Sajhamanch Archive

उखु खेतीमा किसानको आकर्षण बढ्दो

Published: (Updated: ) in समाज, by .

झापा । सरकारले चिनी आयातमा अंकुश लगाएको छ । केन्द्र सरकारले गत भदौ पहिलो सातादेखि चिनी आयातमा बन्देज लगाएको हो । व्यापारीले चिनीको अभाव देखाएर बजारमा मुल्य मनपरी गर्न थालेपछि सर्वसाधारणलाई सास्ती भएको छ । तर, झापाका किसानहरुले उखु खेतीबाट उत्पादन प्रशस्तै मात्रामा गर्न थालेका छन् ।

झापामा विभिन्न खालका अन्नबाली मासेर उखु खेती गर्नेहरु थपिँदै गएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने, मिहेनत र लागत पनि कम पर्ने र एकपटक लगाएपछि तीनदेखि पाँच वर्षसम्म फसल पाइने कारणले जिल्लामा उखु खेतीको क्षेत्रफल र किसान संख्या दुवै ह्वातै बढ्दै गएको हो ।

अन्नबालीका लागि मुलुककै अगुवामा पर्ने झापामा त्यसको सट्टामा चिया र सुपारी लगाउने किसान बढ्दै गएका थिए । पछिल्ला केही वर्षमा किसानको आकर्षण उखुतिर देखिएको छ । त्यसैले उखुका लागि कहलिएका जिल्लाहरुमा खेती मास्दै गएको खबर आइरहेका बेला झापामा भने यो खेती गर्ने किसान बढिरहेका छन् । झापाको कमल, बाह्रदशी गाउँपालिका, गौरादह, भद्रपुर, बिर्तामोड, अर्जुनधारा तथा मेचीनगर नगरपालिकामा उखु खेतीप्रति किसानको आकर्षण बढेको छ ।

साविक तोपगाछी, शिवगञ्ज, डाँगीबारी, केराबारी, शनिश्चरे, लखनपुर, बनियानी, धरमपुर, गौरादह, ज्यामिरगढी लगायतका ठाउँमा एकसय भन्दाबढी किसान उखुको व्यावसायिक खेतीमा जुटेका छन् ।

‘चिया र सुपारीपछिको अर्को आकर्षण उखुमै देखिएको छ’, अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत शालिकराम भट्टराई भन्छन्, ‘क्षेत्रफल र किसानको संख्या वर्षेनी थपिने क्रममा छ ।’

उनका अनुसार झापामा दुई दशकभन्दा अघिदेखि सानो सानो रुपमा उखु खेती हुँदै आएको छ । जिल्लाका बजारहरुमा र भारतीय बजारमा खपत हुने जुसका लागि उत्पादन हुने ती उखु थोरै क्षेत्रफलमा थिए । तर, तीन वर्षयता जिल्लामा चिनीका लागि पनि ठूलो क्षेत्रफलमा खेती शुरु भएको छ । भट्टराईका अनुसार अहिले जिल्लामा दुई सय हेक्टर जमिनमा उखुको व्यावसायिक खेती भइरहेको छ ।

पाँच बर्षअघि धरमपुरका केही किसानले चिनीका लागि प्रयोग हुने उखुको खेती एकै समयमा थालेका थिए । गाउँका आधा दर्जनले करिब २० विघा जग्गामा लगाएको खेतीले अन्नबाली भन्दा राम्रो आयस्ता दिएपछि अरुले पनि त्यसैलाई पछ्याएका छन् ।

उनीहरुकै प्रभावले छेउछाउका अरु गाउँपालिका तथा नगरपालिकामा खेती बिस्तार भइसकेको छ । थोरै जमिनमा धेरै आम्दानी लिन सकिने उखुको विशेषताले पनि किसान आकर्षित भएका हुन् । त्यस्तै, अर्जुनधारा—५ स्थित चारपानेका किसानहरुले एकसय विघा क्षेत्रफलमा उखु खेती गरिरहेका छन् ।

साविक पुरानो धरमपुर हाल शिवसत्ताक्षी—१ का कृषक चन्द्रबहादुर खड्काका अनुसार अरु बालीजस्तो लगातार खेतबारीमै जुटिरहनुपर्ने बाध्यता उखुमा हुँदैन । गोडमेल गर्न भित्रयाउन पनि समस्या छैन । विराटनगर र सुनसरीबाट आउने सुगर मिलका कर्मचारीले शुरुमै खरीद गरिसक्ने उनी बताउँछन् ।

गतवर्ष १२ विघा जमिनमध्ये ११ विघामा २ सय ५५ क्वीन्टल उखु उत्पादन गरेका खड्का उखुको उत्पादनले उत्साहित छन् । ‘धान खेती गर्दा ११ वर्षमा हुने आम्दानी एकैपटक हुँदोरहेछ’, उनी भन्छन्, ‘ज्यादै मिहेनत गर्दा पनि यहाँ धान १५ देखि २० मन मात्रै फल्थ्यो ।’ शुरुमा खड्काले प्रेम पोखरेलसँग मिलेर उखुखेती गर्दै आएका थिए भने अहिले एक्लै १ विघामा धान र ११ विघामा उखुखेती गरिरहेका छन् । यो खेती अन्य क्षेत्रमा पनि विस्तार गरेर लाने सोचमा रहेको खड्को भनाइ छ ।

परम्परागत ढंगमा गरिँदै आएको धान खेतीबाट कहिल्यै फाइदा नहुने देखेपछि उखु लगाउन थालेका किसानलाई बजारको समस्या पनि छैन । जुसका लागि प्रयोग हुने होस् या चिनीका लागि उखु किन्नेहरु खेतैमा आइपुग्छन् । ‘अरु खेतीमा जस्तो झञ्झट यसमा छैन’, उखु किसानसमेत रहेका धरमपुरका समाजसेवी दिनेश श्रेष्ठ भन्छन् ।

उनका अनुसार कृषि सहकारी संस्थामा आबद्ध धेरै किसान यो खेतीतिर लागेका छन् । पछिल्लो समयमा त्यही संस्थालाई नगदे बाली कृषि सहकारी संस्थाको रुपमा परिवर्तन गरिँदै लगिएको छ । श्रेष्ठ जस्ता किसान अहिले जिल्लामा निक्कै बढ्दै छन् । गौरादहका लक्ष्मी अधिकारीले १२ विघा जग्गामा यो खेती लगाएका छन् ।

कृषक खड्काले साविकको धरमपुर—६, ८ र ९ मा उखुखेती गरेको बताए । माटो मलिलो र धानबालीमा हाल्ने युरिया लगाउने गरेको उनको भनाइ छ । यस खेतीमा अझ कुखुराको सुली र गोवरको मल हाल्दा झन राम्ररी फस्टाउने गरेको खड्काको दावी छ । ‘यसपटक एक विघामा ६०० क्वीन्टल पु¥याउने लक्ष्य छ’, उनी भन्छन् ‘ज्यादै मिहेनत गर्दा पनि यहाँ धान भन्दा त उखु खेती नै राम्रोे ।’

उनले गतवर्षसम्म दमक स्थित ढुकुरपानीबाट सिवोएसी ९८२३१ जातका विरुवा ल्याएको बताए । तर, अब अलिक उच्चस्तरीय जातको विरुवा लगाउन लागेको उनको भनाइ छ । सुनसरीस्थित इनरुवाबाट सिवो २३८, सिवोजी ८५, सिवोएस ८८२३० जातका विरुवा ल्याउने जानकारी दिए ।

‘एक विघामा हजार वटा उखु फल्ने गरेको छ’, खड्काले भने, ‘गत पुसमा लगाएको विरुवाले यसपटकको पुस माघमा फल दिन थाल्छ । उखु उत्पादन भएपछि सुनसरी स्थित इष्टन सुगर मिललाई बिक्री गर्ने गरेको छु ।’

मिलले उखु क्वीन्टलको ५०१ रुपैयाँले लिने गरेको उनले बताए । उनका अनुसार मिलले ४३५ रुपैयाँ ७२ पैसा र सरकारले ढुवानी भाडा भनेर ६५ रुपैयाँ २८ पैसा दिने गरेको छ । तर, हाम्रो माग भनेको ५५० रुपैयाँ हुनु प¥यो ।

‘हामीले विराटनगर र जनकपुरका मजदुरलाई बोलाएर काम लगाउनु पर्छ’ खड्काले भने, ‘मजदुरलाई क्वीन्टलको ८० रुपैयाँ, एक गाडी लोड गरेबापत १५ सय र मासुभात खुवाउनु पर्छ । समयमा पेमेन्ट पनि हँुदैन, त्यसकारण हामीले ५० रुपैयाँ बढाई दिनु प¥यो भन्ने माग राखेका छौँ ।’

जिल्लामा सिवोसिई ९८३३१, सिवोएस ८४३६५, सिवोएसई ९५२५५, सिवोएसई ९५४३५, सिवोएस ८८२३० र सिवोपि ९३०१, ८४३४२, सिवोएस ९६४३६ र युपि ९५३० लगायत जातका उखु लगाउने गरिएको छ ।

त्यसमध्ये ८४३२ जातको उखु बढी उत्पादन हुने किसानको अनुभव छ । ‘अरुतिर लगाएको देखेर थोरैमा लगाएको थिएँ’, किसान भन्छन्, ‘आम्दानी राम्रै हुँदोरहेछ ।’ कात्तिक र मंसिर महिनामा रोपिने उखु त्यसको १ बर्षपछि काट्न थालिन्छ ।

‘झापामा दुई किसिमको उखु खेती गरिन्छ’, जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाशकुमार डाँगी भन्छन्, ‘एउटा उखुको रस र अर्को चिनीका लागि ।’ उनका अनुसार केही वर्षदेखि जिल्लामा चिनी भन्दा पनि उखुको रसको लागि किसानले खेती गरिरहेका छन् । झापा १ सय ७० हेक्टर क्षेत्रफलमा किसानले उखु खेती गरेको डाँगीले बताए । आर्थिक वर्ष २०७३÷७४ मा ४ हजार ८ सय ९६ मेट्रिक टन उखु उत्पादन भएको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *