Sajhamanch Archive

मेची नदीमाथि पक्की पुल निर्माण भारततर्फ धमाधम, नेपालपट्टी मुआब्जाकै लफडा

Published: in राष्ट्रिय समाचार by .

झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची नदीमाथि पक्की पुल निर्माणको काम सुरु भएको छ ।

भारततर्फको काम धमाधम अगाडि बढे पनि नेपालतर्फ भने मुआब्जा विवादका कारण काम अगाडि बढ्न सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्झौता भएको १ वर्षपछि भारतले काँकडभिट्टास्थित मेचीनदीमाथि पक्की पुल निर्माणको काम सुरु गरेको छ ।

एसियाली विकास बैङ्कको लगानीमा झापाको काँकडभिट्टा र भारतको पानीट्याङ्की नाका जोड्ने गरी पुल निर्माण हुँदैछ ।

तर नेपालतर्फ पुलको पिल्लर गाड्ने र सडक फराकिलो बनाउनका लागि वस्ती सार्ने विषयको विवाद नमिल्दा काम प्रभावित बनिरहेको छ ।

पुल निर्माणस्थलका ४४ घरपरिवारको पुनस्र्थापना र मुआब्जाको काम नटुङ्गिदा यस्तो समस्या आएको हो ।

मुआब्जासहित उचित स्थानमा पुनस्र्थापना नभएसम्म काम हुन नदिने स्थानीयको अडान छ ।

पुल निर्माण कार्य अवरुद्ध भएपछि मेचीनगर नगरपालिकाले प्रधानमन्त्रीलाई भेटेर मुआब्जा रकम उपलब्ध गराउन आग्रह गरेको थियो ।

तर मन्त्रालयको ढिलाइका कारण काम अघि बढ्न नसकेको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य बताउँछन् ।

अधिग्रहणमा पर्ने घर र जग्गाधनीलाई उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाका लागि पहल भइरहेको आचार्यको भनाइ छ ।

यता, पहिले थाहा भएकामध्ये चार परिवारको मात्र धनीपुर्जा भएकाले उनीहरूलाई जग्गा प्राप्ति ऐन अन्तर्गत सरकारले मुआब्जा दिइन मिल्ने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेल बताउँछन् ।

पुल निर्माणका लागि भारतले १ अर्ब ५९ करोड भारतीय रुपैयाँ एसियाली विकास बैङ्कबाट सहयोग लिएको छ ।

१५ सय मिटर लम्बाई रहेको पुलसँगै ८ सय २५ मिटरको ६ लेनको अप्रोच रोड पनि बनाउने योजना त्यसमा समेटिएको छ ।

मुआब्जा विवादलाई छिट्टै सल्टाएर पुल निर्माणको गतिरोध अन्य गर्नुपर्छ ।

इमेजखबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *