Sajhamanch Archive

घर बिदा लिएका वडाध्यक्ष रोजगारीमा गएको खुलासा

Published: in राष्ट्रिय समाचार by .

संखुवासभा । खाँदबारी नगरपालिका-५ का वडाध्यक्ष घर बिदा लिएर वैदेशिक रोजगारमा गएको खुलासा भएको छ।

वडाध्यक्ष बमहादुर घले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया गएको एक वर्षपछि मात्र खुलासा भएको हो। वडाध्यक्ष घले नगरपालिका कार्यालयमा घर बिदाको निवेदन दिएर वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेका हुन्। नगरपालिका कार्यालयमा उनले घरयासी काम कारण घरबाहिर जानुपर्ने भएकाले आफू कार्यालयको काममा उपस्थित हुन नसक्ने जानकारी दिएको बताइएको छ।

वडाध्यक्ष घलेको पत्रमा कार्यबाहकको जिम्मेवारी वडा सदस्य श्यामप्रसाद निरौलालाई तोकिएको छ। कार्यबाहक अध्यक्ष निरौलाले जिम्मेवारी पत्र वडाध्यक्ष घलेले दिएकाले आफूले काम गरेको स्वीकार गरे। उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को ‘ग’बमोजिम आफूले कार्यबाहक अध्यक्षको जिम्मेवारी लिएको बताए। तर वडाध्यक्ष घले घरयासी कामका लागि नभई वैदेशिक रोजगारमा दक्षिण कोरिया गएको खुलासा भएपछि उपनिर्वाचन गर्ने चर्चा सुरु भएको छ।

रोजगारीको सिलसिलामा विदेश गएर कार्यबाहकको जिम्मा सदस्यलाई तीन महिनाभन्दा बढी दिन नमिल्ने भएकाले उपनिर्वाचनमा जानुपर्ने केही सदस्यहरूको माग छ। उता वडा नम्बर-३ मा समेत वडा सदस्यले अध्यक्षको जिम्मेवारी पाएका छन्। वडाध्यक्ष तोयनाथ ढुंगfनाको हृदयघातका कारण केही महिनाअघि मृत्यु भएपछि उनले अध्यक्षको जिम्मेवारी समल्दै आएका हुन्।

वडाध्यक्षको मृत्यु भएपछि महिला वडा सदस्य सुनिता कार्कीले जिम्मेवारी समालेकी थिइन् तर अहिले उनको ठाउँमा ज्येष्ठताका आधारमा देवराज घिमिरेलाई जिम्मेवारी दिइएको छ। वडाध्यक्षको मृत्यु भएकाले केही कार्यापालिका सदस्यहरूले उपनिर्वाचन हुनु पर्ने माग राख्दै आएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *