Sajhamanch Archive

फस्ट अफ्जल मन्ना मेमोरियल हक्की टुर्नामेन्टमा भाग लिने नेपाली टोलीलाई विदाई

Published: in खेलकुद by .

भद्रपुरल । फस्ट अफ्जल मन्ना मेमोरियल हक्की टुर्नामेन्ट–२०१८ मा भाग लिने झापाली खेल टोलीलाई मंगलबार विदाई गरिएको छ ।

पाकिस्तानको लाहोरस्थित जोहार टाउन हक्की स्टेडियममा यही नोभेम्बर ८ देखि १४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतिष्पर्धा गर्ने झापाली टोलीलाई विदाई गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिले भद्रपुरस्थित मेची रंगशालामा आयोजना गरेको कार्यक्रममा नेपालको राष्ट्रिय टिममा झापाबाट छनौटमा परेका ४ पुरुष, २ जना महिला खेलाडी र टिम कोच विदाई भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले शुभकामनासहित विदाई गरेका थिए ।

झापाबाट टिम कोचमा प्रशिक्षक ज्ञानेन्द्रबहादुर खड्का, खेलाडीहरु पुरुषतर्फ चिरन प्रधान, मनोज चौधरी, सन्तोष बेस्रा र रोशन चौधरी तथा महिलातर्फ सिर्जना तामाङ र सरस्वती तामाङ छिन् ।

पाकिस्तानका हक्की तर्फका राष्ट्रिय खेलाडी मन्नाको स्मृतिमा हुन लागेको प्रतियोगिताका लागि झापाबाट राष्ट्रिय टोलीमा छानिएका नेपाली सेनामा कार्यरत रोशन चौधरी २०७० सालयता त्रिभुवन आर्मी क्लवबाट प्रतियोगिता खेल्दै आएका छन् । उनी झापाको भद्रपुर ९ स्थित पुहाँतुवारी निवासी हुन् ।

५० सदस्यीय नेपाली राष्ट्रिय टोलीमा महिला र पुरुष गरी ४४ जना खेलाडी र ६ जना टिम कोच रहेका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए ।

एशियन हक्की फेडरेशन र पाकिस्तान हक्की फेडरेशनले संयुक्त रुपमा आयोजना गर्ने सो प्रतियोगिताअघि सहभागी खेलाडीहरुलाई एक महिने बन्द प्रशिक्षण गराइने बताइएको छ ।

सो प्रतियोगितामा भाग लिने नेपाली राष्ट्रिय खेल टोली बिहीबार पाकिस्तान प्रस्थान गर्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *