Sajhamanch Archive

समुद्री आँधीका कारण हवाईको एउटा टापु नै गायब !

Published: in राष्ट्रिय समाचार, by .

समुद्री आँधीका कारण हवाईको पूर्वी टापु नक्साबाट हराएको छ । होनोलुलुबाट ५ सय ५० माइल उत्तर–पश्चिममा रहेको उक्त टापु पापाहानाउमोकुइकेया मरिन नेसनल मनुमेन्टमा टापुको शृंखलाको एक अंशका रूपमा रहेको थियो ।

तर, केही समयअघि वालाका नामक समुद्री आँधी आएपछि उक्त टापु अहिले डुबेको छ । सो टापुमा मानव बस्ती नभए पनि लोपन्मुख हवाइन ग्रीन सी टर्टल र हवाइन मंङ्क सिलको आश्रयस्थल थियो, जसका कारण अहिले वैज्ञानिकहरू सो टापुको विषयमा निकै चिन्तित छन् ।

बिबिसीका अनुसार हवाइन ग्रीन टर्टलका ९६ प्रतिशत जनसंख्या प्रजननको बेला फ्रेन्च फ्रिगेट सोल्स नामक उक्त टापुहरूको शृंखलामा पुग्ने गरेका थिए ।

मानोआमा रहेको हवाई विश्वविद्यालयका प्राध्यापक चिप फ्लेचरले भनेका छन्, ‘गत जुलाईमा हामी त्यहाँ पुग्दा निकै सावधानीपूर्वक कदम चाल्नुपथ्र्यो । किनभने, त्यहाँ ती कछुवाहरुको गुँड थियो । धन्न समुद्री आँधी आउने समयसम्ममा प्रायः अन्डाबाट बच्चा निस्किसकेको हुनुपर्छ ।’

विश्वमा मात्र १ हजार ४ सयको संख्यामा रहेका हवाइन मङ्क सिल ती टापुमा घाम तापेर आराम गर्दै आएका थिए । फ्लेचरका अनुसार समुद्री आँधीबीच पनि उनीहरूले आफ्नो पूरानो बासस्थान पत्ता लगाउन भने सक्छन् ।

कसरी समुद्रमा डुब्यो टापु ?

ती टापुहरू पुरानो ज्वालामुखीको माथि रहेका बालुवाका थुप्रो भएको बताइएको छ । ‘हाम्रो बुझाइमा ती टापुहरू समुद्र सतहमा आएको कमीका कारण बनेका थिए,’ फ्लेचरले भनेका छन्, ‘अहिले समुद्री सतह वृद्धि भइरहेकाले टापु समुद्रमा डुबेको हो ।’

उनका अनुसार जलवायु परिवर्तनका कारण अहिले टापुहरू डुब्न थालेका हुन् । यस्तो असर अब क्रमशः बढ्दै जानेछ ।

वालाका समुद्री आँधी क्याटागोरी ५ को शक्तिशाली समुद्री आँधी थियो । यस वर्ष प्रशान्त सागरमा आएका थुप्रै शक्तिशाली आँधीमध्ये यसलाई एक ठूलो आँधी मानिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *