Sajhamanch Archive

नियमित पठन पाठनको माग गर्दा २२ जना विद्यार्थीलाई निष्कासित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पर्वत । नियमित रुपमा पठनपाठनको माग गर्दा म्याग्दीको एक विद्यालयले २२ जना विद्यार्थीलाई एक महिनाका लागि निष्कासन गरेको छ।

विद्यालयमा विज्ञान र कम्प्युटर विषयको पढाइ नभएकाले नियमित पढाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई रघुगंगा गाउँपालिकाको चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयले निष्कासन गरेको हो।

विद्यार्थीहरुले दरबन्दीअनुसार शिक्षकको व्यवस्थापन गरिनुपर्ने, विज्ञान विषयको शिक्षक राखिनुपर्ने, कम्प्युटर शिक्षक फेरबदल भैरहेका कारण पढाइमा समस्या भएकाले शिक्षक फेरिन नहुने माग गर्दै भदौ २५ बाट आन्दोलन गर्दै आएका थिए। लामो समयसम्म माग सुनुवाइ नभएको भन्दै विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेपछि विद्यालय व्यवस्थापन समितिको बैठकले कक्षा १० का २५ जनामध्ये आन्दोलनमा सहभागी २२ जनालाई एक महिनाका लागि निष्कासन गर्ने निर्णय गरेको हो।

विद्यालयका प्रधानाध्यापक पृथबहादुर थापाले समस्या समाधानका लागि छलफल भैरहेको बेला विद्यार्थीहरुले अराजक शैलीमा आन्दोलन गरी विद्यालयमा तालाबन्दी गरेका कारण बाध्य भएर निष्कासन गर्नुपरेको बताए। ‘म बिदामा बसेको थिएँ, निमित्त प्रअ पनि नभएको बेला विद्यालयमा तालाबन्दी गरेर अरु विद्यार्थीलाई बन्धक बनाउन पाइन्छ?,’ उनले भने, ‘आफैं पढ्ने विद्यालयमा अराजक शैलीमा तोडफोड गर्ने, शिक्षकहरुलाई अभद्र व्यवहार गर्ने लगायतका गतिविधिले कारबाही गर्न बाध्य बनाएको हो।’

विद्यालयको उक्त निर्णयका कारण अभिभावक र विद्यार्थी निरास भएका छन्। विद्यार्थीले राम्रो पढाइ हुनुपर्ने माग गर्दा कारबाही गरेर एसइइ दिने वर्षमा पढाइमा बञ्चित गराइनु न्यायोचित नभएको अभिभावकको गुनासो छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *