Sajhamanch Archive

ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल ८ विकेटले विजयी 

Published: (Updated: ) in खेलकुद by .

मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ थालेको म्यानमारले दश ओभरमा सबै विकेट गमाएर २९ रन बनायो । जुन नेपालले ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । सन्दीपले दुई ओभरमा ३ रन दिएर ४ विकेट लिँदा ललितनारायणले ३ ओभरमा २ मेडन राख्दै तीन रन दिएर ३ विकेट लिए ।

मध्यम गतिका बलर करण केसी र ललितसिंह भन्डारीको नाममा १–१ विकेट रह्यो । म्यानमारका ६ ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् । कप्तान हटेट लिन अङले बनाएको १६ रन नै म्यानमारको इनिङमा बनेको सबैभन्दा ठुलो स्कोर हो ।

 

३० रनको सानो लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरमै प्रदीप ऐरीलाई पहिलो विकेटको रुपमा गुमायो । अर्का ओपनर अनिलकुमार शाह पनि ११ रन बनाएर पवेलियन फर्किए । विनोद भन्डारी १ रनमा अविजित रहे भने करण केसी १४ रनमा अविजित रहे ।

पहिलो जितसँगै २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । समान २ अंक भए पनि थाइल्यान्ड रनरेटका आधरमा शीर्ष स्थानमा छ । २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । नेपालले अब शनिबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो तीन ट्वान्टी–२० खेलमा नेपाल २ मा विजयी भएको छ भने एकमा पराजित भएको छ ।

तुलनात्मक रुपमा कमजोर मानिएको म्यानमानरविरुद्ध नेपालले अनुभवी शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामीलाई आराम दिएको छ । तीन वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका आक्रमक ब्याट्सम्यान प्रदीप ऐरीले मौका पाएका छन् ।

बुधबारै भएका अन्य खेलमा मलेसियाले भुटानलाई ६७ रनले हरायो भने थाइल्यान्डले चीनविरुद्ध १० विकेटको विजय हासिल गर्‍यो । टस हारेर ब्याटिङका लागि निम्त्याइएको आयोजक मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । १ सय ५५ रनको लक्ष्य पछ्याएको ९ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।

बायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको चीनले २० ओभर खेलेर ९ विकेट गुमाउँदै ३५ रन बनायो । ३६ रनको लक्ष्य थाइल्यान्डले २.४ ओभरमै कुनै विकेट नगुमाई पूरा ग¥यो ।

एसिया पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, चीन, म्यानमार, सिंगापूर र थाइल्यान्ड रहेका छन् । राउन्ड रोविन लिगका आधरमा हुने प्रतियोगिताको शीर्ष तीन टोलीले एसिया महादेशको छनोट प्रतियोगिता खेल्नेछ । जहाँ पश्चिमी क्षेत्रबाट युनाइटेड अरब इमिरेट्स (युएई), कतार र कुवेत छनोट भइसकेका छन् । एसिया महदेशको छनोट प्रतियोगिताबाट शीर्ष दुईले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

 बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *