Sajhamanch Archive

टोल विकास समिति गठनमा वडाबासीको आपत्ति

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । टोलबस्तीका लागि स्थानीय क्षेत्रबाट बिकासका योजना छनौट गरी वडा कार्यालयमा सिफारिस गर्न बनेका टोल बिकास समितिहरुको कामकार्वाहीप्रति गुनासो आउन थालेको छ ।

टोलबासीहरुलाई थाहै नदिई गोप्य रुपमा एकलौटी ढंगले टोल बिकास समितिहरु गठन गरिएको भन्दै बिर्तामोड ९ का वडाबासीहरुले आपत्ति जनाएका हुन् । वडा कार्यालय गरामनीमा भएको सर्बदलीय र सर्बपक्षीय छलफलमा चर्को आलोचना भएपछि गठित टोल बिकास समितिहरुलाई परिमार्जन गर्ने सहमति बनेको छ ।

बिर्तामोड ९ मा आठवटा टोल बिकास समितिहरु गठन भएका थिए । स्थानीय क्षेत्रको समस्यालाई पहिचान गरी बिकासका योजनाहरु छनौट गरेर माथिल्लो तहमा सिफारिस गर्न बिगतको वडा नागरिक मंचको बिकल्पमा टोल बिकास समितिहरुको गठन थालिएको हो ।

सम्बन्धित वडाका जनप्रतिनिधिको उपस्थितिमा ती टोल बिकास समितिहरु गठन गर्ने गरिन्छ । आबश्यकता अनुसार टोल बिकास समितिहरुको संख्या र पदाधिकारी दुवै परिमार्जन हुन्छ—वडा सदस्य बालकृष्ण कार्कीले भन्नुभयो ।उहाँले आठवटामा थपेर वडाभरि अब दशवटा टोल बिकास समिति बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघि गठन भएका टोल बिकास समितिहरुमा युवा र महिलाहरुलाई खासै सहभागी नगराइएको डोलेचौक टोल बिकास समितिका सदस्य माईनस प्लस संग्रौलाले बताउनुभयो ।त्यसैगरी डाँडागाउँ टोल बिकास समितिका सचिव कर्ण मगरले टोल—टोलबाट योजना छनौट गरेर पठाइएपनि वडाका प्रतिनिधिहरुले त्यसलाई बजेटमा नपारेको गुनासो गरे ।

छलफलमा अबदेखि वडाको हरेक बिकास निर्माणमा सबै राजनीतिक दलका प्रतिनिधिहरुको सुझव लिएर अगाडि बढ्ने सहमति भएको राप्रपाका बिर्तामोड नगर उपाध्यक्ष प्रकाश बुढाथोकीले बताए । उनले सबै वडाबासीहरुलाई पायक पर्ने ठाउँको खोजी गरी प्रदेश सरकारसँग शहरी स्वास्थ्य शाखा माग गर्ने निर्णय भएको समेत जानकारी दिए । वडाध्यक्ष पबित्रा पाठकको उपस्थितिमा भएको छलफलमा वडा सदस्यहरु हरि चौंलागाईं, दिलकुमारी राजवंशी,संगीता सिबा,बिभिन्न पार्टीका प्रतिनिधिहरु, टोल बिकास समितिका पदाधिकारीहरुसहित वडाबासीहरुको सहभागिता रहेको थियो । छलफलमा विवाद भएपछि सशस्त्र प्रहरी बोलाएर साम्य पारिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *