Sajhamanch Archive

प्रदेश २मा : ७ संसदीय समिति  बन्ने

Published: (Updated: ) in प्रदेश तह by .

धनुषा । ‘मिनी संसद्’ को भूमिका खेल्ने ७ वटा संसदीय समिति प्रदेश २ ले टुंगो लगाएको छ  । ७ वटा संसदीय समिति र त्यसका रहने सांसदको नाम प्रदेशसभा सचिवालयले टुंगो लगाए पनि समितिको सभापति चयन हुन बाँकी छ  ।

सार्वजनिक लेखा समितिमा १३ सांसद, अर्थ तथा योजना समितिमा १३ सांसद, विकास समितिमा १३ सांसद, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा १४ सांसद, कृषि तथा भूमि व्यवस्थापन समितिमा १३ सांसद र प्रदेश मामिलामा १२ सांसदलाई असोजको अन्तिम साता बसेको प्रदेशसभाको बैठकले चयन गरेको हो ।

प्रदेश २ मा १ सय ७ सांसदमध्ये नेकपा ३२, संघीय समाजवादी फोरम २९, राजपा २५, कांग्रेसको १९, नेपाल संघीय समाजवादी पार्टीको १ र स्वतन्त्र १ सांसद छन् । प्रदेशसभा ७ संसदीय समितिमा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) र नेकपाले २/२ समितिको सभापति र कांग्रेसलाई १ समितिको सभापति बाँडफाँड गर्ने सहमति भएको छ । दलहरूबीच कुन समिति कसले राख्ने भन्ने टुंगो लाग्न बाँकी छ ।

संघीय समाजवादी फोरमले पाउने २ समितिका सभापतिमा सर्लाहीका सांसद अशोक यादव र रौतहटबाट निर्वाचित स्वतन्त्र सांसद शेष अबुल कलाम अजादको नाम चर्चामा छ । रौतहट क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित स्वतन्त्र सांसद अजाद संघीय समाजवादीमा प्रवेश गरिसकेको छ ।

राजपाले पाउने २ संसदीय समतिको सभापतिमा मनीष सुमन, रानी शर्मा तिवारी र जैनुल राइनको नाम चर्चामा छ । एमाले र माओवादी एकीकृत भएर बनेको नेकपामा संसदीय समितिमा तत्कालीन माओवादी र एमालेबाट १/१ जना सभापति तोक्ने सहमति भए पनि दलमा छलफल हुन बाँकी छ । तर, संसदीय दलको नेता र सचेतक नै चयन नभएकाले समितिको सभापतिबारे पार्टीमा छलफल हुन सकेको प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्माले बताए ।

कांग्रेसले एउटा संसदीय समितिको सभापति पाउने सहमति भएको संसदीय दलका नेता रामसरोज यादवले बताए । समितिको सभापतिबारे छलफल हुन नसकेको उनले बताए । संसदीय समितिको सभापतिको चुनावका लागि प्रदेशसभाबाट आव्हान हुनुपर्ने प्रावधान रहेको छ ।

प्रदेशसभा अर्को सूचना नभएसम्मका लागि स्थगित छ । प्रदेशसभा बस्नेबारे कुनै टुंगो लाग्न नसकेको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ । प्रदेशसभामा संसदीय समिति नहँुदा प्रदेश सरकारले ल्याएको ऐन विशेष समितिमा अध्ययन गरी टुंगो लगाउँदै आएको छ ।

स्थानीय तहको कार्य सञ्चालन र कानुन निर्माण विधेयक विशेष समितिमा छलफल र अध्ययनको क्रममा छ । विशेष समितिको बैठक शनिबार विद्येयक अध्ययनका लागि बस्दै छ ।

कान्तिपुर

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *