Sajhamanch Archive

चाडपर्वको मुखमा खुलेहाम कालोबजारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

झापा । चाडबाड जति नजिकिदैँ आउँछ यहाँका व्यापारीहरुको कालोबजारी धन्दा शुरु हुन्छ । व्यापारीहरुको यो पीडाले सर्वसाधारण वर्षेनि मारमा पर्ने गरेका छन् ।

व्यापारीको कालोबजारी धन्दा खुलेआम चलिरहँदासमेत सरोकारवाला निकाय र स्थानीय सरकार मौन बस्छन् । बजारमा सामानको दाम अचाक्ली बढिरहँदा पनि सरकार तथा सरोकारवाला निकाय अनुगमनमा नहिँड्नुले व्यापारीसँग साठगाँठ छ भन्ने सर्वसाधारणले बुझ्न थालेका छन् ।

दशैँ, तिहार तथा छठ जस्ता चाडपर्वको मुखमा झापाको खाद्य बजार महंगिएको छ । व्यापारीहरुले विभिन्न बहानामा खाद्य सामग्रीको मूल्य बढाएका छन् । चाडपर्वमा अत्याधिक खपत हुने चामल, तेल, दाल, जिरा, धनियाँ लगायतको मूल्य बढेको छ ।

ती खाद्य सामग्रीमा एक महिनाको अन्तरमा २० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढेको छ । दशैँमा मासुजन्य वस्तुहरुको बढी खपत हुने हुँदा जिरा, धनियाँ लगायतका मसलाहरुको मूल्य व्यापारीले बढाएका छन् । ती वस्तुहरुमा २० प्रतिशत मूल्य वृद्धि भएको छ । व्यापारीहरु सीमासँग जोडिएका भारतीय बजारहरुमा खाद्य सामग्रीका लागि निर्भर छन् । नेपाली बजारको तुलनामा व्यापारीहरुले भारतीय बजारमा सस्तोमा पाइने भएकाले खाद्य वस्तुहरु त्यहीँबाट ल्याउने गर्छन् ।

पूर्वी नाका काँकरभिट्टा हुँदै झापाको मूख्य बजार धुलाबारी, बिर्तामोड, भद्रपुर, दमकसम्म व्यापारीहरुले दाल, चिनी, चामल, तेल, मसला, पु¥याउने गर्छन् । उनीहरुले ढुवानी खर्च बढेको बहानामा सामानको मूल्य बजारै पिच्छे अलग–अलग दररेटमा बेच्ने गर्छन् । मूल्य बढ्नुको अन्य अरु कारण नभई चाड पर्वको मौका छोपेर व्यापारीहरुले खाद्य सामाग्रीको कृत्रिम मूल्य बढाएको हुनसक्ने उपभोक्ताहरु बताउँछन् । पर्वका बेला बढी खाद्य सामग्री खपत हुने भएकाले कृत्रिम अभाव सिर्जना गरेर ती सामानहरुको मूल्य बढाएको उनीहरुको गुनासो छ । व्यापारीहरुले सीमा नाकामा लुकाई छिपाई बढी नाफा कमाउने उद्देश्यले खाद्य, सामग्रीहरु ठाउँ पिच्छे फरक–फरक मूल्यमा बेच्ने गर्छन् । बजारमा सामान नै नपाएको जनाउँदै व्यापारीहरुले मनपरी मूल्य लिई बेच्ने गरेको उपभोक्ताहरु बताउँछन् ।

धुलाबारी बजारमा सोमबार हटिया आएकी मेचीनगर—१५ की हिरण्यदेवी राजवंशीले जन–ससद्सँग भनिन् –‘सामान छुनै नसक्नु छ ।’ दशँैका लागि खाद्य सामग्रीहरु अग्रिम जोहो गर्न किनमेलका लागि आएकी उनले भनिन्– ‘सबै खाद्य सामग्रीमा मूल्य बढेको छ । दशँैको खर्च धान्नै गाह्रो भएको छ ।’

सीमावर्ती भारतीय बजार पानीटङ्की, बतासी, नक्सलवाडी, सिलीगुडीबाट विभिन्न खाद्य सामग्रीहरु व्यापारीहरुले ल्याउने गर्छन् । खाद्य सामग्रीहरु उपभोक्तासम्म पु¥याउँदा थुप्रै ठाउँमा पैसा तिर्नुपर्ने भएकाले ती सामानहरुमा मूल्य बढेको व्यापारीहरु बताउँछन् । खाद्य सामग्री भारतीय बजारबाट ल्याउँदा भन्सार, प्रहरी तथा अन्य तीन चार ठाउँमा पैसा तिर्नु परेको व्यापारीहरुको भनाइ छ ।

‘सबैलाई तिरेर आफ्नो लागि अलिकति नाफा छुट्याएर बेच्नुपर्छ’ एक व्यापारीले भने– ‘हामी आफैँले मूल्य बढाएका होइनौं ।’ अति उपभोग्य सामग्रीसँगै जिल्लामा तरकारीको मूल्य वृद्धि भएको छ । फूलकोपी, बन्दाकोपी, गोलभेडा, खुसार्नी, आलुलगायतका तरकारीको मूल्यमा बृद्धि भएको हो । जिल्लाका प्रमुख शहरमा रहेका कृषि उपज बजारमा तरकारीको भाउ एक महिनामै ५० प्रतिशत बृद्धि भएको छ । बिर्तामोडस्थित कृषि उपज बजारमा पनि मुख्य तरकारीहरुमा मूल्य बृद्धि भएको छ । आयातीत तरकारीमा भर पर्नु परेकाले जिल्लामा भाउ बढेको हो ।

अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत शालिकराम भट्टराईले असार, साउन, भदौ र असोज महिनामा मनसुनका कारण जिल्लामा तरकारीको उत्पादन नहुने बताए । हिउँदे वर्षाका कारण पहाड तथा स्थानीयमा उत्पादन कम भएको बताए । ‘बाहुनडाँगी, शनिश्चरे, खुदुनाबारी र दमक नगरपालिकाको माथिल्लो क्षेत्रमा मात्र तरकारी उत्पादन हुन्छ । त्यसले जिल्लाको माग थेग्न सक्दैन ।’ जिल्लामा यतिबेला कच्छु, घिरौला, भिण्डी र करेला मात्र उत्पादन हुन्छ । बर्षभरिको तथ्याङ्क हेर्दा २० प्रतिशत तरकारी उत्पादन गिरावट हुने भट्टराईले बताए ।

‘उच्च पहाडी क्षेत्र र भारतबाट आयात गर्नुपर्ने बाध्यता छ’– उनले भने । वेमौसमी र विश्व व्यापारका कारण माग बढ्यो आपुर्ति कम भइसकेपछि मुल्य आकासिएको हुन सक्ने उनले बताए । दमक, गौरादह, भद्रपुर, मेचीनगर, शिवसत्ताक्षी, अर्जुनधारा, बिर्तामोड नगरपालिका तथा आसपासका गाउँपालिकामा तरकारी र खाध्य वस्तुको बजार मुल्य आकासिएको छ ।

ती ठाउँहरुमा सामानको मुल्य यस प्रकारको छ । जस्मा गोलभेडाको थोक मूल्य ५०, आलु ७०, बोडी ८०, प्याज ४०, गाँजर १२०, काउली १००, तिते केरला ८०, बन्दाकोपी ४०, भान्टा ७०, सिमी १२०, साग ५०, मूला ३०, स्कुस ३०, काक्रा ६०, घिरौला ६०, पर्वल ७०, भिण्डी ७० रुपैयाँ प्रतिकिलोग्राम थोक मूल्य रहेको जनाइएको छ ।

त्यस्तै, गोटा जिराको थोक मूल्य ४०० र धनियाँ १००, खानेतेल १९०, दाल १००, रहर दाल १२०, मन्सुली चामल ६० र जिरा मन्सुली चामल ८० रुपैयाँ प्रतिकिलोग्राम थोक मूल्य रहेको जनाइएको छ ।

तर, बजारमा खुद्रा मूल्यको अन्तर धेरै रहेको उपभोक्ता बताउँछन् । बिर्तामोडकी सीता पोखरेल खुद्रा मूल्य पसलै पिच्छे फरक र धेरै रहेको बताउँछिन् । ‘थोक मूल्यभन्दा १० देखि १५ रुपैयाँको अन्तर पाइन्छ’ उनले भनिन् – ‘बजार अनुगमन हुँदैन, मनपरी मूल्य तोक्ने व्यापारीका कारण उपभोक्ता मारमा परिरहेका छन् ।’ अनुगमनको जिम्मा पाएको स्थानीय सरकारले बजार अनुगमनमा चासो दिइएको पाइँदैन । जसले गर्दा व्यापारीको मनोमानी बढेको स्थानीयको गुनासो छ । सरोकारवाला निकायले बजार अनुगमन गरिहाले पनि उपभोक्तालाई खुशी बनाउन झारा टार्ने मेलो मात्र भएको स्थानीयको बुझाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *