Sajhamanch Archive

मेचीनगरमा अनुगमनः अधिकांश उद्योगमा सरसफाइको कमि

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । मेचीनगर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालनमा रहेका उद्योगले सरसफाइमा ध्यान नदिएको भेटिएको छ । केहीसाता अघिदेखि अनुगमन निस्केको मेचीनगर नगरपालिकाका अनुगमन टोलीले बुधबार नगरमा सञ्चालित उद्योग र मिठाइ पसलको अनुगमन गरेको थियो ।

उद्योगबाट उत्पादन भएका वस्तु सामान्य पाइएपनि सरसफाइमा खासै ध्यान नदिएकाले उद्योग परिसर सफाइ गर्न सञ्चालकलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा मेचीनगर नगरपालिका मार्फत गरीएको अनुगमनमा मोहन किराना पसल मेचीनगर— १३ बाट लेवल नभएको, ढुसी र कीरा परेको किसमिस करीव ५ केजी जफत गरिएको नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले जानकारी दिए । व्यवसायीहरुले खाद्य तथा अखाद्य वस्तु सँगै राखेकाले टोलीले अलग अलग राख्न समेत निर्देशन दिएको कार्कीले बताए ।

व्यवसायीले उपभोग्य मिति सकिएका वस्तु समेत फिर्ता गर्ने भन्र्दै देख्ने ठाउँमा राखेकाले त्यसलाई तत्काल फिर्ता गर्न वा हटाउन टोलीले निर्देशन दिएको छ । व्यवसायीलाई सातदिन भित्र यसको उचित व्यवस्थापन गर्न समेत टोलीले भनेको र नगरे कानुनी कारवाही गरीने नगरपालिकाले जनाएको छ । नगरपालिकाको सूचना अवज्ञा उपभोक्ताको स्वासथ्यमा खेलवाड गरे कानुन बमोजिम कारवाही तथा ती सामाग्री जफत गर्ने, नष्ट गर्ने तथा दण्ड जरवाना समेत गरिने कार्कीको भनाई छ ।

टोलीले मेचीनगर —१३ मा रहेको सुशीला भेराइटिजबाट पहेलो रंग लगाएको सिन्के चाउचाउ ३ दशमलव ६ केजी जफत गरी नष्ट गरेको छ । एक पटकलाई सचेत समेत गराएको छ । टोलीले म्याद गुज्रेका विस्कुट समेत जफत गरेको छ । श्री मिष्ठान भण्डारबाट उपभोग्य मिति समाप्त भएको ४ सय ग्राम भूजिया जफत गरी नष्ट गरेको छ । श्री अन्तु मिष्ठान भण्डारलाई होटलमा रहेका परिकार छोप्न पत्रिका प्रयोग नगर्न निर्देशन दिएको छ । टोलीले सूर्य एग्रोको पनि अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका चुडाराज भट्टराई, मेघराज निरौला, खाद्य विश्लेषक कार्की, खाद्य प्रयोगशाला काँकरभिट्टका दिनेश ढुंगाना, प्रहरी चौकी चारआलीका उत्तमकुमार कार्की, उद्योग बाणिज्य संघ चारआलीका शरद शिवाकोटी र मेची उद्योग बाणिज्य संघका धुर्व कनाललगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएका हुँदा उपभोक्ताले स्वस्थ्य र स्वच्छ खाद्य वस्तु उपभोग गर्न पाउन भनेर नगरपालिकाले अनुगमनलाई तीब्रता दिएको कार्कीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *