Sajhamanch Archive

पिसाब पिउनु के साँच्चै नै स्वास्थ्यका लागि राम्रो हो ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

कतै फसेको वा ज्यान नै जोखिममा भएको अवस्थाबाहेक मानिसले आफ्नो पिसाब पिउनेबारे सायद सोच्दैन । तर यस्ता केही मानिसहरु पनि छन् जसले दैनिक रुपमा आफ्नो पिसाब पिउने गर्छन् ।

उदाहरणका लागि केन्टलाई लिन सकिन्छ । नेविंगटनकी ३३ वर्षीया योगा शिक्षक केली ओकलीले आफ्नै पिसाब पिएपछि निकै लामो समयदेखिको स्वास्थ्य समस्याबाट राहत पाएको र छालामा समेत निखार आएको दाबी गरिन् ।

उनले दुई वर्षअघि समाचार एजेन्सी प्रेस असोसिएशनलाई आफूले पिसाब पिउन सुरु गरेको जानकारी दिएकी थिइन् । केही मानिसहरु यसलाई ‘युरिन थेरापी’ भन्छन् भने कतिले युरोफेजिया ।

उनी भन्छिन्, ‘मैले सुनेकी थिएँ कि यसले प्रतिरक्षा तन्त्रलाई पुनः स्थापित गर्छ, स्वास्थ्यमा सुधार ल्याउँछ र छाला राम्रो बनाउन सहयोग गर्छ । त्यसकारण मैले यो तरिका अपनाउने सोच बनाएँ ।’

अब उनी हरेक दिन ताजा पिसाब पिउनुका साथै सुतीको कपडालाई पिसाबमा भिजाएर आफ्नो अनुहारमा लगाउँछिन् । यसले उनको छाला चम्किलो बनाएको उनको दाबी छ ।

अचम्मको कुरा के छ भने केली मात्रै एक्ली युवती होइन जसले युरोफेजियाको लाभ उठाउँछन् ।

तौल कम गर्नका लागि पिसाबः

गत हप्ता अलबर्टा, क्यानडाकी ४६ वर्षीया लिह स्याम्पसनले ‘द सन’ सँग आफ्नो पिसाब पिउँदा शरिरको तौल कम गर्न सहयोग गर्ने बताएकी थिइन् ।

लिह भन्छिन्, ‘मेरो तौल एक सय २० किलो थियो र मलाई यो जसरी पनि घटाउनु थियो । यसमा मलाई पिसाबले सहयोग गर्न सक्छ भन्ने सुन्दा अचम्ममा परेकी थिएँ ।’

उनी भन्छिन्, ‘मेरो एकजना साथीले युरिन थेरापीको एउटा युट्युब लिंक पठायो । त्यो हेरेपछि मैले आफ्नो पिसाब पिएँ । मलाई थाहा थियो कि म अत्यधिक सोडियम खाइरहेकी छु त्यसकारण  आफ्नो खानामा सोडियम हटाउने कसम खाएँ ।’

लिह अब बिहान पिसाब पिउनुबाहेक ब्रश गरेपछि त्यसले मुख कुल्ला पनि गर्छिन् र पिसाबलाई आई ड्रपको रुपमा पनि प्रयोग गर्छिन् । तर यसको प्रयोग गर्नुअघि सोच्नुहोस् किनभने डाक्टरले यसको प्रयोगका लागि सुझाउँदैनन् ।

तर ३९ वर्षीय फेथ क्यान्टरले आफूलाई रोकिनन् । उनले केही दिनअघि मात्र आफूले पिसाब पिउन सुरु गरेको कुरा सार्वजनिक गरिन् ।

फेथ पोर्चुगलमा बस्छिन् । उनका अनुसार उनलाई एउटा लामखुट्टेले टोकेपछि एलर्जी भयो र उनको आँखा सुन्नियो । त्यसपछि उनले आफ्नो पिसाब पिउने कोसिस गरिन् ।

उनी भन्छिन्, ‘सुरुमा मलाई घिन लाग्थ्यो तर तीनदिन पछि सुन्निएको ठिक भयो ।’

फेथ थप्छिन्, ‘त्यसपछि हरेक बिहान मैले आफ्नो पिसाब पिउन सुरु गरें । अब मलाई पहिलेको भन्दा कम लामखुट्टेले टोक्छन् । अब मलाई कुनै किराले टोक्दा सुन्निने र चिलाउने हुँदैन ।’

जूनमा नाम नखुलाइएकी एक महिलाको भिडियो भाइरल भएको थियो जसमा उनी आफ्नो कुकुरको पिसाब पिइरहेकी थिइन् ।

उनी त्यो भिडियोमा पिसाब पिएपछि भन्छिन्, ‘आफ्नो कुकुरको पिसाब पिउनुअघि  म तनावमा थिएँ, उदास थिएँ र मेरो अनुहारमा नराम्रा दाग थिए ।’

डाक्टरले पिसाब पिउनु ठिक मान्दैनन्ः

यतिधेरै मानिसहरुले पिसाब पिउनेबारे घोषणा गरेपनि डाक्टरले यो स्वास्थ्यका लागि ठिक नभएको बताउँछन् ।

एउटा कुरा यो हो कि पिसाबलाई शरिरबाट निस्किएको अपशिष्ट पदार्थ भनिन्छ ।

डाक्टर जुबैर अहमदले बीबीसीलाई भने, ‘यस्तो धारणा छ कि पिसाब किटाणुरहित हुन्छ । यद्यपी, मृगौलामा कुनै समस्या छैन भने पिसाब किटाणुरहित हुन्छ । ’

‘जब यो शरिरबाट निस्कन्छ तब यो किटाणुबाट दुषित हुनसक्छ र तपाईंको शरिरमा किटाणु प्रवेश हुँदा तपाईं बिरामी हुनसक्नु हुन्छ वा केही गम्भीर शारिरिक जटिलता निम्तिन सक्छ ।’

डाक्टर अहमदका अनुसार संक्रमणको लक्षणलाई यदि अलग्ग्याउने हो भने युरोफेजियाको शारिरिक लाभको कुनै प्रमाण भेटिँदैन ।

उनी भन्छन्, ‘पिसाब फेर्नु एउटा यस्तो क्रिया हो जसमार्फत विषाक्त पदार्थले शरिर छोड्ने गर्छ ।’

‘शरिरमा यस्ता केही पदार्थ प्रवेश हुँदा स्वास्थ्यमा कुनै फाइदा हुनसक्छ भन्ने कुनै प्रमाण भेटिएका छैनन् । यद्यपी, पिसाबको थोरै मात्रा पिउँदा पनि स्वास्थ्यमा खतरनाक असर हुनसक्छ ।’

यस्तै, डाक्टर एन्ड्रयू थार्नबरले पिसाब पिउँदा शरिरमा पुनः खतरनाक अपशिष्ट पदार्थ प्रवेश हुने भन्दै यसो नगर्न चेतावनी दिएका छन् ।

उनले भने, ‘पिसाबको पूरा प्रक्रिया मृगौलाकै हुन्छ जसले रगतलाई फिल्टर गर्छ र मिनरलका साथै साल्ट र अन्य पदार्थ निस्कने गर्छ ।’

उनी भन्छन्, ‘एक स्वस्थ शरिरको पिसाबमा ९५ प्रतिशत पानी र पाँच प्रतिशत अपशिष्ट पदार्थ हुन्छ । यी पदार्थमा पोटाशियम र नाइट्रोजन हुन्छ र यदि यो तपाईंको शरिरमा धेरै भए तपाईंको मृगौलालाई क्षती पुग्न सक्छ ।’

उनका अनुसार पिसाब पिउनु आन्द्राको लागि खराब हो र यसो गर्दा मृगौलालाई क्षती पुग्न सक्छ ।

डाक्टर मात्र होइनन् पोषण र आहार विशेषज्ञ पनि पिसाब पिउन नहुने भन्दै चेतावनी दिन्छन् ।

पोषण विशेषज्ञ केरी फिल्टनेस पिसाब पिउन नहुने बताउँछिन् । उनी भन्छिन्, ‘पिसाबमा ९५ प्रतिशत पानी भएका कारण यो पिउनयोग्य छ भन्नु गल्ती हो ।’

राम्रो स्वास्थ्यका लागि पानी वा हर्बल चिया नै पिउनुपर्ने उनको सल्लाह छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *