Sajhamanch Archive

मिनी म्याराथुनमा राई र गिरी प्रथम

Published: (Updated: ) in खेलकुद by .

भद्रपुर। प्रथम भद्रपुर दौडको उपाधी भद्रपुर २ की सुस्मिता राई तथा भद्रपुर १० का शरण गिरीले प्रथम स्थानका साथ नगद २५ हजार प्राप्त गर्न सफल भएका छन् ।

सुस्त स्वरूपमा पुगेको ऐतिहासिक नगर भद्रपुरको चलायमान रूप स्थापित गर्ने लक्ष्य लिएर भद्रपुर ८ नम्बर वडाले आयोजना गरेको मिनी म्याराथुन प्रतियोगिता महिला तर्फ सुस्मिता तथा पुरुष तर्फ शरणले जित्न सफल भएका हुन् । प्रतियोगितामा महिला तर्फ दोस्रो स्थान भद्रपुर १ की आरजु भट्टराई तथा पुरुष तर्फ भद्रपुर १ कै सुमन सोरेनले लिन सफल भए ।

दुवै प्रतियोगिलाई नगद १५ हजारले पुरस्कृत गरिएको थियो । त्यस्तै महिलाबाट तेस्रो स्थान भद्रपुर ४ की सविता टुडुले प्राप्त गरिन भने पुरुषबाट भद्रपुर ७ का रुपेश राईले जित्न सफल भए । विजेता दुवै जनालाई नगद १० हजारले सम्मान गरिएको छ । महिला तर्फ चौथो स्थान भद्रपुर २ की रिता गिरी तथा पुरुष तर्फ भद्रपुर ४ का मेघराज राईले प्राप्त गर्न सफल भए । विजेता दुवैलाई नगद ३ हजारले सम्मान गरिएको थियो भने पाचौं स्थान महिलाबाट भद्रपुर ८ की नितिशा तामाङ तथा पुरुषबाट रिशु राईले प्राप्त गरेका छन् । विजेता दुवैलाई नगद २ हजारले पुरस्कृत गरिएको थियो ।
विभिन्न व्यक्ति, संघ संस्था शुभचिन्तक लगायतको आर्थिक सहयोगमा विजयादशमीको अवसरमा सवै जात, धर्म, वर्ग र समुदायको साझा कार्यक्रमका रूपमा नगर स्तरीय भद्रपुर दौडको अवधारणा वडाध्यक्ष गौरव सुब्बा मनोजले भद्रपुरलाई देश विदेश चिनाउने चलायमान स्वरूप दिएको भन्दै वडाबासीको बाक्लो सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । वडाध्यक्षले राज्य कोष नचाइ पनि ३ लाख ५० हजार खर्च सहजै जुटाएर दीर्घकालिन कार्यक्रमको अवधारणा ल्याएका हुन् ।

सामाजिक विकृति, विसँगति र बढ्दो महिला हिंसा विरुद्ध खेलकुदको माध्यमबाट जनचेतना जगाउने सामाजिक अभियान रहने सो प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार, दोश्रो १५ हजार तेस्रो १० हजार र सान्त्वना ३ हजार र २ हजारका दरले वितरण गरिएको छ । महिला र पुरुष समूह बीच फरक फरक प्रतिष्पर्धा गराइ पुरुष ६.७ किमी र महिला ३ किमी दुरीमा दौड सम्पन्न भएको छ हो ।

कार्यक्रमा ९३ वर्षीय सामाजिक अगुवा व्यक्तित्व केशवसिंह राईले शान्तिका दुत परेवा उडाएर रिवन काटी खेल उद्घाटन गरेका थिए । वडाध्यक्ष गौरव सुब्बा मनोजको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी डम्बर लिम्बू, बक्सिङका राष्ट्रि खेलाडी सुरेन्द्र राई र सगरमाथा आरोही अनिश लुईटेललाई नगद ५ हजार सहित प्रसंशा पत्रले सम्मान गरिएको थियो । सो प्रतियोगितामा नगरका १० वटै वडा, २५ विद्यालय, ५६ संघ संस्थाबाट ३ सय ५० महिला तथा ६ सय १४ पुरुष गरी ९ सय ६४ जनाले प्रतिष्पर्धा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *