माइकल आँधीले अमेरिकामा ल्यायो भयानक विनाश
Published:
by .
काठमाडौं । माइकल आँधीले फ्लोरिडाका तटीय क्षेत्रमा प्रवेश गरी अकल्पनीय विनाश ल्याएको उक्त राज्यका गभर्नर रिक स्कटले बताएका छन् ।
‘धेरै जिन्दगीहरू पूरै परिवर्तन भएका छन्,’ उनले भने, ‘धेरै परिवारले सबै कुरा गुमाइसकेका छन् ।’
फ्लोरिडाको उत्तरपश्चिमी तटका सर्वाधिक प्रभावित क्षेत्रमा घरहरू जरैबाट उखेलिएका छन्, रुखहरू ढलेका छन् र बिजुलीका तारहरू सडकभरि छरिएका छन् । माइकल आँधीले बुधवार २५० किलोमिटर प्रतिघन्टाको दरले हावा चलाएको छ ।
उत्तरपूर्वमा जमीनतर्फ बढ्दै जाँदा यो कमजोर हुँदै गयो तर यसले कम्तीमा ६ जनाको ज्यान लियो । मर्नेमा अधिकांश फ्लोरिडा निवासी छन् ।
तीन लाख ७० हजार भन्दा बढी मानिसलाई फ्लोरिडा छोड्न लगाइएको भएपनि धेरैजसोले चेतावनीलाई बेवास्ता गरेको अधिकारीहरूको विश्वास छ ।
गभर्नर स्कटले रातभरिमा अमेरिकी तटीय गार्डले १० वटा मिसन चलाएको र कम्तीमा २७ जनाको ज्यान बचाएको बताए ।
संघीय संकटकालीन व्यवस्थापन निकायका प्रमुख ब्रोक लङले मेक्सिको बीचमा अत्यधिक क्षति पुगेकाले त्यसलाई ग्राउन्ड जिरो भनिएको बताए । पनामा सिटीमा रुखहरू लडे, घरहरू भत्किए अनि डुंगा र बिजुलीका तार छरिए ।
फोहर र बाढीको पानी जमेका कारण कतिपय अतिप्रभावित क्षेत्रमा पुग्नै अप्ठ्यारो परेको छ ।
बीबीसीबाट
Comments