Sajhamanch Archive

तेह्रथुमका २४ वडा सचिवविहीन

Published: in राष्ट्रिय समाचार by .

तेह्रथुम । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ मध्ये २४ वडा सचिवविहीन छन्।

मागबमोजिम सबै नगरपालिका र गाउँपालिकाका प्रत्येक वडामा सचिवको व्यवस्था नभएको हो। जिल्लाको पूर्वी क्षेत्रमा रहेको आठराई गाउँपालिकाका सात वटा वडामा दुई जना मात्र सचिव भएको १, ३, ५ र ७ नम्बर वडाको काम गर्दै आएका सचिव चित्रकुमार भट्टराईले बताए। सचिव अभावले दैनिक कार्यालयको कामका साथै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लगायतका काममा समस्या भएको उनले बताए।

गाउँपालिकाको अन्य दैनिक प्रशासनिक काम पनि कर्मचारी अभावले आफूले हेर्ने गरेको सचिव भट्टराईको भनाई छ। फेदाप गाउँपालिकाको पाँच वटा वडामा तीन जना मात्र सचिव कार्यरत रहेको वडा नम्बर १ र ५ को जिम्मेवारी लिएका वडा सचिव दुर्गाप्रसाद भण्डारीले बताए। पाँच वटा वडा कार्यालयमा तीन जना सचिवले काम गर्नुपर्ने भएका कारण काम गर्न गाह्रो भएको उनले बताएका छन्। १० वटा वडा रहेको म्याङ्लुङ नगरपालिकामा पाँच जना मात्र सचिव भएको र बाँकी पाँच वडामा सचिव खाली रहेको वडा नम्बर ७ का वडासचिव रामप्रसाद भट्टराईले बताए।

संघीय सरकारबाट सचिवको व्यवस्था नहुँदा काम गर्न निकै कठिन भइरहेको उनको गुनासो छ। सचिव नभएका वडामा करारका कर्मचारीमार्फत कार्य सञ्चालन गर्ने गरिएको उनले बताए। मेन्छ्यायेम गाउँपालिकाका ६ वटा वडामा पनि दुई मात्र सचिव रहेको सचिव कृष्ण घिमिरेले बताए। ९ वटा वडा भएको लालीगुराँस नगरपालिकामा पनि हाल दुई मात्र सचिव कार्यरत रहेको वडा नम्बर ८ का सचिव अग्नि खनालले बताए। त्यस्तै छ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै सचिव भएको छथर गाउँपालिकाका ६ वटा वडामध्ये पाँच वडामा सचिव कार्यरत रहेको गाउँपालिकाका कर्मचारी गुणराज बानियाँले बताए। वडा कार्यालय सचिवविहीन हुँदा नागरिकता सिफारिस, जन्म, मृत्यु तथा बसाईसराई दर्ता, वृद्धभत्ता वितरण लगायत कार्यमा समस्या भएको छ।

केही वडामा वडाध्यक्षबाटै कार्य सम्पादन भइरहेको छ भने कतिपय वडाहरू त कार्यालय सहयोगीकै भरमा चलेका छन्। सचिव व्यवस्थापनका लागि पटकपटक प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दा समाधान नभएपछि हाल भएका सचिवहरूबाट काम चलाइएको पालिकाका प्रमुखहरूको भनाइ छ। तेह्रथुमका साविक ३२ वटा गाविसमा १८ जना मात्र सचिव रहेको यस जिल्लामा पछिल्लो समय ४३ वडामा विभाजन भए पनि जम्मा १९ जना मात्र सचिव कार्यरत छन्। राज्य संघीय संरचनामा सञ्चालित भइरहँदा जिल्ला तथा देशभरकै स्थानीय तहका विभिन्न वडाहरू सचिवविहीन छन्। यसका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *