Sajhamanch Archive

झापामा बलात्कारका घटना वर्षेनी बढ्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

झापा । देशभरि श्रङखलाबद्व रुपमा बलात्कारका घटना भइरहेको बेला झापा पनि त्यसबाट अछुतो रहन सकेको छैन ।

जिल्लामा पनि यो घटनाले व्यापक रुप लिइरहेको छ । झापामा वर्षेनि सयको हाराहारीमा बलात्कारका घटना हुन्छन् । जिल्ला प्रहरी र कारागारको पछिल्लो र गत वर्षको तथ्याङ्कले पनि यसको पुष्टि गर्छ ।

दुई महिना अघि मात्र कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यो घटना कस्ले ग¥यो आजका दिनसम्म सरकार वा कसैलाई थाहा छैन । यो दुई महिनाको अवधिमा देशैभरि करिव ५० वटा बलात्कार र हत्याका घटना भइसके । अन्य ठाउँको प्रायः सबै घटना प्रहरीले पत्ता लगाएको पनि छ । तर, निर्मलाको हत्यारा पत्ता लगाउन सरकार किन ढिला गरिरहेको छ ? यसले के देखिन्छ भने अपराधीको मनोबल बढिरहेको छ । जसले गर्दा आफ्ना छोरा छोरीलाई घरबाहिर निस्कनबाट बञ्चित गर्नु पर्ने अवस्था छ ।

झापाको अर्जुनधारा, हल्दिबारी, बिर्तामोड, दमक वा अन्य ठाउँका बालबालिका यस्तै घटनाबाट प्रताडित बनेका छन् । बलात्कारका घटना नियन्त्रण गर्न विभिन्न सञ्जाल गठन भएका छन् । बालबालिका, किशोरी तथा महिलाहरुले आफ्नो आत्म सुरक्षाका लागि तालिम लिइरहेका पनि छन् । तर, पनि यस्ता घटनामा कमी आएको छैन ।

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेकामध्ये सबैभन्दा बढी बलात्कार मुद्वाका अभियुक्त रहेको पाइएको छ । जिल्ला कारागारको पछिल्लो तथ्याङ्कले सबैभन्दा बढी अभियुक्त बलात्कार मुद्वाका भएको देखाएको हो । तथ्याङ्कका आधारमा झापामा सबैभन्दा बढी जवरजस्ती करणीसँग सम्बन्धित अपराधका घटना हुने गरेको छ । ‘तुलनात्मक रुपमा हेर्दा जवरजस्ती करणी मुद्वाका अभियुक्तको संख्या अन्य अपराधिक घटनाको भन्दाबढी छ’, झापा कारागारका प्रमुख यज्ञनाथ निरौलाले जन–संसद्सँग भने, ‘बालकदेखि पाको उमेरका अभियुक्त पनि जबरजस्ती करणी मुद्वामा सजाय भोगिरहेका छन् ।’

कारागार स्रोतका अनुसार गत सोमबारसम्म बलात्कार मुद्दामा २ सय ७४ जना अभियुक्त मध्ये ८६ जनाले कैद सजाय भुक्तान गरिरहेका छन् । बाँकी १ सय ८८ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् । त्यस्तै अप्राकृतिक मैथुनमा ४ जना पुरुष छन् । जबरजस्ती करणी मुद्वामा अधिकांश बालिका तथा किशोरी बलात्कारका अभियुक्त रहेको कारागार प्रमुख निरौलाले बताए । बलात्कारपछि झापामा कर्तव्य ज्यान मुद्वाका अभियुक्त बढी छन् ।

कारागार प्रमुख निरौलले कर्तव्य ज्यान मुद्दामा १३ महिलासहित ९८ जना कैदी बन्दी रहेको जानकारी दिए । कर्तव्य ज्यानपछि झापा कारागारमा लागूपदार्थ ओसारपसार र कारोवारका अभियुक्त छन् । सीमावर्ती जिल्ला भए पनि अन्य अपराधका घटनाको तुलनामा लागूपदार्थ मुद्दाका अभियुक्तको संख्या पनि कमी छैन । लागूपदार्थ मुद्वामा हाल १६ महिलासहित १ सय ७३ जना कैदीबन्दीले सजाय भोगिरहेका छन् ।

लागूपदार्थपछि जीउ मास्ने बेच्ने (मानव बेचविखन) अभियोगका अभियुक्त पर्छन् । उनीहरुको संख्या ८० छ । त्यसमा पुरुष ४५ र महिला ३५ जनालाई जिल्ला अदालतको आदेश अनुसार थुनामा राखिएका छन् । कारागारमा चोरी डकैती मुद्वाका अभियुक्तको संंख्या जीउ मास्ने बेच्नेको भन्दा बढी छ । चोरी र डाका मुद्दामा १ सय ५ जना अभियुक्त सजाय भोगिरहेका छन् । त्यस्तै अपहरण मुद्वामा हाल १० महिलासहित ५७ जना कैदीबन्दीले सजाय भोगिरहेका छन् । हातहतियार खजना मुद्दामा २९ जना छन् । आगलागी मुद्वामा २, ज्यान मार्ने उद्योगमा ३७, वन तथा वनजन्य मुद्दामा १८, ठगीमा ८ महिलासहित ३७ जना छन् ।

गौवद्व मुद्वा अभियोगका अभियुक्त पनि छन् । उनीहरुको संख्या १० छ । खोटा चलन (पैसा) मा पुरुष ५, वहुविवाह मुद्वामा पुरुष ८ र महिला ३ जनालाई अदालतको आदेश अनुसार थुनामा राखिएको छ । त्यस्तै सैनिक ऐन मुद्दामा १, किर्तेमा पुरुष १२ र महिला १, विस्फोटक पदार्थमा ४, खुन डाका मुद्वामा १, कुटपिट र अङगभङगमा ६, मादक पदार्थ सेवनमा ५ पुरुष, वैदेशिक रोजगारी मुद्वामा २ पुरुष र अन्य विविध मुद्दामा १२ जना पुरुष अदालतको आदेशमा थुनामा रहेको जिल्ला कारागारले जनाएको छ ।

जिल्ला कारागारमा हालसम्मको तथ्याङ्क अनुसार १ हजार ३२ जना कैदी बन्दी रहेका छन् । जसमा पुरुष ९ सय ४२, महिला ८६ र बालबालिका ४ जना रहेको कारागार कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको गतवर्षको तथ्याङ्कले लागूपदार्थ भन्दा बलात्कारका अभियुक्त बढी भएको देखाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा झापामा बलात्कारका १ सय ३३ र लागूपदाथ मुद्वामा १ सय २६ जना अभियुक्त पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०७३÷०७४ मा पनि बलात्कारका ९९ वटा मुद्वा प्रहरीले अदालतमा दर्ता गराएको थियो । एक वर्षमा भएका १ हजार ६ सय ८७ वटा अपराधका घटनामध्ये १ सय ३३ वटा बलात्कार र बलात्कार प्रयासका घटना छन् । झापामा सार्वजनिक अपराधका ६ सय ७५, मानव बेचविखनका २७, चोरी डकैतीका ५२, ठगी २०, बहुविवाह २५, ज्यान मार्ने उद्योगमा २३, कर्तव्य ज्यान मुद्वामा १३ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत साउन र भदौ मात्र झापामा बलात्कार र बलात्कार प्रयासका घटना ६६ वटा भएको कार्यालयले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *