Sajhamanch Archive

सनराइज बैंकले ग्राहकलाई वितरण गर्यो स्वास्थ्य वीमा रकम

Published: (Updated: ) in अर्थतन्त्र by .

मेचीनगर । सनराइज बैंक लिमिटेड शाखा काँकरभिटाले चौथो पटक स्वास्थ्य योजना अन्तर्गत बैकका ग्राहकहरुलाई स्वास्थ्य वीमा रकम हस्तान्तरण गरेको छ ।

बैंकको शाखा कार्यलयमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका— ६ का चन्द्रकुमार चौधरी र मेचीनगर नगरपालिका —२ का यादबप्रसाद निरौलालाई वीमा रकम हस्तानतरण गरेको हो ।

बैंकका शाखा प्रवन्धक कुमार खड्काले चौधरीलाई ६९ हजार ९ सय ४५ र निरौलालाई ११ हजार ७ सय ८ रुपैयाँ प्रदान गरेका थिए । ‘सनराइज बैंकको स्वास्थ्य योजना हरेक बचत खाताहरुलाई डबल सुरक्षा’ भन्ने मुख्य नारासहित बैंकले शिखर इन्स्यूरेन्स कम्पनिसँग स्वास्थ्य वीमा सम्बन्धी सहकार्य गरेर यो अभियान शुरु गरेको हो ।

कार्यक्रममा शाखा प्रवन्धक खड्काले स्वास्थ्य वीमा सुविधा बचतकर्ताले खाता खोलेको दिनदेखि बढीमा १ लाख वा औसत २५ प्रतिशत वा उपचार वापतको बील अनुसार रकम जुन कम हुन्छ त्यहि रकम प्राप्त गर्न सक्ने जानकारी दिए । यो सुविधा लिनका लागि १५ दिनभित्र उपचार वापतका सवै बील रकम बैंकका ९५ वटा शाखा मध्ये कुनैं पनि शाखामा पेश गर्नुपर्ने हुन्छ ।

१ सय ५० वटा विभिन्न उपचारका लागि हुने शल्यक्रियाका लागि अस्पताल भर्ना नभए पनि यो सुविधा पाउने व्यवस्था रहेको खड्काले जानकारी दिए । तर, यो सुविधा लिनका लागि नेपालभरका सरकारी अस्पताल तथा बैंकसँग अनुबन्धित निजी अस्पतालहरुबाट उपचार गराउनुपर्छ ।

शाखा प्रमुख खड्काका अनुसार बैंकले हालसम्म ९० वटा भन्दा निजी अस्पताल बैंकसँग उक्त सुविधा सम्बन्ध सम्झौता गरिसकेको छ । झापामा मेची नेत्रालय (आंखा अस्पताल) काँकरभिट्टा, विएण्डसी अस्पताल विर्तामोड, मनमोहन अस्पताल विर्तामोड, विर्ता सिटी अस्पताल विर्तामोड, मेडिका अस्पताल विर्तामोड, दृष्टि आई केयर अस्पताल विर्तामोड र ओमसाई पाथिभरा अस्पताल भद्रपुरसंग बैंकले यस अघिनैं सम्झौता गरिसकेको छ ।

ग्राहक चौधरीले विर्तामोडको बि एण्ड सी अस्पताल तथा निरौलाले विराटनगरको नोबेल अस्पतालमा उपचार गराएका थिए । कार्यक्रममा बोल्दै चौधरी तथा निरौलाले इन्स्यूरेन्स कम्पनीसँग रकम लिनका लागि सास्ती व्यहोर्नु नपर्ने र वीमा रकम बैंकले सहज र सरल रुपमा आफ्नो खातामा वीमा रकम पाएको भन्दै बैंकप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *