प्रतिबद्धता जनाएको २ वर्षसम्म पनि सुरु भएन ‘रोटा भाइरस’ प्रतिरोध अभियान
Published: (Updated: )
by .‘रोटा भाइरस’का कारण नेपालमा ५ वर्षमुनिका बालबालिकाहरू धेरै जोखिममा छन् । सरकारले सन् २०१६ को डिसेम्बरबाट अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘गाबि’को सहयोगमा सरकारले ‘रोटा भाइरस’ निःशुल्क प्रतिरोध अभियान सुरु गर्ने तयारी गरेको थियो ।
यो भाइरसका कारण बालबालिकालाई चिसोको समयमा झाडापखालाको समस्या देखिन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई ११ वटा खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । ‘रोटा भाइरस’ को खोप पनि निःशुल्क उपलब्ध गराउने लक्ष्य छ । नेपालमा ८७ प्रतिशत बालबालिका खोपको पहुँचमा रहेको भनिए पनि सन् २०१६ मा गरिएको सर्वेक्षणमा ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको तथ्याङ्क छ ।
निर्देशक भन्छन्, ‘सन् २०१८ भित्रमै सुरु गर्छाैँ’
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर आरपी बिच्छाका अनुसार ‘रोटा भाइरस’ विरुद्ध लगाइने खोप सुरु गर्ने अन्तिम तयारी भइरहेको छ । उनका अनुसार सन् २०१६ मै यो भाइरसविरुद्धको खोप सुरु गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउन प्रक्रिया पुर्याउनुपर्ने भएकाले समय लागेको हो ।
नेपालमा एक हजार बालबालिकामा बर्सेनि ४ सय बालबालिका झाडापखालाबाट पीडित हुँदै आएका छन् । त्यसमध्ये पनि ३० देखि ४० प्रतिशत बालबालिका ‘रोटा भाइरस’का कारणले पीडित हँुदै आएको निर्देशक डा. विच्छाले बताए । ‘नेपाल सरकार र गाबिबीच ‘रोटा भाइरस’विरुद्धको खोप सञ्चालन गर्ने अन्तिम तयारी भइसकेको छ । अब हामी सन् २०१८ भित्रमा रोटा भाइरस सञ्चालन गर्ने तयारीमा लागिरहेका छौँ । छिट्टै सुरु हुन्छ’ डा. बिच्छाको भनाइ छ । ‘रोटा भाइसर’ सुरु भएपछि बालबालिकामा चिसो समयमा देखिने झाडापखालाको समस्या कम हुने सरकारको विश्वास छ ।
के हो रोटा भाइरस ?
‘रोटा भाइरस’ जाडो मौसममा बढी सक्रिय हुन्छ । चिसो बढेपछि बालबालिकाहरू प्राणघातक यो ‘रोटा भाइरस’को सङ्क्रमणको जोखिममा पर्छन् । ‘रोटा भाइसर’ र ‘नोरा भाइरस’ चिसो मौसममा बढी सक्रिय हुन्छन् । विशेषज्ञहरूका अनुसार ‘रोटा भाइरस’ले खास गरी ५ वर्षमुनिका बालबालिकामा बढी समस्या देखिन्छ भने १ वर्षमुनिका बालबालिकामा यो भाइरसको सङ्क्रमण हुने उच्च सम्भावना हुन्छ । बालबालिकाको मृत्युको कारण निमोनियापछि झाडापखाला हुने गर्छ ।
पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारण ‘रोटा भाइरस’ एक हो । रोटा भाइरस सरसफाइले मात्र रोक्न सकिने वा नियन्त्रणमा ल्याउन सकिने रोग नभएको जानकारहरूको भनाइ छ । यो सरुवा रोगमा पर्ने यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र छिटो सर्ने गर्छ । ‘रोटा भाइरस’ सङ्क्रमितको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ । यदि त्यो दिसा कुनै मध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि सङ्क्रमित हुनेछ । सङ्क्रमित हात, कुनै सङ्क्रमित सामान, बालबालिका भए उनीहरूले प्रयोग गरेको खेलौना, सङ्क्रमित पानी र खानेकुरा आदि ‘रोटा भाइसर’ सर्ने प्रमुख मध्यमहरू हुन् ।
तारन्तार पानी जस्तो पातलो दिसा लाग्नु, बान्ता हुनु, पेट दुख्नु, अति जलवियोजन हुनु यसका प्रमुख लक्षण हुन् । अनुसन्धानको नतिजाले नेपालमा झाडापखालाका कारण अस्पताल भर्ना भएका ५ वर्षमुनिका बालबालिकामा ३३ प्रतिशत ‘रोटा भाइरस’ को कारणले भएको देखिएको छ ।
रोटा सञ्चालन गर्दा सरकारलाई हुने चुनौती
रोटा भाइरस कोल्चेन भोलम धेरै चाहिने भाइरस हो । रोटा धेरै रिक्स भएकै कारण निकै कम देशले सञ्चालनमा ल्याएका छन् । विश्वमा झण्डै ९० देशको बालबालिकाले मात्रै रोटा भाइरसविरुद्धको औषधि पाएका छन् । महाशाखाका एक कर्मचारी भन्छन्, ‘रोटा भाइरस’ नेपालमा सुरु गर्न लामो समय पूर्व तयारीमा नै बित्यो । ‘रोटा भाइरस’ बोक्ने भाँडा, राख्ने ठाउँको तयारी गर्न नै सरकारलाई ३ वर्ष लाग्यो ।’ नेपाल सरकारले ‘रोटा भाइरस’ को औषधीमध्येको राम्रो रोटा रिक्स भाइरसको औषधी छनोट गरेको छ । रोटा रिक्स दुई मात्रा खुवाउनुपर्छ ।
स्वीकृत लिएको भाइरस रोटा रिक्स भए पनि ‘रोटा भ्याट’ ल्याउने कि ‘रोटा रिक्स’ भन्नेमा महाशाखाका कर्मचारीहरूमै अन्यौल देखिएको छ । तर सरकारले भने तालिम, गोष्ठी, सम्पूर्ण तयारी ‘रोटा रिक्स’को
बारेमा दिइसकेको हुँदा रोटा रिक्स नै ल्याउने पर्ने केही कर्मचारी बताउछन् ।
रोटा भ्याट, रोटा रिक्स जुन सञ्चालन गरे पनि बालबालिकालाई झाडापखाला लाग्नबाट बचाउने सरकारले राम्रो कदम चालेको विज्ञहरूले बताउँदै आएका छन् ।
Comments