Sajhamanch Archive

मेचीनगरमा शुरु भयो तीनतले खेती

Published: (Updated: ) in समाज, by .

धुलावारी । विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लागेका झापा मेचीनगर—९ का एक युवाले व्यवसायिकरुपमा तीनतले खेती शुरु गरेका छन् । कृषि कर्मबाटै उनले मनग्य आम्दानी मात्र गरिरहेका छैनन् अन्यलाई रोजगार समेत दिएका छन् ।

मेचीनगरमै पहिलो हाइटेक (उच्च प्रविधियुक्त) नर्सरी शुरु गरेका स्थानीय डिल्लीराज उप्रेतीले १२ कठ्ठा जग्गामा मेवा, कागती र सयपत्री फूलको व्यवसायिक तीनतले खेती शुरु गरेका हुन् । ब्यावसायिक खेती विस्तार गर्न जमिन अपुग भएकाले मेचीनगर–९ का डिल्ली न्यौपानेको एक बिगाहा र मेचीनगर–१० का दाताराम खनालको ५ बिगाहा जमिन भाडामा लिएर उनले कागती, मेवा, सयपत्री फूल र तरकारी खेती सुरु गरेका हुन् ।

करिव ५ लाख रुपैयाँको लगानीमा शुरु भएको तीनतले खेतीमा उप्रेतीले रेडलेडी र विनायक जातका १ हजार बोट मेवालगाएका छन भने २ सय ५० बोट कागती र सयपत्री फूलपनि त्यही भित्र लगाएका छन् । मेवा फल्न, फूल फूल्न थालि सकेका छन् ।

‘शुरुमा मैले २ सय ५० बोट कागती लगाएको थिए ’ तीनतले खेतीका बारेमा प्रष्ट पार्दै उप्रेतीले भने —‘कागती १२×१२ को दुरीमा रोपेका छौ, मेवा ६×६ को दुरीमा रोपेका छौ, बाकीमा सयपत्री फूलको खेती गरेका छौ, सयपत्री फूल तिहारमा सवै निकालिन्छ, त्यसबेलासम्ममा मेवाको अर्काे चरणको उत्पादन हुन्छ २ वर्षसम्म मेवा रहे कागतीले उत्पादन दिन थाल्छ ।’

मेवा विरुवा रोपेको तीनमहिनादेखि फल्ने तथा आठमहिनापछिदेखि आम्दानी दिने उप्रेतीको भनाई छ । स्थानीय बजारदेखि राजधानीका मुख्य बजार तथा देशका विभिन्न भागमा खुलेका सावुन कारखानामा समेत मेवाको माग बढेको उनको भनाई छ । एक सिजनमा करीव दशदेखि १२ लाख रुपैयाँको आम्दानी हुनेमा कृषक उप्रेती ढुक्क छन् । बेला बखत मेवा, कागती र फूलमा लाग्ने विभिन्न खाले रोगका कारण समस्या आउने गरेको उनको भनाई छ ।

यो खेतीमा ज्यादै ठुल्ठुला चुनौती रहेको उनको भनाई छ । विभिन्न कीराको आक्रमणदेखि हावाहुरबिाट समेत यसलाई जोगाउनु पर्छ । मेवा विज्ञ प्राविधिक नभएका कारण समस्या भएको र आफु व्यवसायिक मेवा खेती सिक्दै र गर्दै गरेको अवस्थामा रहेको उनाके भनाई छ ।

भाइरस, फंगल असिना पानी हावाहुरीले यसलाई बढी क्षति पुर्याउने उनको भनाई छ । सम्बन्धित पक्षले बेला बखत प्राविधिकहरुको सेवा उपलब्ध गराउन समेत उनले आग्रह गरे । ‘राज्यले प्राविधिकहरुको व्यवस्था गरिदिनु पर्यो’ उप्रेतीले भने—‘हामीलाई कृषि पाठशालाको व्यवस्था राजयले गरीदिनुपर्यो, बीमाको व्यवस्था गरिदिनुपर्यो राजयले किसानलाई कृषिमा लगाउन नयाँ नयाँ योजना ल्याउनुपर्यो ।’

उनले तीनतले खेतीमा लगाएको सयपत्री फूलले मेचीनगर नगरपालिकालाई फूलका लागि आत्मनिर्भर बनाउने बताए । मेचीनगरमा १० देखि १२ हजार मालाको माग हुने र यसलाई आफुले उत्पादन गरेको फूलले धान्ने उनको भनाई छ । ६ जनालाई उप्रेतीले रोजगारको अवसर समेत दिएका छन् भने श्रीमती दीक्षासहित अन्य परिवारले उनलाई साथ दिने गरेका छन् ।

बैदेशिक रोजगारीबाट फर्केर २०६९ सालदेखि आफ्नै एक बिगाहा जमिनमा टमाटर उत्पादन गरेर ब्यावसायिक खेती सुरु गर्नुभएका उप्रेतीको जमिनमा अहिले तरकारी खेतीसँगै बिभिन्न जातका फलफुलको नर्सरी छ ।

पूर्णरुपमा अग्र्यानिक खेती प्रणाली अपनाउनु भएका उप्रेतीले आफुलाई आवश्यक पर्ने अग्र्यानिक मल आफैं उत्पादन समेत गर्नुभएको छ । उत्पादन हुने गड्यौले मल स्थानीय किसानलाई समेत बिक्री गर्दै आएको उप्रेतीको भनाई छ ।

उप्रेतीले डी एन्ड डी बायोप्लानटेक नामक संस्था दर्ता गरेर तरकारी तथा फलफुलको नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । खेती पद्धतिलाई अत्याधुनिक र ब्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा उहाँले हाइटेक नर्सरी तयार गरी रायोको सागको उत्पादन गर्दै आउनु भएको हो ।

एककठ्ठा जमिनमा तयार गरिएको हाइटेक नसरी पूर्ण रुपमा वाताअनुकूलित छ । नर्सरीभित्र बर्षैभरि खेती गर्न सकिने उप्रेतीले बताउनुहुन्छ ।

२ सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेलमा घाम छिर्ने, पानी नछिर्ने, नच्यातिने बनाइएको छ । नर्सरी भित्रै थोपा सिञ्चाइको ब्यवस्था छ भने बिशेष प्रकारले ब्यवस्थापन गरेर टनेलको छतबाट पानी स्प्रे गरी चिसोपन कायम राख्ने ब्यवस्था समेत गरिएको छ ।

बाहिरबाट कुनै हानीकारक जीवाणु प्रवेश नगरोस् भन्नाका लागि नर्सरीमा दुईवटा हाइटेक ढोकाको ब्यवस्था गरिएको छ । दश बर्षसम्म प्रयोग गर्न सकिने उक्त नर्सरीको जमिनसँग जोडिएको भागमा बिशेष प्रकारको एप्रोन जडान गरिएको छ । जसले बिरुवालाई चाहिनेभन्दा बढी उत्पादन भएको कार्बन डाइअक्साइड र नाइट्रोजनलाई नियन्त्रण गर्ने उप्रेतीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *