Sajhamanch Archive

कांग्रेस केन्द्रीय समिति बैठक भोलि, महासमिति अझै अनिश्चित

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । नेपाली कांग्रेसको भोलि (मंगलबार) बस्ने केन्द्रीय कार्यसमिति बैठकमा विधानको मस्यौदा पेश हुने–नहुने अन्योल देखिएको छ । केन्द्रीय विधान संशोधन मस्यौदा समिति अन्तर्गतको मस्यौदा लेखन उपसमितिले सहमतिमा तयार पारेको मस्यौदामा मस्यौदा समितिमा छलफल हुन बाँकी नै रहेकाले केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने–नहुनेमा अन्योल देखिएको हो ।

सोमबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय विधान संशोधन मस्यौदा समितिको बैठकमा विधानको मस्यौदामा फरक मत आए मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा पेश नहुने निश्चितप्रायः छ । ‘‘आज (सोमबार) १ बजे बस्ने मस्यौदा समितिको बैठकमा सहमति भए भोलि (मंगलबार) केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्छौं,’’ मस्यौदा लेखन उपसमितिका सदस्यसमेत रहेका केन्द्रीय विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले भने, ‘‘फरक मत भए महासमितिको बैठक अहिले नै बस्ने सम्भावना न्यून रहेकाले सहमति जुटाउनका लागि केही दिन रोकिन सक्छ ।’’

गत भदौ ९ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिकोे बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । तर तयारी नपुगेका कारण महासमिति बैठक पछाडि धकेलिने कांग्रेसका नेताहरु बताउँदै आएका छन् । कात्तिक १६ गते आयोजित चियापान समारोहमा कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा महासमिति बैठक सर्ने बताएका थिए ।

महासमिति सर्ने सम्भावना अहिलेसम्म छैन : मुख्यसचिव पौडेल 
कांग्रेसका महामन्त्री डा. कोइराला लगायतका नेताहरुले आगामी मंसिर ५–९ का लागि बोलाइएको महासमिति बैठक सर्ने बताइरहँदा कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने सर्ने सम्भावना अहिलेसम्म नभएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट लगातार विधानको मस्यौदामाथि छलफल गरेर कात्तिक २७ गतेसम्म विधान पारित गर्न सके महासमिति बैठक नसर्ने उनको भनाइ छ ।

‘‘विधानको ड्राफ्टमाथि भोलिबाट लगातार २७ गतेसम्म छलफल गरेर विधान फाइनल गरे महासमिति सर्दैन र सर्ने सम्भावना अहिलेसम्म छैन,’’ मुख्यसचिव पौडेलले बाह्रखरीसँग भने, ‘‘विधान फाइनल गर्न केन्द्रीय समितिमा ८–१० दिनै लाग्ने भो भने पनि महासमिति सर्ने–नसर्ने बारेमा भोलिको बैठकले तय गर्छ ।’’

यी हुन् मंगलबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा  
१) विधान संशोधन मस्यौदा समितिले पेश गर्ने विधानको मस्यौदा सम्बन्धमा ।
२) लेखा परिक्षण समिति गठनसम्बन्धमा ।
३) तत्कालिन नेपाल लोकतान्त्रिक फोरमसँगको एकीककरणका बेला भएको सहमति सम्बन्धमा ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *