Sajhamanch Archive

मोटरसाइकल दर्ता अब प्रदेशअनुसार, पहिले नाम अनि नम्बर 

Published: in प्रदेश तह by .

काठमाडौं । मोटरसाइकलको दर्ता अब प्रदेशअनुसार गरिने भएको छ । मोटरसाइकलको लट ९९ सम्म पुगेपछि दर्ता प्रक्रिया रोकिएको थियो । सवारी व्यवस्था नियमावली २०५४ मा दुई अंक अर्थात ९९ लटसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो ।
९९ लट पूरा भएपछि दर्ता प्रक्रिया रोकिएको थियो । मोटरसाइकलमा अब अञ्चल लेखिएको ठाउँमा प्रदेश कायम गरिनेछ ।

असोज १६ गतेदेखि यातायात व्यवस्था विभागले दर्ता प्रक्रिया रोकेको थियो । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशअनुसार दर्ताको बाटो खुलाएपछि अब दर्ता प्रक्रिया सुरु गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
राजपत्रमा प्रकाशित भएपछि अब दर्ता सुरु गरिने विभागले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका मोटरसाइकल दर्ता शाखाका प्रमुख गणेश अर्यालका अनुसार अब प्रदेशअनुसार मोटरसाइकल दर्ता प्रक्रिया सुरु हुनेछ । उनका अनुसार पहिले प्रदेशको नाम अथवा कोड, त्यसपछि दर्ता कार्यालयको कोड, अनि नम्बर राखिनेछ ।

“आजभोलिमै राजपत्रमा प्रकाशित हुने कुरा छ,” उनले बाह्रखरीसँग भने,“त्यसपछि दर्ता प्रक्रिया सुरु हुनेछ ।” नेपालमा अहिलेसम्म सवारी दर्ता अञ्चलअनुसार हुँदै आएको थियो । बागमतीमा ९ लाख ७० हजार मोटरसाइकल दर्ता भएपछि रोकिएको थियो ।
दैनिक पाँचसय जति मोटरसाइकल दर्ताका लागि आउने गरेको विभागको भनाई छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *