Sajhamanch Archive

युवाहरूमा पार्किन्सन्स रोग, यस्तो हुन्छ लक्षण

Published: (Updated: ) in स्वास्थ्य by .

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र लन्डनस्थित मेडिकल फर्म मेडोप्याडले पार्किन्सन्स रोग निदानका लागि ‘आर्टिफिशल इन्टेलिजन्स'(एआई) प्रयोग गर्न सहकार्य गरेका छन्।

यस पद्धतिमा पार्किन्सन्स रोगका लक्षणको गम्भीरता खुट्याउन एउटा क्यामेराले बिरामीले हात चलाएको दृश्य खिचिराख्छ।

चिकित्सकले परीक्षण गरिसकेका बिरामीका उपलब्ध भिडिओ प्रयोग गरेर अनुसन्धान टोलीले यो कम्युटरमा आधारित कृत्रिम प्रणालीको विकास गरेको हो।

त्यसका लागि लन्डनस्थित किङ्स कलेज हस्पिटलसँग पनि सहकार्य भएको थियो।

“बिरामीले कुनै सेन्सर वा उपकरण बोक्नुनपर्ने गरी पार्किन्सन्स रोग बिग्रिएको पत्ता लगाउन हामी एआई प्रयोग गर्छौँ,” टेन्सेन्ट मेडिकल एआई ल्याबका प्रमुख डा. वेई फानले भने।

प्राय: आधा घण्टाभन्दा बढी समय लाग्ने ‘मोटर फङ्शन’ निर्धारण प्रक्रियाको गति बढाउनु यसको उद्देश्य हो।

मेडोप्याडले विकसित गरेको स्मार्टफोन प्रविधि प्रयोग गरेर अस्पताल नै नगई तीन मिनेटभित्र बिरामीको परीक्षण गर्न सकिन्छ भन्ने अपेक्षा छ।

मेडोप्याडले विभिन्न रोग भएका बिरामीको परिस्थिति निगरानी गर्न एप्स र लगाउन मिल्ने उपकरणहरू विकसित गरेको छ।

सो मेडिकल कम्पनी तीव्र गतिमा ठूलो हुँदैछ। तर चीनमा एआईको क्षेत्रमा विशाल लगानी भएको टेन्सेन्टसँग तुलना गर्दा यो अझै सानो नै छ।

मेडोप्याडका प्रमुख कार्यकारी अधिकृत डान भाडाटका भन्छन्, “संसारभरि रहेका करोडौँ बिरामीलाई प्रभाव पार्ने हाम्रो लक्ष्य हो। र, त्यो परिस्थितिसम्म पुग्न हामीले अन्तर्राष्ट्रिय पहुँच भएका साझेदारसँग काम गर्नु आवश्यक हुन्छ।”

अहिले अमेरिका र चीन आर्टिफिशल इन्टेलिजन्सको क्षेत्रमा नेतृत्व लिने प्रतिस्पर्धामा छन्।

यही परिप्रेक्ष्यमा स्वास्थ्यसेवाको क्षेत्रमा एउटा ब्रिटिश फर्मले विशाल चिनियाँ कम्पनीसँग सहकार्य गर्नु कति बुदि्धमत्तापूर्ण हुन्छ भन्ने प्रश्न उठ्न सक्छ।

वेई फान भन्छन् – यो सबैका लागि उपयोगी हुने खुल्ला र पारदर्शी योजना हुनेछ।

उनका अनुसार चीन, अमेरिका र अन्य देशमा यसको परीक्षण गर्ने योजना छ।

उनी भन्छन्, “हामी स्थानीय नियम कानुनको अक्षरश: पालना गर्नछौँ। र नतिजा आएपछि त्यसले एउटा देशलाई मात्र नभएर पूरै संसारलाई लाभ पुग्नेछ।”

पार्किन्सन्स रोगका बिरामीको उपचारका लागि योबाहेक अरू नयाँ प्रविधि पनि उपलब्ध छन्।

स्विट्जर्ल्यान्डको इन्स्टिट्युट फर रोबटिक्सका दुई अनुसन्धानकर्ताले एउटा स्मार्टफोन एप विकसित गर्दैछन्।

त्यो एपले बिरामीले विभिन्न शारीरिक अभ्यास गरेपछि कम्युटरको प्रयोग गरेर परिणामको विश्लेषण गर्छ।

के हो पार्किन्सन्स रोग ?

संसारभरि झन्डै एक करोड मानिसमा पार्किन्सन्स रोग भएको आकलन गरिएको छ। यो सङ्ख्या बढ्दै जानेछ।

पार्किन्सन्स रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर हिजोआज उल्लेख्य सङ्ख्यामा युवाहरूमा पनि यो रोग देखिएको छ।

पार्किन्सन्स हुँदा बिस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ र शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्तत: विस्मृति हुने जस्ता समस्या देखिन्छन्।

हाल उपलब्ध उपचारपद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ। मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ। कुनै औषधिले पनि यो रोग निको पार्न सक्दैन।

तर एआई प्रविधिमा भएको विकासले पार्किन्सन्स रोगका लक्षण निवारणका लागि उपचार गर्न चिकित्सकहरूलाई सजिलो पार्ने विश्वास गरिएको छ। बीबीसी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *