दशौं तोङ्ग इल मोदो विश्व कपमा भाग लिने नेपाली खेल टोलीलाई विदाई
Published: (Updated: )
by .
भद्रपुर । भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने दशौं तोङ्ग इल मोदो विश्व कपमा भाग लिने नेपाली खेल टोलीलाई आइतबार विदाई गरिएको छ ।
तोङ्ग इल मोदो महासंघले यहि अक्टोबर ३० देखि नोभेम्बर २ तारिखसम्म तल्काटोरा एनडी एमसी इन्डोर स्टेडियममा सञ्चालन गर्ने प्रतियोगिताका खेलाडीलाई विदाई गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले बताए ।
संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्य एवँ समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा उनीहरुलाई शुभकामनासहित विदाई गरिएको थियो ।
झापाबाट विदाई हुने एक नम्बर प्रदेशस्तरीय टोलीका खेलाडीहरुमा झापाका विश्वजित गुरुङ्ग, विश्वास चौधरी, सुनसरीकी पूजा चौधरी, बाँकेका जवहिर शाही, उदयपुरका मौसम पुरी, तेह्रथुमका सन्देश लिम्बू, मोरङ्गका किसन चौधरी र टिम कोचमा अन्र्तराष्ट्रिय प्रशिक्षक प्रकाश श्रेष्ठ छन् ।
नेपालको प्रतिनिधित्व गर्ने कुल ४० सदस्यीय खेल टोलीमा देशभरबाट १८ जिल्लाका खेलाडीले सहभागिता जनाएका छन् भने कैलालीबाट २८ र महोत्तरीबाट ४ जना खेलाडीलाई सोमबार विदाई गरिने तोङ्ग इल मोदो संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका श्रेष्ठले जानकारी दिए ।
दक्षिण कोरियाबाट भित्रिएर विभिन्न देशमा अभ्यास हुँदै आएको सो खेलको नयाँ दिल्लीमा हुने दशौं विश्व कपमा विश्वभरका २६ वटा देशका खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
फिलिपिन्सका अन्र्तराष्ट्रिय प्रशिक्षक लियो सिकारुम्बाले सन् २००५ मा पहिलोपटक नेपालमा सुरुवात गरेको एकीकृत मार्सल आर्टस् अन्र्तगतको सो खेललाई राष्ट्रिय खेलकुद परिषद्ले सन् २०१३ मा संघको मान्यता प्रदान गरेको थियो ।
करिब ३ महिनाअघि काठमाण्डौंको जोरपाटीमा सम्पन्न उक्त खेलको सातौं राष्ट्रिय प्रतियोगितामा झापाली खेल टोलीले ३ स्वर्ण, २ रजत र ४ वटा कास्य पदक हात पारेर दोस्रो स्थान हाँसिल गरेको थियो ।
जिल्ला खेलकुद विकास समिति झापाद्धारा मेची रङ्गशाला भद्रपुरमा आयोजित सो कार्यक्रममा तोङ्ग इल मोदो संघका केन्द्रीय सदस्य राजेन्द्र पन्त, सुनसरी अध्यक्ष रामबहादुर लिम्बू, सल्लाहकार पुस्कर थापा, जिल्ला खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, खेलकुद कर्मचारी संघ झापा अध्यक्ष हेमा थापा, कराते प्रशिक्षक कृष्ण बस्नेत, कुस्ती प्रशिक्षक वेदनिधी भण्डारी, तेक्वान्दो प्रशिक्षक जितेन मेचे, दिपक खवास, खेलप्रेमी युवा गोविन्द गिरीलगायतको आतिथ्यता थियो ।
Comments