Sajhamanch Archive

जनताको विश्वासमा आघात पर्ने काम गर्ने छैनः उम्मेद्वार खनाल

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार by .

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का (क) का नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल शिवसताक्षी नगरपालिका वडा नं. १ का धरमपुरका स्थानी बासिन्दा हुन् ।

तेह्रथुमा जन्मिएका खनाल २०३२ सालदेखि साविक धरमपुर गाविस हालको शिवसाक्षीलाई कर्म थलो बनाउँदै अनेरास्वियूको प्रारम्भिक कमिटीदेखि नेकपा एमालेको राजनीतिक यात्रा अघि बढाएका हुन् । उनी नेकपा एमालेको इलाका सचिव, क्षेत्रीय कमिटी अध्यक्ष हुदै हाल पार्टीको प्रदेश कमिटी सदस्य छन् । शिक्षण सँगै सामाजिक सेवामा सक्रिय खनाल आगामी मंसिर ४ गतेको निर्वाचनमा केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानी ।

– चुनावी अभियान कसरी अगाडी बढाइरहनु भएको छ ? अभियान कहाँ पुग्यो ?
नेकपा एमालेका तर्फबाट प्रदेश सभाकाको उम्मेद्वारका रुपमा पार्टीले प्रस्तुत गरेको छ । हामीले टोल भेला देखि वडा भेला हुदै अहिले घर दैलोलाई अगाडी बढाइरहेका छौ । मतदाता समक्ष बिगतमा एमालेको सरकार हुँदा भएका काम र अगामी दिनमा गर्ने योजनाका साथ प्रस्तुत भइरहेका छौ । हामीले वडामा जनताको घरमा गएका छौ । पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्रीय आमसभा सम्पन्न भइसकेको छ । पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम गरिएको छ । यसले हामीलाई थप हौसला प्रदान गरेको छ ।

घरदैलो अभियानका क्रममा कस्तो प्रतिकृया पाइरहनु भएको छ ?
हामीले नागरिकको जीवनस्तर उठाउनका लागि पार्टीले अघि सारेका कार्यक्रम र घोषणपत्रका बिषयमा मतदाता सँग छलफल गरेका छौ । क्षेत्रको विकास र सम्बृद्धिका लागि हामी सारेका योजनाहरु प्रस्तुत गरेका छौ । उहाँ सँग सघन छलफल गरिरहेका छौ, मतदाताका गुनासो सुनिरहेका छौ । प्रतिकृयालाई हामीलाई थप जनताको पक्षमा काम गर्न प्रेरित गरेको छ ।

बिशेष सँग मतदाताले पूर्वाधार विकासको माग राख्नु भएको छ । सडक, विद्युत, पुल कर्भटका समस्याहरु राख्नु भएको छ । कतिपय स्थानमा हाम्रै नेतृत्वमा समेत काम भइसकेका छन् । कतिपय योजनाहरु अपुरा छन्, तीनलाई सम्पन्न गर्नुपर्ने छ । त्यसकैलाई नेकपा एमालेलाई मतदान गर्न अपील गरेका छौ । मतदातालाई हामीलाई राम्रो प्रतिकृया दिइरहनु भएको छ ।

–गठबन्धनका उम्मेद्वारलाई कसरी लिनु भएको छ ? अनि तपाईका योजनाहरु के के छन् ?
गठबन्धका उम्मेद्वार बिगतमा नेकपा एमालेको मतबाट निर्वाचित हुनु भयो । फेरि उहाँ नै अहिले मैदानमा हुनुहुन्छ । बिगतमा मतदाता सँग गरिएको प्रतिबद्धता पुरा गर्न नसकेर उहाँ प्रति नागरिकको कुनै अपेक्षा देखिदैन । मेरो प्रतिद्वन्दी प्रदेशको मन्त्री हुनुहुन्छ, तर नागरिकले अघिल्लो बर्षको बेमौसमी बर्षाको क्षतिको राहत अहिले सम्म पाएका छैनन । उहाँ नै कृषि मन्त्री अहिले सम्म पनि हुनुहुन्छ, नागरिकलाई लगत संकलन गरियो, खाता खोल्न लगाइयो, तर पैसा अहिले सम्म आएको छैन । त्यहीँ कारण उहाँ प्रति नागरिकको विश्वास टुट्यो । फेरि हाम्रो संगठन नै मतबुत छ, अहिले प्रदेश क्षेत्रको वडा अध्यक्षले पाएको मतले पनि हामी अगाडी छौ ।

हामीले मुख्य गरि शिक्षा स्वास्थ्य, पूर्वाधार विकास, रोजगारीलाई मुख्य प्राथमिकता राखेका छौ । नागरिकको सुरक्षित आवास, कन्काई बुहद्धेशिय परियोजनालाई हामीले अगाडि बढाउने छौ । यस्तै विपन्न नागरिकलाई निशुल्क शिक्षा र स्वास्थ्य बिमाको योजना ल्याएका छौ । कन्काइ, दुधे, कमल खोलाको नदी कटान नियन्त्रण हाम्रो मुख्य प्राथमिकता रहेको छ । यस्तै हरेक स्थानीय तहमा हाम्रै सरकारको पालामा शुरु भएको अस्पतालाई स्तरउन्नती गर्दै लैजाने छौ । विद्यालयको भवन निर्माण, सडक कालोपत्रे पनि हाम्रो मुख्य योजना हुन् ।

–मतदाताको विकास सँग सम्बन्धित के के अपेक्षा रहेको पाउनु भयो ?
बिशेष गरि मतदाताले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि क्षेत्रकै विषय मुख्य गरि उठाउनुभएको छ । शिक्षाको सर्वसुलभता, स्वास्थ्य क्षेत्रको पहुँच विस्तार, राजमार्गदेखि दक्षिण जाने सडकको कालोपत्रे, नदी नियन्त्रणको माग गर्नुभएको छ । पुल निर्माण, कल्र्भट, सडक ग्राभेल सँग सम्बन्धित मागहरु पनि मतदाताले उठाउनुभएको छ । हामीले बिगतमा हाम्रो सरकार हुदा धरमपुर पाँचगाछी हुदै कुन्जीबारी सडक निर्माण गर्ने प्रतिबद्धता जनाएका छौ । दुधे महाभरा सडक मर्मत र सुधारको विषय, झिलझिले देखि होक्लाबारी सडक कालोपत्रे अहिले निर्माण भइरहेको अवस्था छ । यस्तै गरि सिचाइँको बिषय उठाउनु भएको छ, बिशेष गरि नहर नजिकै बसोबास गर्नेहरुले सिचाइँ सुविधा नभएको बिषय छ । त्यो कन्काइ बहुद्धेशीय परियोजना सञ्चालन गरि अघि बढाउने प्रतिबद्धता जनाएका छौ । यस्तै कोरोबारी महाभरा, बैगुन्धुरामा कृषि क्षेत्रको बिषय उठाउनु भएको छ । कृषिका पकेट क्षेत्रहरु विस्तार गर्दै यन्त्रीकरण गर्दै अघि बढाउने योजनामा छौ । यस्तै कृषि उपजको बजारीकरण, व्यवस्थापन र भण्डारणको समस्या छ । त्यसलाई दिर्घकालीन योजना बनाएर अघि बढाउने छौ ।

–निर्वाचित भएपछी नेता फर्केर नआउने समस्या जनताले भोगेका छन् । तपाइँ फर्केर आउने के ग्यारेन्टी छ ?
म झापाकै भूगोलमा ५ दशक बढी बसिररहेको छु । नागरिकका हरेक समस्या सँग जानकार छु । मैले यसै क्षेत्रमा लामो समय सम्म शिक्षण पेशा पनि गरे । यस क्षेत्रको पानी खाएर हुर्केको हुँ, अभाव र दुख झेल्दै आएको मानिस हुँ । मेरो घरै यहीँ छ, जनताको कुलो कुलेसो देखि मेला पात सम्म पर्मा लगाएको छु । अहिले पार्टीले मलाई उम्मेद्वारका रुपमा खडा गरेको छ, जनताको मतले म बिजय भए पछी म सधै यहीँ बस्छु । नागरिकका समस्यालाई सदैव सुन्नेछु । उहाँहरुका अप्ठ्यारालाई सहजीकरण गरिरहेकै छु, गर्छु पनि । तर बिगतमा निर्वाचित भएका यस प्रदेश सभाका सदस्य जस्तै नआउने किसानका समस्या सहजीकरण नगरिदिने समस्यामा पारिदिने गर्नुभएको छ । त्यसले जनतालाई निरास बनाएको छ । म मतदाता सँग नजिकै रहन्छु र सधै टचमा रहने प्रतिबद्धता जनाउछु ।

-यस क्षेत्रका मुख्य समस्या के के हुन ? समाधानका लागि के के उपाय छन ?
यस क्षेत्रमा पूर्वाधार, शिक्षा सँगै अर्को महत्वपूर्ण बिषय छ । अव्यवस्थित बसोबास या धनिपुर्जाको समस्या । म हाम्रो पार्टीको सरकार हुँदा यहाँको भूमि समस्या समाधान आयोगको अध्यक्षका रुपमा पनि काम गरे । कोरोना बाहेकको ८ महिनाको अवधिमा हामीले ११ हजार भुमिहिनबाट आवेदन संकलन गरेका छौ । ती जग्गाको सर्जिमिन समेत सम्पन्न गरिसकिएको छ । यस्तै १८७६ कित्ताको नापी समेत सम्पन्न भइसकेको छ । हामी अव्यवस्थित बसोबासको समस्या समाधानका लागि निरन्तर प्रयत्नशील छौ । सरकार परिवर्तन सँगै त्यो काम अघि बढन सकेन् । अहिले अर्को आयोग बनेको १५ महिना भयो, केही काम देखिएको छैन् । तर अहिले भूमि ऐन २०२१ आठौँ संशोधनबाट बिगतमा आयोगले गरेको काम अर्कोे आयोगले समेत अगाडी बढाउने व्यवस्था गरिएको छ । अब त्यो काम यो आयोगले अघि बढाउन सकेन, अब एमाले नेतृत्वको सरकारले ती काम अघि बढाउने छ । हामी सुकुम्बासी भुमिहिनलाई जग्गा मालिक बनाउने छौ ।

–मतदाता समक्ष तपाई के सन्देश दिन चाहानु हुन्छ ?
मुख्य कुरा हामीले नागरिकको जिवनस्तर सुधार गर्न राजनीति गरेका छौ । विपन्न नागरिकको आवासको ग्यारेन्टी हामीले गरेका छौ । पूर्वाधारको विकास सँगै कृषि क्षेत्रको यन्त्रीकरण र आधुनिकीकरण गर्ने हामीले काम अघि बढाउने छौ । भुमिहिनलाई धनिपुर्जा दिलाउनका लागि बिगतको समेत अभिलेख हेरेर काम अघि बढ्ने छ । चन्द्रडागीमा रहेको कृषि फर्मलाई स्थानीय तह मातहतमा ल्याएर कृषि क्याम्पस र अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखेका छौ । कन्काइ बहुद्देश्यीय परियोजना अन्र्तगत सिचाई, पर्यटकीय केन्द्र, माछा पालन सहितका काम गर्ने लक्ष्य राखेका छौ । त्यसमा केही प्राविधिक जटिलतालाई समाधान गरि यस क्षेत्रको यो गौरवको योजनालाई अघि बढाउने छौ । हामी नागरिकलाई विश्वास दिलाउछौ, कि हामीले हाम्रा जनप्रतिनिधीले गरेका कामको आधारमा हामीले मतदातालाई धोका दिने छैनौ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *