Sajhamanch Archive

बिर्तामोड खानेपानीको चुनावः सहमतिमा नेतृत्व चयन अहिलेको उत्तम विकल्प

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by .

बिर्तामोडमा फेरि चुनावी रन्को सुरु भएको छ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा आठौं कार्यकालको नयाँ नेतृत्व चयनका लागि यही जेठ १५ गते निर्वाचन हुन लागेको हो । सो प्रयोजनका लागि गठित निर्वाचन समितिले जेठ २ गते निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार जेठ ५ गते मतदाता नामावली प्रकाशन हुनेछ भने जेठ ७ गते उम्मेदवारी मनोनयन दर्ताका लागि समय तालिका बनाइएको छ । निर्वाचनबाट ४ जना पदाधिकारी र ५ जना सदस्य चयन हुनेछन् ।

नगर क्षेत्रको मिनी चुनावकै रुपमा लिइने खानेपानी, वाणिज्य संघ, रेडक्रसजस्ता सामाजिक–व्यवसायिक क्षेत्रको चुनावमा विगतदेखि नै पूरै राजनीतिक फ्लेवर आउने गरेको छ । २०४६ सालको राजनीतिक परिवर्तन पछिका सबैजसो चुनावमा प्रत्यक्षरुपमै दलीय प्रतिष्पर्धा देखिँदै आएको हो । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनमा पनि यही क्रम दोहोरिने पक्का छ ।

            गोपाल काफ्ले

केही राजनीतिक दलहरु खानेपानीमा यो पटक सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गरिनुपर्ने धारणा राख्दछन् । आर्थिक मन्दीले गाँजेको वर्तमान परिवेशमा चुनावमा प्रतिष्पर्धा गर्दा हुने खर्चलाई जोगाउन र उपभोक्ताहरुलाई सामुहिक एकताको भावना जागृत गराउन पनि यो पटक खानेपानी उपभोक्ता समितिको निर्वाचन उपयुक्त छैन भन्ने उनीहरुको तर्क छ । नेकपा एमालेले बोलाएको एउटा बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका स्थानीय नेतृत्वहरुको धारणा सर्वसम्मत गर्नमा एकमत थियो ।

खानेपानी उपभोक्ता समितिमा अहिलेसम्म नेपाली कांग्रेसको हालीमुहाली छ । स्थापनाकालदेखि अहिलेसम्मको समितिमा कांग्रेसका प्रतिनिधिहरुको संख्या धेरै छ र नेतृत्व पनि सोही दलले गरिरहेको छ । माथि उल्लेखित दलहरुले छलफलमा बोलाउँदा सो पाटीका    जिम्मेवार नेताहरु नै यो वा त्यो बहाना बनाएर, एकले अर्को नेताले जिम्मा लिनु भएको भनी पन्छाएर भेट्न नचाहिरहेको बताइएको थियो । यसबाट नेपाली कांग्रेस सहमतीय नेतृत्व चयनको पक्षमा नरहेको विश्लेषण छ ।

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधानमा नै अध्यक्ष बन्न कम्तीमा एक कार्यकाल संस्थाको पदाधिकारी वा सदस्य रहेको हुनुपर्ने उल्लेख छ । यस आधारमा आसन्न समितिको नेतृत्व नेपाली कांग्रेस वा राप्रपाका उम्मेदवारले गर्नुपर्ने हुन्छ । तर सहमतीय दृष्टिले सबै उपभोक्ताहरुको हितमा हुनेगरी स्थानीय क्रियाशील राजनीतिक शक्तिहरुबीचको एकता नै अन्तिम प्रयास हुनुपर्ने एमालेका जिम्मेवार नेताहरुको धारण छ ।

भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर समितिको बैठकबाट विधानतः उम्मेदवारी दिन पाइने जति सबै पदमा आफ्ना उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । यो निर्णयबाट पनि सर्वसम्मत नेतृत्व चयनमा पक्कै बाधा उत्पन्न होला । तर अहिले नेतृत्व गरिरहेको राजनीतिक शक्तिले नै सर्वदलीय सहमति गरेर निर्वाचनमा नजाने गरी सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेमा आफ्नो पार्टी वाधक नबन्ने अध्यक्ष शम्भु भण्डारी सुनाउँछन् ।

अर्कोतिर पहिचानवादीको नारा लगाइरहेका जनता समाजवादी पार्टीलगायतका केही दलहरु प्रदेश १ को नामाकरणमा ‘कोशी प्रदेश’ राख्ने एमाले, काँग्रेस र माओवादी केन्द्रसँग मिलेर चुनाव लड्न नैतिकताले नदिने तर्क गरिरहेको अवस्था छ । यस्तो नाराले खानेपानी संस्थामा विगतमा झै यो पटक पनि चुनाव नै आकर्षित गरिरहेको देखिन्छ ।

को को बन्दैछन् अध्यक्षको उम्मेदवार

प्रकाशित सूचना अनुसार जेठ ७ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ । सोभन्दा २–३ दिन अघि नै राजनीतिक दलहरुले आफ्ना उम्मेदवारहरुको नाम घोषणा गर्ने गरेको पाइन्छ । तर पनि सम्भावित उम्मेदवारहरुबारे अलिकति चर्चा गर्नु सान्दर्भिक होला । जुनसुकै संस्थाको चुनावमा पनि अध्यक्षको उम्मेदवार को हो भन्ने कुरालाई बढी महत्व दिएर चर्चा गरेको पाइन्छ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यो चुनावमा पनि कांग्रेसबाट कसलाई अध्यक्षको उम्मेदवार बनाउँछन् भन्नेमा धेरैको चासो छ ।

संस्थाको विधानमा अध्यक्ष बन्नका लागि कम्तीमा एक कार्यकाल कार्यसमिति सदस्यदेखि उपाध्यक्षसम्मको जिम्मेवारीमा रहेर काम गरेको हुनुपर्ने उल्लेख छ । यसर्थ विधानतः केही पदाधिकारी र सदस्यहरु जो कांग्रेस पार्टीमा आवद्ध छन्, उनीहरु उम्मेदवार बन्न सक्तछन् । आजसम्म उम्मेदवारको अन्तिम टुंगोमा नपुगे पनि वर्तमान सचिव मेघराज बाँस्तोला अध्यक्षका प्रवल दावेदार हुन् । यद्यपी उनको शालिनता र सरल ब्यवहार नरुचाउने पार्टी नेतृत्वकै केहीले बाँस्तोलालाई रोक्ने प्रयास गरिरहेको गाइँगुई छ । नेतृत्वले विकल्प दिन नसक्ता बाँस्तोला नै उम्मेदवार बन्नेछन् ।

यसैगरी राप्रपाको प्रतिनिधित्व गरिरहेका वर्तमान कोषाध्यक्ष शारदा रिजाल र सदस्य सिता काफ्ले पनि अध्यक्षको उम्मेदवार बन्नसक्ने वैधानिक व्यवस्था छ । तर अहिलेसम्म अध्यक्ष नै बन्ने गरी सो पार्टीबाट अरु दलहरुसँग छलफल भएको पाइन्न । बरु संस्थाको वर्तमान गठबन्धन र पदहरुमा नै दोहोर्याउन सो पार्टीलाई ‘अफर आएको’ले भित्री तयारी गरिरहेको पाइएको छ । अरु दलहरुसँग मिलेर चुनावमा जाँदा पाइरहेको पदहरु पनि गुम्ने भयले राप्रपा पुरानै गठबन्धनमा कायम रहने संकेतहरु प्रसस्त छन् । यद्यपी निर्वाचन प्रक्रियाबाट नभई सर्वसम्मत नेतृत्व चयन आजको आवश्यकता भएको नगर अध्यक्ष रञ्जु प्याकुरेल बताउँछिन् ।

नेकपा एमालेबाट विधानतः उम्मेदवार बन्न योग्य रहेकी पवित्रा निरौला खरेल मुलुकको प्रतिनिधिसभाको सदस्य बनिसकेको अवस्थामा खानेपानीको अध्यक्षका लागि उम्मेदवार बन्ने सम्भावना देखिँदैन । तर आवश्यकता परेको बेला जुनसुकै जिम्मेवारी लिने कसम खाएका राजनीतिक कार्यकर्तालाई पूर्व माननीय पदले नरोक्ने बताइन्छ । यसरी हेर्दा अध्यक्ष पदमा उम्मेदवारी दिन सो संस्थाको विधानले योग्य ठहर गरेका सिमित व्यक्तिहरुमात्रै छन् ।

सामाजिक संघ–संस्थामा नेतृत्व चयन प्रक्रिया चुनावी प्रतिष्पर्धाको साटो सर्वसहमति नै उचित हुनेमा दुईमत छैन । अझ अहिलेको आर्थिक मन्दीले पनि सकेसम्म मिलेर जान उपयुक्त हुने देखिन्छ । तर कसैले दम्भ, घमण्ड र स्वार्थ नछाड्दा हुने खुल्ला प्रतिष्पर्धाहरुमा खहरेहरु पसेर नबडार्लान् ! यो पनि त बेर छैन । अबको केही वर्षहरु दलीय सहमतिबाट सामाजिक क्षेत्रको नेतृत्व चयनमा ध्यान दिनु नै हितकर हुनेछ । सहमतिमा नेतृत्व चयन अहिलेको उत्तम विकल्प हो । अस्तु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *