Sajhamanch Archive

तीन राप्रपा एकता प्रयास : एकताको प्रतीक राजसंस्था राख्न सहमत

Published: in राजनीति by .

काठमाडौं  ।  प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यअनुसार विगतमा जुट्दै र फुट्दै आएका तीनवटा राप्रपा पुनः एकीकरण हुने भएका छन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको हो ।
यी तीन पार्टी एकीकरण भएको एक वर्ष दिन नबित्दै गत निर्वाचनका बेला फुटेर तीन टुक्रा भएका थिए ।

पछिल्लो समय थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पार्टी एकताका लागि वार्ता समिति गठन गरे पनि राप्रपाले केन्द्रीय कार्यसमिति भङ्ग गरेसँगै राप्रपाको वार्ता समिति पनि भङ्ग भएको थियो । उता प्रजातान्त्रिकतर्फको वार्ता समिति पनि निष्क्रिय जस्तै भएको थियो ।

दुवै पार्टीका वार्ता समितिले एकीकरणका लागि गृहकार्य गरिरहेकै बेला राप्रपाको केन्द्रीय समिति र वार्ता समिति भङ्ग भएपछि पार्टी एकताका लागि अध्यक्ष कमल थापा, प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राष्ट्रवादीका डा. प्रकाशचन्द्र लोहनीबीच पटक पटक छलफल भएको नेताहरूले बताएका छन् । ‘ती छलफलमा अर्को महाधिवेशनसम्म दुई वा तीन अध्यक्ष राख्ने भन्नेमा छलफल भए पनि सहमति भने भइसकेको छैन ।

सम्भवत तीनै अध्यक्ष राखेर एकता गरिन्छ’, तीनमध्येका एक अध्यक्षले रातोपाटीलाई भने, ‘तीनै पार्टी एकता गरेर प्रजातान्त्रिक राष्ट्रवादी शक्ति बनाउनेमा दुई मत छैन र एकताको प्रतीकका रूपमा संवैधानिक राजतन्त्र राख्नेबारेमा पनि मतभिन्नता छैन । अबको हाम्रो एकता नेकपाको मोडलमा नै हुन्छ । त्यसका लागि केही समय भने लाग्न सक्छ ।’

एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन पार्टी एकताका लागि भएका वार्ता र छलफल सकारात्मक भएको बताए । उनले रातोपाटीसँग भने, ‘पटक पटक एकताका लागि अध्यक्षकै तहमा वार्ता भएका छन् । ती वार्ता निकै सकारात्मक छन् । यसअघिका वार्ताका आधारमा सहमतिको विन्दु पहिल्याउन तीनै नेता सहमत छौँ’ डा. लोहनीले भने । उनका अनुसार लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेका भनिएका प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा पनि संवैधानिक राजतन्त्र स्वीकार गर्न तयार भएका छन् । ‘उहाँ पनि एकताको प्रतीकका रूपमा राजसंस्था राख्न सहमत भइसक्नुभएको छ । अब त्यसमा कुनै विवाद छैन’, डा. लोहनीको दाबी छ ।

राप्रपाका नेता मोहन श्रेष्ठले अध्यक्षकै तहमा एकताबारे छलफल भइरहेको आफूले पनि सुनेको भन्दै एकताको विकल्प नभएको बताए । ‘अध्यक्षकै तहमा छलफल भएकाले यस पटक एकता प्रक्रिया निर्णयमा पुग्छ भन्नेमा आशा गर्न सकिन्छ ‘यसअघि राप्रपाको सहप्रवक्तासमेत रहेका श्रेष्ठले रातोपाटीलाई बताए ।

‘तीनवटै पार्टी एकीकरण गरेर अघि बढ्न लगभग सहमति भइसकेको भन्ने मैले पनि सुनेको छु । तर त्यो कुरा हाम्रो तहमा आइसकेको छैन । सायद छिटै पार्टीमा छलफल होला’, राप्रपा प्रजातान्त्रिकका नेता सुनिल थापाले बताए । उनका अनुसार केही प्राविधिक विषयमा सहमति जुटाएपछि पार्टी तहमा छलफल गर्नेगरी कुरा भइरहेको आफूले पनि सुनेको बताए ।

नेताहरूका अनुसार एकता गर्दा गत महाधिवेशनको दस्तावेजका आधारमा नै पार्टी एकता गरिने छ । तत्कालीन एकता महाधिवेशनमा राप्रपाले संवैधानिक राजसंस्थालाई आफ्नो मूल सिद्धान्तका रूपमा स्वीकार गरेको थियो ।

निर्वाचनको मुखमा फुटेर तीन टुक्रा भएका यी पार्टीहरूमध्ये कमल थापाको पार्टीले देशभरबाट जम्मा एक सिट मात्र जितेको थियो भने राणा र लोहनीको पार्टीले एक सिट पनि जित्न सकेनन् ।  ‘पार्टी फुटको पीडा र र असर निर्वाचनमा देखिइसकेको छ । अब वैकल्पिक शक्तिका रूपमा तीनवटै पार्टी एक भएर अघि बढ्नुको विकल्प छैन । त्यसैले जतिसक्दो चाँडो पार्टी एकता गर्नुपर्छ’, राप्रपाका तत्कालीन उपाध्यक्ष सो पार्टीका तर्फबाट गठित तत्कालीन वार्ता समितिका संयोजक बुद्धिमान तामाङले बताए ।

तत्कालीन सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा विवाद भएपछि नेता पशुपतिशमशेर राणाले गत वर्षको २२ साउनमा केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्य पुर्याएर पार्टी फुटाएका थिए भने लोहनीले छुट्टै पार्टी गठन गरेका थिए ।

तीनवटै राप्रपाको नीति र सिद्धान्त मिल्दोजुल्दो छ । कमल थापा नेतृत्वको राप्रपाले संवैधानिक राजसंस्था र हिन्दु राज्यलाई आफ्नो मूल सिद्धान्त बनाएको छ भने लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीको सिद्धान्त पनि त्यही छ ।

उता राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले संवैधानिक राजतन्त्र नभने पनि परम्परागत शक्ति भनेर राजसंस्था आवाश्यक छ भनेर सङ्केत गर्दै आएको छ । ‘सबैको विचार मिल्दोजुल्दो भएकाले पार्टी एकीकरण गर्दा सैद्धान्तिक रूपमा राजासहितको प्रजातन्त्रमै सहमति हुनसक्छ, किनकि काङ्ग्रेस या अरू कुनै शक्तिसँग मिल्नुभन्दा पनि राजासहितको लोकतन्त्रको पक्षमा सहमति भए वैकल्पिक तेस्रो शक्तिका रूपमा एकीकृत राप्रपालाई लैजान सकिन्छ भन्नेमा खासै मतभेद छैन,’ एकीकृत राष्ट्रवादीका नेता लोहनीले बताए ।

रातोपाटी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *