Sajhamanch Archive

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सृजित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ ।

खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरका भग्नावशेषबाट कंयौं व्यक्तिको शव निकालेका छन् ।

जसका कारण प्रतिदिन मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । यद्यपी सरकारी तथ्यांकअनुसार भने मृत्यु हुनेको संख्या ८४४ पुगेको बताइएको छ ।

भूकम्प गएको पाँच दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन ।

घरका भग्नावशेषबाट जिवितै व्यक्ति उद्धारको लागि उद्धारकर्ताको प्रयास जारी रहेको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकहरु बढ्नसक्ने बताएका छन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गरेका छन् ।

मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका र सयौं घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाई छ ।

इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *