Sajhamanch Archive

सगरमाथाको उचाइ घट्ला कि बढ्ला ? नापजाँच 

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालको गौरवको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिन्छ । तर, पछिल्लो समयमा भएका भौगर्भिक गतिविधिले गर्दा यसको उचाइ घटेको हुन सक्ने अनुमान एकातिर भइरहेका छन् भने अर्कोतर्फ यसको उचाइ बढेको अनुमान गर्ने पनि छन् ।

सगरमाथाको उचाइबारे नेपाल र चीनको धारणा पनि छुट्टाछुट्टै छ ।  तर, वास्तविकता के हो भन्ने बारेमा अहिले नेपाली इन्जिनियरहरु यसको नापजाँचमा लागिरहेका छन् । निष्कर्ष निस्कन भने अझै १ वर्षभन्दा बढी समय लाग्ने देखिन्छ ।
नापी विभागका अनुभवी इन्जिनियरहरुको एउटा टोली अहिले मापन कार्यमा लागि रहेको छ ।

चिफ सर्भे अफिसर तथा सगरमाथाको मापन कार्यमा संयोजक रहेका सुशील डंगोलले बाह्रखरीसँग भने, “हामीले अघिल्लो वर्ष लेभलिङ्गको काम सक्यौं । यसपालि ग्राभिटी मोनुमेन्टको काम गर्दैछौं । सन् २०१९ को डिसेम्बरसम्ममा यसको अन्तिम नतिजा आउनेछ ।’’
उनका अनुसार भारतका तर्फबाट पनि यसको मापनको पहल भएपनि नेपाल आफैंले काम अघि बढाएको हो ।

‘‘हामी आफैं यो कामका लागि सक्षम छौं । मापन टोलीले बजेट जम्मा २५ करोड मागेको छ । अघिल्लो वर्ष र अहिलेसमेत गरी कूल १७ करोड बजेट छुट्टिएको छ । अहिले रकम अभाव छैन ।’’ सन् १९५५ मा सर्भे अफ इण्डियाले यसको मापन गरेर अहिले मानिँदै आएको उचाइ पत्ता लगाएको हो ।

२०७२ साल वैशाख १२ को भूकम्पपछि यसको उचाइमा असर गर्‍यो कि भन्ने आम अनुमानलाई तथ्यमा आएर निष्कर्ष निकाल्नका लागि सगरमाथाको मापनको प्रक्रिया अघि बढाइएको हो ।

यसअघि चीनका तर्फबाट गरिएको एक अध्ययनमा सगरमाथाको उचाइ घटेर ८ हजार ८ सय ४४ मिटर भएको बताइएको थियो भने नेसनल जोग्राफिकले गरेको अध्ययनमा यसको उचाई ८ हजार ८ सय ५० मिटर अर्थात बढेको बताइएको थियो ।

सर जर्ज एभरेष्ट भारतको सर्भेयर जनरल हुँदा सगरमाथाको उचाइ मापन गरिएको हो । पहिला  शिखरको उचाइबाट जमिनमा बन्ने कोणको आधारमा मापन गर्ने गरिएकोमा पछिल्ला समयमा सर्भेयरहरुले ग्लोबल पोजिसनिन सिस्टम (जीपीएस) को आधारमा शिखरको मापन गर्ने गरेका छन् ।

सयोजक डंगोलले नापी विभागको एउटा टोली अहिले स्थलगत रुपमा नै खटिएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *