Sajhamanch Archive

नेपाल मै बन्दैछ, विश्वकै दोस्रो अग्लो बन्जी जम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पर्वत । लगानीकर्ताहरुले विश्वकै दोस्रो अग्लो बन्जी जम्प स्थल भनी दावी गरेको पर्वतमा निर्माणाधीन बञ्जी जम्प स्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अहिलेसम्म करिब ८० प्रतिशत काम सकिएको र तीन महिनाभित्र निर्माण पूरा हुने बताएको छ।

प्यारामाउन्टका कम्पनीका मनोजकुमार चौधरीका अनुसार अहिले पहिलो चरणमा लेडर स्टेप निर्माणको काम दुई महिनामा सकिने छ। त्यसपछि एक महिनामा बञ्जीका लागि आवश्यक स्टीलका कामहरु हुनेछन। ‘अहिलेसम्मको काम अनुसार ८० प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘निरन्तर काम गर्न पायौँ भने तीन महिनामा काम सकेर निर्मातालाई जिम्मा लगाउन सकिन्छ।’ ५२० मिटर लामो र २२८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुलसहित कालीगण्डकीको खोंचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी बनाइएको पुलमा बन्ने यो बन्जी मुलुककै अन्य बन्जी स्पटमध्ये नमुना मानिएको छ।

२०७३ बैशाखमा निर्माण सुरु भएको बञ्जी जम्पसँगै पर्यटकहरुलाई थप आकर्षणका लागि स्काइ साइक्लिङ, स्वीङ र रिसोर्ट समेत सञ्चालनको तयारी भैरहेको छ। कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी, सिन्धुपाल्चोकका राजु कार्की, फ्रेन्च नागरिक फ्लोरेन्स र प्रभु बैंकको लगानीमा बञ्जी जम्प निर्माण भैरहेको हो। लगानीकर्तामध्ये नेत्र पराजुलीका अनुसार यसका लागि अहिलेसम्म झण्डै १२ करोड रुपैयाँ लगानी भएको छ भने पाँच करोड रुपैयाँ प्रभु बैंकले लगानी गरेको छ।

बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा रिसोर्ट संचालनको लागि संरचना निर्माण काम भैरहेको छ। तीन ओटा नेपालकै अग्लो र लामा् झोलुङ्गे पुल र केबलकार मोडलको यान्त्रिक पुलका कारण पर्यटकहरुको आकर्षण बढ्दै गएको पर्वतमा बञ्जी जम्पले झनै आकर्षण बढाउने र पर्यटकीय जिल्लाको रुपमा चिनाउन सकिने अर्का लगानीकर्ता युवराज जोशीले बताए। उनका अनुसार बञ्जी, स्काई साइक्लिङ र स्वीङमा मात्रै वर्षमा कम्तीमा पनि पचास हजारभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *