Sajhamanch Archive

प्रतिबद्धता जनाएको २ वर्षसम्म पनि सुरु भएन ‘रोटा भाइरस’ प्रतिरोध अभियान

Published: (Updated: ) in स्वास्थ्य by .

काठमाडौँ ।  जानकारहरूका अनुसार ‘रोटा भाइरस’ जाडो मौसममा बढी सक्रिय हुन्छ । चिसो बढेलगत्तै नेपालमा बालबालिकाहरू यो प्राणघातक ‘रोटा भाइरस’ सङ्क्रमणको जोखिममा पर्न थालेका छन् तर नेपालमा सन् २०१६ देखि नै ‘रोटा भाइरस’ प्रतिरोध अभियान सुरु गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन ।

‘रोटा भाइरस’का कारण नेपालमा ५ वर्षमुनिका बालबालिकाहरू धेरै जोखिममा छन् । सरकारले सन् २०१६ को डिसेम्बरबाट अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘गाबि’को सहयोगमा सरकारले ‘रोटा भाइरस’ निःशुल्क प्रतिरोध अभियान सुरु गर्ने तयारी गरेको थियो ।

यो भाइरसका कारण बालबालिकालाई चिसोको समयमा झाडापखालाको समस्या देखिन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई ११ वटा खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । ‘रोटा भाइरस’ को खोप पनि निःशुल्क उपलब्ध गराउने लक्ष्य छ । नेपालमा ८७ प्रतिशत बालबालिका खोपको पहुँचमा रहेको भनिए पनि सन् २०१६ मा गरिएको सर्वेक्षणमा ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको तथ्याङ्क छ ।

निर्देशक भन्छन्, ‘सन् २०१८ भित्रमै सुरु गर्छाैँ’

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर आरपी बिच्छाका अनुसार ‘रोटा भाइरस’ विरुद्ध लगाइने खोप सुरु गर्ने अन्तिम तयारी भइरहेको छ । उनका अनुसार सन् २०१६ मै यो भाइरसविरुद्धको खोप सुरु गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउन प्रक्रिया पुर्याउनुपर्ने भएकाले समय लागेको हो ।

नेपालमा एक हजार बालबालिकामा बर्सेनि ४ सय बालबालिका झाडापखालाबाट पीडित हुँदै आएका छन् । त्यसमध्ये पनि ३० देखि ४० प्रतिशत बालबालिका ‘रोटा भाइरस’का कारणले पीडित हँुदै आएको निर्देशक डा. विच्छाले बताए । ‘नेपाल सरकार र गाबिबीच ‘रोटा भाइरस’विरुद्धको खोप सञ्चालन गर्ने अन्तिम तयारी भइसकेको छ । अब हामी सन् २०१८ भित्रमा रोटा भाइरस सञ्चालन गर्ने तयारीमा लागिरहेका छौँ । छिट्टै सुरु हुन्छ’ डा. बिच्छाको भनाइ छ ।  ‘रोटा भाइसर’ सुरु भएपछि बालबालिकामा चिसो समयमा देखिने झाडापखालाको समस्या कम हुने सरकारको विश्वास छ ।

के हो रोटा भाइरस ?  

‘रोटा भाइरस’ जाडो मौसममा बढी सक्रिय हुन्छ । चिसो बढेपछि बालबालिकाहरू प्राणघातक यो ‘रोटा भाइरस’को सङ्क्रमणको जोखिममा पर्छन् । ‘रोटा भाइसर’ र ‘नोरा भाइरस’ चिसो मौसममा बढी सक्रिय हुन्छन् । विशेषज्ञहरूका अनुसार ‘रोटा भाइरस’ले खास गरी ५ वर्षमुनिका बालबालिकामा बढी समस्या देखिन्छ भने  १ वर्षमुनिका बालबालिकामा यो भाइरसको सङ्क्रमण हुने उच्च सम्भावना हुन्छ । बालबालिकाको मृत्युको कारण निमोनियापछि झाडापखाला हुने गर्छ ।

पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारण ‘रोटा भाइरस’ एक हो  । रोटा भाइरस सरसफाइले मात्र रोक्न सकिने वा नियन्त्रणमा ल्याउन सकिने रोग नभएको जानकारहरूको भनाइ छ । यो सरुवा रोगमा पर्ने यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र छिटो सर्ने गर्छ । ‘रोटा भाइरस’ सङ्क्रमितको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ । यदि त्यो दिसा कुनै मध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि सङ्क्रमित हुनेछ । सङ्क्रमित हात, कुनै सङ्क्रमित सामान, बालबालिका भए उनीहरूले प्रयोग गरेको  खेलौना, सङ्क्रमित पानी र खानेकुरा आदि ‘रोटा भाइसर’ सर्ने प्रमुख मध्यमहरू हुन् ।

तारन्तार पानी जस्तो पातलो दिसा लाग्नु, बान्ता हुनु, पेट दुख्नु, अति जलवियोजन हुनु यसका प्रमुख लक्षण हुन् । अनुसन्धानको नतिजाले नेपालमा झाडापखालाका कारण अस्पताल भर्ना भएका ५ वर्षमुनिका बालबालिकामा ३३ प्रतिशत  ‘रोटा भाइरस’ को कारणले भएको देखिएको छ ।

रोटा सञ्चालन गर्दा सरकारलाई हुने चुनौती

रोटा भाइरस कोल्चेन भोलम धेरै चाहिने भाइरस हो । रोटा धेरै रिक्स भएकै कारण निकै कम देशले सञ्चालनमा ल्याएका छन् । विश्वमा झण्डै ९० देशको बालबालिकाले मात्रै रोटा भाइरसविरुद्धको औषधि पाएका छन् । महाशाखाका एक कर्मचारी भन्छन्, ‘रोटा भाइरस’ नेपालमा सुरु गर्न लामो समय पूर्व तयारीमा नै बित्यो । ‘रोटा भाइरस’ बोक्ने भाँडा, राख्ने ठाउँको तयारी गर्न नै सरकारलाई ३ वर्ष लाग्यो ।’  नेपाल सरकारले ‘रोटा भाइरस’ को औषधीमध्येको राम्रो रोटा रिक्स भाइरसको औषधी छनोट गरेको छ  । रोटा रिक्स दुई मात्रा खुवाउनुपर्छ ।

स्वीकृत लिएको भाइरस रोटा रिक्स भए पनि ‘रोटा भ्याट’ ल्याउने कि ‘रोटा रिक्स’ भन्नेमा महाशाखाका कर्मचारीहरूमै अन्यौल देखिएको छ । तर सरकारले भने तालिम, गोष्ठी, सम्पूर्ण तयारी ‘रोटा रिक्स’को

बारेमा दिइसकेको हुँदा रोटा रिक्स नै ल्याउने पर्ने केही कर्मचारी बताउछन् ।

रोटा भ्याट, रोटा रिक्स जुन सञ्चालन गरे पनि बालबालिकालाई झाडापखाला लाग्नबाट बचाउने सरकारले राम्रो कदम चालेको विज्ञहरूले बताउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *