Sajhamanch Archive

‘९० प्रतिशत चलचित्र पेस्तोल देखाएर हेर्न लगाए जस्तो लाग्छ’ चलचित्रमा : मेरूदण्डै छैन

Published: (Updated: ) in टिप्स/जानकारी by .

 एउटा चलचित्र निर्माणका लागि कति बजेट आवश्यक पर्छ भन्ने कुरा चलचित्रको स्क्रिप्ट, कथाले मागेको लोकेसन, कलाकार र प्रविधिले निर्धारण गर्छ । नेपालमा मात्रै होइन, हलिउड होस् या बलिउड जुनसुकै चलचित्र उद्योगमा चलचित्रको बजेट निर्धारण गर्ने मुख्य पक्ष यिनै हुन् । बाँकी साहायक पक्ष हुन् ।

नेपालमा व्यावसायिक चलचि निर्माणका लागि डेढदेखि दुई करोड रुपैयाँ लाग्ने गरेको चलचित्रकर्मीहरु बताउन थालेका छन् । केही चलचित्रले आफ्नो लगानी चार–पाँच करोड भनेर पनि दाबी गर्न थालिसकेका छन् ।

“अहिले नेपालमा सामान्य चलचित्र निर्माणका लागि डेढदेखि दुई करोड बजेट खर्च हुन थालेको छ,” लेखक तथा निर्देशक खगेन्द्र लामिछाने भन्छन् । उनको लेखन तथा अभिनय रहेको चलचित्र ‘जय भोले’ अहिले प्रदर्शनरत छ ।

डेढदेखि दुई करोड रुपैयाँ लगानी भए पनि अधिकांश चलचित्रले लगानी उठाउँदैनन् । नेपालमा बर्सेनि दुई सयभन्दा धेरै चलचित्रले निर्माण इजाजत लिन्छन् भने सयको हाराहारीमा रिलिज हुने गरेको चलचित्र विकास बोर्डको तथ्यांक छ ।

रिलिज हुने गरेका मध्ये ९५ प्रतिशत चलचित्रले लगानी उठाउन सकिरहेका छैनन् । चलचित्र घाटामा जानुको मुख्य कारण कथा तथा पटकथामा हुने गरेको कमजोरी रहेको चलचित्र लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरी बताउँछन् । चलचित्रले लगानी उठाउन नसक्नुको मुख्य कारण कथा–पटकथामा रहेको कमजोरी रहेको उनको भनाइ छ ।

“दुःखका साथ भन्नुपर्छ, ९० प्रतिशत सिनेमा हेर्न दुई घण्टा हलमा बस्नु भनेको पेस्तोल देखाएर अपराधीलाई राखेर जबर्जस्ती हेर् भनेजस्तै हो,” गिरी भन्छन्, “पहिला एभरेज सिनेमा त बनाउनुस् । ९० प्रतिशत सिनेमाले टर्चर दिन्छन् । म यो कुरा तपाईंसँग मात्रै होइन, जुनसुकै सार्वजनिक समारोहमा पनि भन्न सक्छु । साथीले सिनेमा बनाउनु हुन्छ, हेर्न हलमा हेर्न गयो, दुई घण्टासम्म सिनेमा नै हेर्न गएजस्तो लाग्छ । जबसम्म सिनेमा हेरे जस्तो नलाग्ने बन्दैन, त्यो बेलासम्म हामी सफल हुँदैनौं ।”

टर्चर दिने चलचित्र बनाएर दर्शकले नेपाली सिनेमालाई माया गरेनन् भन्नुको अर्थ नरहेको उनी बताउँछन् । दीपकराजको लेखन तथा अभिनय रहेको चलचित्र ‘छक्का पञ्जा–३’ अहिले प्रदर्शन भइरहेको छ ।
अर्का निर्देशक तथा कलाकार अशोक शर्मा नेपाली बजारअनुसार चलचित्रको संख्या धेरै भएको जिकिर गर्छन् । आवश्यकताभन्दा धेरै चलचित्र निर्माण तथा रिलिज भइरहेको उनको तर्क छ ।

“पहिलो समस्या डिमान्डभन्दा सप्लाई धेरै भयो । नेपाली चलचित्र उद्योग वर्षको सय वटा चलचित्र चाहिने उद्योग होइन । दुई हप्ताको एउटा चलचित्र चल्यो भने २६ वटा चलचित्र भए पुग्छ । त्यसमा पनि कुनै चलचित्र दुई हप्ता चल्लान्, कुनै–कुनै त एक हप्ता पनि नजाला,” अशोक भन्छन्, “त्यसैले हामीलाई वर्षको ३० वटा चलचित्र भए पुग्छ । यसो भएको खण्डमा मेकर पनि गुणस्तरीय चलचित्र निर्माणमा केन्द्रित हुन्छ । बिजनेसमा सहयोग पुग्छ ।” सिनेमा कमसल हुनु चलचित्र लगातार घाटामा जानुको अर्को कारण रहेको उनको ठहर छ ।

नेपाली चलचित्रको आन्तरिक बजार बढाउनु र अन्तर्राष्ट्रिय क्षेत्रमा बजार खोज्ने कार्य सँगसँगै लैजानुपर्नेमा अभिनेता तथा लेखक खगेन्द्र बताउँछन् । “कलाकार, निर्माता तथा प्राविधिक आर्थिक रुपमा बाँच्न नेपालीले मन पराउने व्यावसायिक चलचित्र पनि बनाएर नेपालमा चलाउनु पर्छ,” खगेन्द्र भन्छन्, “नेपाली चलचित्रको विदेशमा बजार खोज्न र स्थापित गर्दै लैजान अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा अप्रोच गर्ने खालका चलचित्र निर्माण पनि सँगसँगै गर्दै जानुपर्छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *