Sajhamanch Archive

मेचीनगरले कालाज्वर रोग नियन्त्रणका लागि छिट्न थाल्यो कीटनाशक विषादी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । मेचीनगर नगरपालिकाले विहीबारदेखि नगरका विभिन्न ठाउँमा कालाज्वर रोग नियन्त्रणका लागि कीटनाशक विषादी छिट्ने अभियान शुरु गरेको छ । नगरका कालाज्वर र औलोरोग प्रभावित क्षेत्रहरुमा यो अभियान सञ्चालन गरिने छ ।

नगरको स्वास्थ्य शाखाका अनुसार मेचीनगर—१० को टिमाई भ्यालीदेखि अभियान शुरु गरेको हो । केहीवर्ष अघि यसक्षेत्रमा कालाज्वरका कारण स्थानीय अवल मोहम्दको मृत्यु भएको नगरका स्वास्थ्य सह संयोजक रामनारायण यादवको भनाई छ । अहिले सो स्थानको २ किलो मिटर वरपर ‘डेल्टामेथ्रीन’ नामक औषधि छिट्ने काम शुरु भएको हो ।

‘केहीवर्ष अघि मेचीनगरको यहि ठाउँमा कालाज्वरका कारण स्थानीय अवल मोहम्दको मृत्यु भएको थियो’ सह संयोजक रामनारायण यादवले भने— ‘ फेरी कालाज्वर नफैलियोस वा संक्रमण नदेखियोस भनेर यसको नियन्त्रण गर्ने उद्देश्यले अभियान शुरु गरेका हौँ ।’

औषधि छिट्नका लागि ५ जना स्प्रे मेन परिचालन गरिएको स्वास्थ्य संयोजक शशीकला राईले बताईन् । करिव २ सय घरधुरीमा यो औषधि छिट्ने योजना रहेको छ । कालाज्वरका भुसुनाहरु अति नै गरिव समुदायका झुपडी, घरहरुमा, माटो र गोवरले लिपेको भित्ता चर्केको, घुर्घुरेले माटो उठाएको, फोहोर थुपारेको ओसिलो, मुसाले पारेको दुला, गोवरको गुइठा बनाएर चाङ पारेर राखेको ठाउँ, गाई भसीको गोठ आदिमा बस्ने गरेका कारण त्यस्ता टोलीले त्यस्ता ठाउँमा औषधि छर्किने राईको भनाई छ ।

यो रोग संक्रमित पोथीजातको फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुनाको टोकाईबाट सर्ने स्वास्थ्य संयोजक राईको भनाई छ । दुई वा दुई हप्ता भन्दा बढि समयसम्म मन्द ज्वरो आइरहने, अनियमित ज्वरो आउने, खान मन नलाग्ने, दुब्लाउदै जाने, कमजोरी हुने, तौल कम हुने, कलेजो बढने, रक्तअल्पता हुने, शरीरको रङ्ग फुस्रो देखिने र हात खुटृा अनुहार तथा शरीरको छाला कालो हुदै जाने आदि यस रोगको लक्षणहरु हुन् । यी माथिका लक्षण चिन्हहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा स्वास्थ्य जाचका लागि जान राईले नगरवासीलाई आग्रह समेत गरीन ।

कालाज्वर रोगको निदान तथा उपचार सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गरिन्छ । कालाज्वर रोगको निदान भइसके पछि मुखबाट खाने औषधी माईलेटफोसिन २८ दिन सम्म खानु पर्ने हुन्छ । औषधी पुरा सेवन गरी सकेपछि नेपाल सरकारले कालाज्वर रोगीलाई एकहजार रुपैयाँ र १ थान सुपानेट झुल दिने व्यवस्था समेत गरेको थियो । यस रोगबाट बच्नको लागि व्यक्ति तथा वातावरणीय सरसफाइ गर्ने, झुलको प्रयोग गर्ने, किटनाषक बिषादी छिटकाउ गर्ने, रोगीको खोजपडताल तथा शीघ्र निदान गरी उचित उपचार गर्ने, स्वास्थ्य शिक्षा दिने आदि जस्ता विभिन्न विधीहरु अवलम्बन गर्न सकिने स्वास्थ्यविज्ञहरुको भनाई छ ।

यसअघि तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जिल्लामा औलो तथा कालाज्वर रोग नियन्त्रणको कीटनाशक बिषादी छिटकाउ कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । यो रोग लागेपछि उपचार नगरे रोगीको मर्ने सम्भावना ९० प्रतिशत हुने स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

यो रोगका लागि सुईबाट भन्दा पनि मुखबाट सेवन गर्ने औषधी बढि लाभदायक हुने ती अधिकारीहरुको भनाई छ । औषधी सेवन गर्न ज्यादै सजिलो र उपचारमा प्रभावकारी हुने भएकाले पनि बेलैमा उपचार गरे यो रोगबाट अकालमा मृत्यु वरन गर्नु नपर्ने बताइएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यो रोग नेपालका पूर्वी तराईका झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, उदयपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा देखा परेको पाईन्छ । यो रोग सबै उमेरका मानिसमा हुन सक्ने भए पनि प्रायः १५ बर्ष माथिका व्यक्तिहरुमा बढि पाईएको छ भने महिलाहरुको अनुपातमा पुरुषहरु यो रोगबाट दोब्बरको संख्यामा पीडित छन् ।

यो रोग संक्रमित पोथि जातको फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुनाको टोकाईबाट सर्ने गर्दछ । भुसुनाहरु करिब ४० जात भन्दा बढि पाईएका छन जस मध्ये फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुना यस रोगको भेक्टर रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । एक पटकमा यो भुसुनाले ५० देखि १०० वटा सम्म फुल पार्दछ । यो भुसुनो कालो खैरो रङ्गको हुन्छ र भित्तामा बसेर उफ्रेर एक ठाँउबाट अर्को ठाँउमा जाने गर्दछ र बढि भन्दा बढि उफ्रेर यो भुसुना ६ फिट भन्दा माथि जान सक्दैन ।

स्वास्थ्यकर्मी अनिल मण्डलका अनुसार यो रोगको कारक तत्व लिसमेनिया डोनोभानि नामक प्रोटोजोवा परजीवि हो यो प्रोटोजोवा आँखाले देख्न नसकिने सुक्ष्म रगतमा पाइने परजीवि हो । कुनै कालाज्वर रोगी व्यक्तिमा यी परजीविहरु रहेका हुन्छन र पोथि फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुनाले कालाज्वर रोगी व्यक्तिलाई टोकेर निरोगी व्यक्तिलाई टोक्दा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । यो रोगको संक्रमण काल करीव १० दिनदेखि २ बर्षसम्मको हुने उनले बताईएको छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *