Sajhamanch Archive

सुपारी तस्करीले मारमा किसान

Published: in राष्ट्रिय समाचार, by .

झापा । तेस्रो मुलुकबाट आयात भएको सुपारीका कारण किसान मारमा परेका छन् । झापामा खपत भएको भन्दाबढी सुपारीलाई व्यवस्थित गर्न लागिरहेका बेला तेस्रो मुलुकबाट आयातित सुपारीले नेपाली किसानलाई मारमा पारेको हो ।

नेपालमा उत्पादित र तेस्रो मुलुकबाट आएको खपत हुने भन्दाबढी सुपारी दिनहुँ लुकिछिपी भारत पुग्ने गरेकाले नेपाली किसानले सास्ती व्यर्होनु परेको छ । सुपारीको उत्पादनको सम्भाव्यता अधिक भएको झापा, मोरङ, इलाम र उदयपुरलाई पकेट क्षेत्र बनाउन र स्वदेशी उत्पादन बढाउन राज्यसँग किसान माग छ ।

किसान, उद्योगी तथा व्यवसायीले अवैध रूपमा भारततर्फ हुने सुपारीको निकासी रोक्नुपर्ने र नगदेबालीका रूपमा सुपारी खेतीलाई विस्तार गरी हवको रुपमा विकास गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनीहरुको भनाइ छ । नेपाल सुपारी खेती विकास संस्थाका पुर्व महासचिव निलकण्ठ तिवारीका अनुसार तेस्रो देशबाट आयात गरेर अवैध रूपमा भारततर्फ निकासी गरिरहने क्रम नरोकिएसम्म किसानले उत्पादन गरेको सुपारीले मूल्य पाउँदैनन् ।

उनी भन्छन्, ‘अधिक आयात र अवैध निकासी रोकिनुपर्छ ।’ पूर्वका पाँच जिल्लामा व्यावसायिक रूपमा सुपारी खेती विकास गर्न सकिए त्यसबाट किसानलाई मात्र नभएर त्यसको निकासीबाट राज्यलाई समेत ठूलो फाइदा पुग्ने उनको कथन छ ।

झापा बुद्वशान्तिका किसान रञ्जित धिमालले स्थानीयले उत्पादन गरेको सुपारी तेस्रो मुलुकको सुपारीले विस्थापन गरिरहेको दावी गरे । ‘तेस्रो मुलुकको सुपारी भारतबाट भन्सार काटेर काँकरभिट्टा ल्याउने, धिमालले भने ‘अनि त्यहीबाट फेरी लुकिछिपी भारत पठाउने गर्नाले हाम्रो सुपारीको भाउ नै भएन ।’ अहिले झापामा २ हजार ६ सय ८५ हेक्टर क्षेत्रफलबाट वार्षिक ९ हजार ७ सय ७२ मेट्रिक टन, मोरङमा ८ सय ५० हेक्टरबाट २ हजार ८ सय ८०, सुनसरीमा ६ सय ९० हेक्टरबाट २ हजार ५ सय, इलाममा २ सय हेक्टरबाट ५ सय १० मेट्रिक टन र उदयपुरमा ४ सय ३० हेक्टरबाट २ हजार २ सय ८० हेक्टरबाट ७ सय १ मेट्रिक टन सुपारी उत्पादन हुँदै आएको छ ।

मोरङमा चारवटा संस्था सुपारी उत्पादन तथा बिक्री प्रवद्र्धनको क्षेत्रमा कार्यरत छन् । तिनले सुपारी प्रशोधनको काम पनि गर्छन् । जिल्लाको टाँडी, जाँते, लेटाङ, मधुमल्ला, पथरी, शनिश्चरेलगायत क्षेत्रमा सुपारी उत्पादन हँुदै आएको छ । मोरङ टाँडीकी किसान शर्मिला लिम्बुले सरकारबाट सहयोग प्राप्त नहुँदा र पाकेका सुपारी कसरी कहाँ लगी बेच्ने र कति मूल्य लिने भन्ने विषयमा समेत किसान अनभिज्ञ रहेको बताइन् । देशका १८ वटा जिल्लामा व्यावसायिक रूपमा सुपारी खेती गर्न सकिने भए पनि अहिले व्यवसायभन्दा पनि सोखका लागि मात्र सुपारी रोप्ने चलन रहेको कृषि विकास कार्यालय मोरङले जनाएको छ ।

पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका अनुसार सुपारीबाट आजीवन आम्दानी हुने भए पनि यस विषयमा चाहे जति प्रचार र किसानलाई विश्वास दिलाउन नसक्दा अपेक्षा गरिए अनुसार उत्पादन लिन सकिएको छैन । इन्डोनेसिया र मलेसियाबाट बर्सेनि ठूलो परिमाणमा नेपालमा सुपारी आयात हुन्छ । नेपालमा वार्षिक करिब ३० हजार मेट्रिक टन सुपारी खपत हुन्छ तर आयात भने सोभन्दा ठूलो परिमाणमा हुन्छ । स्वदेशी उत्पादन करिब १४ हजार मेट्रिक टन हुन्छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०७४÷७५ को साउनसम्ममा २४ लाख ४५ हजार ३ सय २० केजी सुपारी आयात भएको छ । २०७३÷७४ मा ४५ लाख ४९ हजार ५० केजी सुपारी आयत भएको कार्यालयले जनाएको छ । शुक्रबार मात्र तेस्रो मुलुक हुँदै भारतबाट मेची भन्सार कार्यालयमा ६९ हजार ६ सय केजी सुपारी आयत भएको कार्यालयले जानकारी दिएको छ । तर, साउन र भदौ महिनामा सुपारी आयात भएको छैन् । झापाको ११८ किलोमिटर सीमा नाकाबाट नेपालमा उत्पादित र तेस्रो मुलुकबाट आएको सुपारी लुकिछिपी भारतका विभिन्न बजारमा पुग्ने गरेको छ । इप्रका काँकरभिट्टाका प्रमुख डीएसपी महेश थापाले विगत जस्तो धेरै परिमाणमा सुपारी भारत नजाने गरेको बताए ।

जति सुपारी लुकिछिपी आउँछ, त्यसलाई नाकामा रोक्ने प्रयास गरिरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले यस आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि असोज २५ गतेसम्ममा १ हजार २ सय १५ केजी सुपारी बरामद गरेको छ । जसको २ लाख ४३ हजार बराबर मुल्य राखि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको इप्रकाले जनाएको छ । इप्रकाले गत वर्ष २०७४÷७५ मा २ हजार १ सय ६१ केजी सुपारी बरामद गरेको थियो । जसको ४ लाख ३२ हजार २ सय मुल्य राखि भन्सार बुझाइएको छ ।

यसले पनि के देखिन्छ भने तेस्रो मुलुकबाट भारत हुँदै मेची भन्सारमा राजश्व तिरी आयात भएको सुपारी तथा नेपालमा उत्पादित सुपारी भन्सारमा राजश्व नबुझाई लुकिछिपी फेरी भारत लैजाने गरेको छ ।

झापामा उत्पादित अर्थात नेपालमा उत्पादित सुपारी कानुन बमोजिम अहिले भन्सार काटेर लान मिल्छ । तर, नेपालको सुपारी पनि लुकिछिपी जाने गरेको छ ।

 

मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले तेस्रो मुलुकबाट आयात भएको सुपारी झापाका नाकाबाट लुकिछिपी भारत जाँदा नेपाललाई घाटा नभएको दावी गरे । नेपालमा उत्पादित सुपारी पनि भारत लुकिछिपी जाने गरेको छ । नेपालमा उत्पादित सुपारी भन्सारमा राजश्व काटेर निर्यात नभएको अर्यालले जानकारी दिए । तेस्रो मुलुकको सुपारी लुकिछिपी गएपनि नेपालमा उत्पादित सुपारी भन्सार काटेर जान दिनु प¥थ्र्याे । तर, भारतले त्यसो गर्नबाट बञ्चित गरेको अर्यालको भनाइ छ ।

पुर्व महासचिव तिवारीले तेस्रो मुलुकबाट आउने र नेपालको सुपारी यहाँ खपत हुने भन्दाबढी अन्ततः भारत नै जाने बताए । नेपालको सुपारी भन्सार काटेर जान अहिले रोकटोक नभएको उनले दावी गरे । उनका अनुसार हाम्रो संस्था मात्र होइन, नेपालका अन्य सुपारी खेती सम्बन्धिका संस्थाले अनुमति पाए अनुसार लान सक्छ, कानुनले रोकेको छैन । तर, भारतका केही व्यापारीका कारण नेपाली सुपारी भारत आवतजावतमा सहज नभएको तिवारीले बताए । नेपाल र तेस्रो मुलुकबाट आएका सुपारी भारतको बनारस र कानपुर पुग्ने गरेको छ । तिवारीका अनुसार भारतले सुपारीमा भन्सार बढाएर आयातलाई कन्ट्रोल गर भनेर नेपाली सुपारी रोक्न खोजेकै हो । यसमा नेपाल र भारतका व्यापारीको मिलोमत्तो रहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी जितेन्द्रकुमार वस्नेतका अनुसार सुपारी नाकाबाट विगत भन्दा कम नै जान्छ । खुल्ला सीमाका कारण शुन्यमा नै झार्न सकिदैन । तर, पहिलाको भन्दा अहिले सीमामा कडाई गरिएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *