Sajhamanch Archive

बहुभाषिक आइडल–२०८०ः ८ वर्षदेखि ७८ वर्षसम्का प्रतिस्पर्धी एउटै मञ्चमा

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, समाज, साहित्य by .

झापा । बहुभाषिक साहित्य संगीत कला केन्द्र, झापाले कोशी प्रदेश सरकार र झापाका सबै पालिकासँगको सहकार्यमा बहुभाषिक आइडल–२०८० शनिबार सम्पन्न गरेको छ ।

बहुभाषिक साहित्य संगीत कला केन्द्रका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति, गायक तथा संगीतकार शम्भु राईको प्रमुख आतिथ्यमा बहुभाषिक आइडल–२०८० सम्पन्न गरिएको हो ।

आइडलमा जिल्लाभरबाट सहभागी प्रतिष्पर्धीहरुमध्ये क्वाटर फाइनलमा ४२ जना, सेमिफाइनलमा २४ जना र फाइनलमा ११ जना प्रतिष्पर्धीहरू पुगेका थिए । फाइनल राउण्डका प्रतिस्पर्धीहरू मध्ये गौरादहका दिज्ञान श्रेष्ठ प्रथम र मेचीनगरका विराज प्रसाईं द्वितीय भए ।

यस्तै, शिवसताक्षीका सानाहाङ्ग लिम्बू तृतीय, बिर्तामोडका अनोज भारती चौथो र अर्जुनधाराका संजीव भुर्तेलले सान्तवना पुरस्कार पाएका आयोजक संस्थाका महासचिव डा. कुमार सुवेदीले जनाएका छन् । आइडलका विभिन्न राउन्डहरूमा ८ वर्षदेखि ७८ वर्षसम्म उमेरका २८ भाषाभाषीले प्रतिष्पर्धा गरेका थिए ।

फाइनल स्पर्धाको निर्णायकहरुमा गायक तथा संगीतकार कोमल निरौला, गायक टंक प्रधान तथा गायिका पवित्रा ओली थिए । यस्तै, गणेश धिमाल, रचना लाओती, पुनम राजवंशी, देवीभक्त श्रेष्ठ र लिला मगरले जुरीको जिम्मेवारी सम्हालेका थिए ।

सोही कार्यक्रममा बहुभाषिक कविता संग्रहको पनि विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शम्भु राईले उक्त कविता संग्रहको विमोचन गरिदिएका हुन् । कविता संग्रहको प्रधान सम्पादक कुमार सुवेदी रहेका थिए । बहुभाषिक आइडल र बहुभाषिक कविता संग्रहको प्रकाशन नेपाल मै पहिलो पटक भएको डा. सुवेदीको दावी छ ।

आयोजक संस्थाका महासचिव डा. कुमार सुवेदी र सदस्य कृति राईले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाको परिचय, कार्यक्रमको औचित्य तथा संस्थाका भावी योजनाका बारेमा अध्यक्ष प्राज्ञ हरिप्रसाद पौडेलले प्रष्ट पारेका थिए । कार्यक्रममा आमन्त्रित पाहुना तथा सहभागीहरुलाई सहसचिव गीता भट्टराई तिवारीले शाब्दिक स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *