कमाइको निश्चित प्रतिशत आमाबाबुका लागि छुट्याइनुपर्ने कानुन ल्याउछौंः प्रधानमन्त्री अाेली
Published:
by .
काठमाडौं । अक्टोबर १ अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सन् १९९० डिसेम्बर १४ मा राष्ट्रसंघले १ अक्टोबरलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने घोषणा गरेसँगै प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।
यो वर्ष ‘जेष्ठ नागरिक अभियन्ताको रुपमा अभिनन्दन गरौं’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ। यसै अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले शुभकामना व्यक्त गर्दै जीवनको अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप, अनुभव र ऊर्जालाई समाजोपयोगी कार्यमा लगानी गर्नुभएका ज्येष्ठ नागरिकहरू निश्चय नै राष्ट्रका धरोहरका रूपमा आदरणीय रहेकाे बताएकी छन्।
राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक ज्ञानका महत्त्वपूर्ण स्रोत भएकाले उनीहरुको विचार समाजमा ल्याउनु पर्ने उल्लेख गरिकी छन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानुनी व्यवस्था गरिने बताएका छन्।
ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गरेका छन्। यस अवसरमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले संयुक्तरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछन्।
Comments