार गराउन बाध्य भए ।

उनीहरूजस्तै अरू बिरामीको अवस्था उस्तै छ । एउटै ओछ्यानमा ४ जनासम्म राखेर उपचार गराउन बाध्य छन् । आकस्मिक कक्षमा रहेको चारवटा झ्याललगायत टेबल, कुर्सीमा राखेर समेत उपचार भइरहेको छ । कतिपय बिरामीको काखैमा राखेरसमेत उपचार भइरहेको छ ।

केही दिनयता अस्पतालमा रूघाखोकी, ज्वरो, निमोनिया, छाडापखाला, दमलगायत रोगका बिरामीको चाप बढेको छ । अधिकांश बिपन्न, सुकुम्बासी परिबारका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । अस्पतालको १७ शय्याको आकस्मिक कक्षमा दैनिक ६०/७० बिरामी आउने गरेकाले स्थान अभाव भएको छ ।

आकस्मिक कक्ष इञ्चार्ज रघुनन्दन अधिकारीले जम्मा १७ वटा शय्या रहेको तर दैनिक ६०/७० जना बिरामी आएपछि समस्या भएको बताए । ‘एउटै शय्याको चार कुनामा चारजना बिरामीलाई राखेर उपचार गर्न बाध्य छौं,’ उनले भने, ‘बिरामी आएपछि फर्काउन मिलेन, जसरी पनि उपचार गर्नैपर्ने भएकाले झ्यालमा मात्रै होइन, काखमा राखेर पनि उपचार गर्नैपर्ने बाध्यता छ ।’

एउटै शय्यामा चार जना राखेपछि पहिलेदेखि बसिरहेका बिरामी र उनका कुरुवाले स्वास्थ्यकर्मीलाई गालीगलौज गर्ने गरेको तर गाली सुनेरै भए पनि बिरामीको उपचार गर्नुको विकल्प नभएको अधिकारीले बताए । उनले हाल दैनिक २० जना निर्मानिया रोगले पीडित बालबालिका र २० सम्म ज्वरोले बिरामी भएर उपचारका लागि आउने गरेको बताए ।

झाडापखाला, दम, रूघाखोकीलगायतका बिरामी पनि आउने गरेका छन् । ‘आकस्मिक कक्षमा बिरामी र कुरुवाले खचाखच भरिएको हुन्छ र त्यसमा स्वास्थ्यकर्मी र चिकित्सकलाई उपचार गर्नका लागि एक शय्याबाट अर्को शय्यासम्म जान समस्या हुन्छ,’ उनले भने, ‘बिरामीलाई उपचार गर्न जाँदा कतिपयलाई खुट्टाले कुल्चिदै, जीउमै टेकेर जानुपर्ने बाध्यता हुन्छ ।’

अस्पताल प्रशासनलाई वर्षौंदेखि आकस्मिक कक्षको शय्या बढाउन माग गर्दै आए पनि हालसम्म कुनै सुनुवाइ हुन नसकेको अधिकारीले गुनासो गरे । इन्डोर र बहिरंग सेवा गरी दैनिक १ हजार ५ सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालको तथ्यांकले जनाएको छ ।

अस्पताल निमित्त प्रमुख डा. रोशन पोखरेलले पुरानै संरचनामा हालसम्म अस्पताल सञ्चालन हुँदै आएकाले समस्या भएको स्विकारे । उनले अहिले भइरहेको मौसम परिवर्तनले दैनिक बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ ।

‘कोसी अञ्चल अस्पतालमा न्यूनतम सुनसरी, मोरङ, झापाका बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने, ‘दिन प्रतिदिन बिरामीको संख्या अस्पतालमा बढदै गएको तर संरचना २५ वर्ष अघिकै भएकाले सेवा प्रवाहसमा समस्या छ ।’

पोखरेलले आकस्मिक कक्ष बिस्तारका लागि पटकपटक केन्द्रमा आग्रह गर्दै आएको तर हालसम्म सुनुवाइ हुन नसकेको गुनासो पोखे । उनले संघीय संरचनामा यो अस्पताल प्रदेश सरकारको मातहतमा आएकाले अब चाँडै केही हुन्छ कि भन्नेमा आशावादी रहेको सुनाए ।

अस्पतालमा भौतिक संरचना मात्रै नभई चिकित्सकसमेत अभाव छ । १९ वटा विषयको विज्ञ चिकित्सकको दरबन्दीमा वर्षौंदेखि पदपूर्ति हुन नसक्दा अस्पतालले सेवा बिस्तार गर्न सेकको छैन । पोखरेलले अस्पतालमा १९ जना विषय विज्ञको दरबन्दीमा हाल ५ मात्रै कार्यरत रहेका बताए ।

‘स्त्रीरोग, साइक्याट्रिस्ट, छालारोग, बालरोग, रेडियोलोजिस्ट र नाक, कान, घाँटी विषयमा मात्रै प्रमुख कन्सल्टेन्ट चिकित्सक कार्यरत छन्,’ उनले भने, ‘अस्पतालमा ११ औं तहका प्रमुख कन्सल्टेन्ट चिकित्सक मेडिकल सुपरिडेन्टेन्टका लागि पब्लिक हेल्थको, एनेसथेसिया, अर्थोपेडिक, फिजिसियन, जर्नल सर्जन, अप्थोलोजिस्ट, प्याथोलोजी, प्रमुख अस्पताल नर्सिङ प्रशासक, ग्याट्रोलोजिस्ट, नेफ्रोलोजिष्ट, कार्डियोलोजिस्ट र ल्याब टेक्निसियन पद पूर्ति हुन सकेको छैन ।’

पोखरेलका अनुसार ९/१० औं तहका बरिष्ठ कन्सल्टेन्ट चिकित्सक ४२ जनामा १९ वटा दरबन्दी रिक्त रहेकाले सर्वसाधारणलाई विशेषज्ञ सेवा प्रदान गर्न समस्या भइरहेको बताए । ३ सय ५० शय्याको उक्त अस्पतालमा २ सय ४९ सरकारी र २ सय ६५ अस्पताल विकास समितिको गरी कुल ५ सय ९९ कर्मचारी र चिकित्सकको दरबन्दी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *