Sajhamanch Archive

एसएसपी लामाको हिरासतमा यी व्यक्तिको मृत्यु, तिहारको बेला घरमा रुवाबासी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ।

आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ। कार्की प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन्।

मृतकका दाई शेरबहादुर ढुंगानाले घरमै बसिरहेका बेलामा कार्की आएर जाऊँ भनी भार्इलाई मोटरसाइकलमा हालेर लगेको बताए ।

भार्इलाई लिएर गएकै दिन राति ११ बजे सई कार्कीले बुहारी अन्नपूर्णलाई फोन गरी धम्क्याएको शेरबहादुरको दाबी छ। रवीन्द्रको शव हाल टिचिङ अस्पताल महाराजगञ्जमा छ ।

प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने मृतक ढुंगानासँग सई कार्कीले ५ लाख रुपैयाँ लिएको र उक्त रकमको चेक बाउन्स भएपछि सोही मुद्दामा बालाजु वृत्तले नियन्त्रणमा लिएको बताए ।

एसएसपी लामाले भने बालाजु वृत्तले पक्राउपछि ढुंगानालाई प्रहरी परिसर टेकु लगी स्वास्थ्य परीक्षण गराएर थुनामा राखेको बताए ।

लामाले ढुंगाना छारे रोगका बिरामी रहेको उल्लेख गर्दै भने, ‘बिहानपख अप्ठ्यारो भएपछि उपचारका लागि वीर अस्पताल पुर्‍याएर परिवारलाई खबर गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।’

मृतकका आफन्तका अनुसार, सोमबार भेट्दा रवीन्द्रको अवस्था गम्भीर भइसकेको थियो । उनको अनुहारमा चोट छ भने मुखबाट रगत बगेको देखिएको उनका दार्इ शेरबहादुरले दाबी गरे । ५२ वर्षीय ढुंगानाले केही समयअघि ट्याक्सी किनेर चलाउँदै आएका थिए ।

आफन्तका अनुसार, केही वर्षअघि सई कार्कीसित रवीन्द्रकी श्रीमती थापाले ऋण लिएकी थिइन् । ऋण फिर्ता गरिसक्दासमेत कार्कीले बाँकी रहेको रकम फिर्ता गर्नुपर्ने भन्दै बारम्बार धम्क्याउने गरेको मृतकका परिवार बताउँछन् । सोही दिनसमेत कार्कीले ५ लाख लिनुपर्ने भन्दै रवीन्द्रसँग चेक काटेर लगेका थिए ।

प्रहरीले सईलाई जोगाउन खोजेको र जाहेरी नलिएको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन् । जाहेरी बुझाउन खोज्दा महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारीहरूले अस्वीकार गरेको मृतकका दार्इ शेरबहादुरले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *