Sajhamanch Archive

५० वर्ष नाघेपछि मोतिबिन्दुको उच्च जोखिम

Published: in स्वास्थ्य by .

काठमाडौं । धनुषाका वर्ष ५७ का मनोजकुमार यादवले दाहिने आँखा धमिलो देख्न थालेको ५ वर्ष भएको थियो ।

उनलाई सुरुमा आँखा धमिलो हुने, पोल्ने लक्षण देखिएको थियो । आर्थिक अवस्था कमजोर । बिहान के खाने बेलुका के खाने भन्ने समस्याले गाँजेको थियो उनको परिवारलाई ।

“कसरी जानु आँखाको उपचारका लागि अस्पतालसम्म, पैसा छैन । मैले काम नगरे घरको चुलोमा आगो बल्दैन । त्यसमाथि पनि श्रीमती क्यान्सरबाट थलिएकी छन्,” उनले गुनासो पाखे । लामो समयसम्म घरायसी औषधी गाईको दूध लगाए तर ठिक भएन ।

निको हुनुको साटो अझ आँखा पूरै नदेख्ने भए । तरपनि सधैं गर्दै आएको ज्यामी काम एउटा आँखाको सहारामा गरिरहेका थिए । गएको चैतदेखि त देब्रे आँखा पनि धमिलो हुँदै गयो ।

गत शुक्रबार तिलगंगा आँखा प्रतिष्ठानले गरेको मोतिविन्दुको निःशुल्क शल्यक्रिया शिविरमा उनले दुवै आँखाको शल्यक्रिया गराए । उनी अब दुवै आँखा देख्ने भएका छन् । “मैलै अब यो संसार हेर्न सक्तिन जस्तो लागेको थियो । सधैं लौरोको सहारामा बाँच्नुपर्ने रहेछ भन्ने सोचेको थिएँ । आज मैलै ५ वर्षदेखि हराएको उज्यालो पाएको छु,”  यादव खुसी व्यक्त गर्छन् ।

ओखलढुंगाकी ७६ वर्षिया कमलसरा राईले पनि प्रष्टसँग आँखा देख्ने भएकी छन् । मोतिविन्दुबाट ३ वर्षदेखि धमिलो संसारमा बाँचिरहेकी कमलसरा तिलगंगा आँखा प्रतिष्ठानले सिन्धुलीको फिकल गाउँपालिकामा गरेको शिविरमा ४ घण्टा हिँडेर ज्वाइँसँग आएकी थिइन् ।

“सुरुमा आँखा धमिलो हुँदै आँखा नै नदेख्ने भयो । कतै जानुपर्यो भन्ने लठ्ठीको सहारामा जानुपथ्र्यो । केहि लाग्यो कि भन्नेर धामी–झाक्रँीकोमा झारफुक गर्दा पनि निको भएन । अस्पताल लगिदिने छोरानाति भए ऋण गरेर भएपनि लग्थे होला तर के गर्नु, छैनन् । छोरीहरुको आर्थिक अवस्था नाजुक छ । उनीहरुलाई भन्न पनि मन लागेन,” उनले सुनाइन्, “अब आँखा देख्ने भएँ, घिस्रेर हिड्ँनु पर्दैन । कसैलाई दुःख दिनु पर्दैन, यसैमा धेरै खुशी छु ।”

सिन्धुली सोखुकी ४१ वर्षीया जानुका खत्रीलाई १९ वर्षको उमेरमा आँखामा बादल लाग्ने, आँसु आउने समस्या देखापर्यो । “घरायसी उपचारसँगै झारफुक लामो समयसम्म गर्दा पनि ठिक भएन । गाउँमा अस्पताल छैन । लामो समयसम्म आँखाको समस्या भोग्नुपर्यो,” उनले भनिन् । गत वर्ष ओखलढुंगामा आँखा शिविर आउँदा उनले दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरेर आँखा देख्ने भएकी थिइन् । चिकित्सकले अर्को पनि आँखा शल्यक्रिया गर्नुपर्छ भनेका थिए । दुवै आँखा शल्यक्रिया गर्दा काम गर्न नसक्ने डरले गरिनन् । यो पटक भने देब्रे आँखाको पनि शल्यक्रिया गराइन् । अब उनी दुवै आँखा राम्रोसँग देख्न सक्छिन् ।

सिन्धुली फिकल गाउँपालिकाकी नन्दकुमारी राईको आँखा तिरमिराउने, धमिलो देख्ने समस्या देखा परेको २ वर्ष भएको थियो । उनी लठ्ठीको साहराले हिँडडुल गर्थिन् । नन्दकुमारी पनि ३ घण्टाको ओरालो बाटो हिँडेर नातिसँग आँखा शिविरमा आइन् । आउँदा मलिन, थाकेको अनुहार लिएर नातिको हात पक्रेर लठ्ठीको सहारामा आएकी नन्दकुमारी जाँदा राम्रोसँग आँखा देख्ने भएर गइन् । उनीजस्ता १ सय २३ जनाको आँखाको शल्यक्रिया भएको थियो फिक्कल गाउँपालिकामा गएकबो बिहीबार र शुक्रबार ।

मोतिबिन्दु सामान्यतयाः ५० वर्ष नाघेपछि देखिने आँखा रोग विशेषज्ञहरु बताउँछन् । वरिष्ठ आँखाको नानी रोग विशेषज्ञ डा. रचना सिंह रानाका अनुसार बढ्दो उमेरसँगै कपाल फुलेको जस्तै मोतियाबिन्दु पनि आँखाभित्रको लेन्स पाक्दै जाने एक समस्या हो । मोतिबिन्दुको समयमै उपचार गरेमा अन्धोपना भइसकेको ज्योति पनि फर्काउन सकिन्छ ।

लेन्स पाक्दै जाँदा आँखा धमिलो हुनुका साथै विस्तारै आँखाको ज्योति हराएर अन्धोपन हुन्छ । विशेष गरेर मोतिबिन्दु घाममा काम गर्नेलाई बढी देखिने हुन्छ । सुरुमा नै यसको उपचार भएमा आँखालाई जोगाउन सकिन्छ तर ढिलो भए जलबिन्दु हुन्छ, जसको कुनै उपचार नै छैन । आँखा नै गुमाउनुपर्छ ।

तिलगंगा आँखा प्रतिष्ठानले २३ वर्षमा २ लाख ४९ हजार जनाको मोतिबिन्दुको शल्यक्रिया गरेको जनाएको छ । १९९४ देखि २०१७ सम्ममा प्रतिष्ठानबाट ५४ लाख २४ हजार ७ सय जनाले आँखाको सेवा लिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २ करोड महिलामा मोतिबिन्दुका कारण अन्धोपनाको समस्या देखापरेको छ । १२ करोड महिलामा आँखासम्बन्धी विभिन्न समस्या छ । इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसको अध्ययनअनुसार सन् २०५० सम्ममा मोतिविन्दुबाट अन्धोपनाको समस्या ३ गुणाले बढ्ने देखाएको छ ।

मोतिबिन्दु के हो ?
चिकित्सकहरुका अनुसार मोतिबिन्दु भन्नाले आँखाको लेन्सको पारदर्शितामा कमी (धमिलोपना) आउने दृष्टि क्षमतामा कमी हुनु हो । मोतिबिन्दु प्रायः ५० वर्ष उमेर नाघेका मानिसमा देखा पर्ने हुन्छ । कसै–कसैलाई भन्ने सानैमा पनि देखिन सक्छ । गर्भ अवस्थामा आमाले धुम्रपान तथा मद्यपान गरेमा पनि बच्चामा मोतिबिन्दुको समस्या देखा पर्न सक्छ ।
हाम्रो आँखाको लेन्स पारदर्शी हुन्छ । यो मुख्यतः प्रोटिन र पानी मिलेर बनेको हुन्छ । मोतिबिन्दु रोगमा पारदर्शी हुनुपर्ने लेन्स विभिन्न कारणले गर्दा विस्तारै अपारदर्शी हुन जान्छ, जसले गर्दा रेटिनामा बन्ने आकृति स्पष्ट हुँदैन र व्यक्तिको दृष्टि कमजोर हुँदै जान्छ । मोतिबिन्दुको सवैभन्दा प्रभावकारी उपचार नै शल्यक्रिया हो । यो रोग औषधीले ठिक हुँदैन ।

लक्षण 
आँखा धमिलो हुँदै जानु
रंगीबिरंगी देख्नु
उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने
चश्माको पावरमा परिवर्तन आइरहने ।

कसरी बच्ने ?
५० वर्ष उमेर नाघेपछि ६–६ महिनाको अन्तरालमा आँखा जाँच गर्ने
घामबाट बच्ने
गर्भ अवस्थामा मद्यपान तथा धुम्रपान नगर्ने

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *