Sajhamanch Archive

के लक्ष्मीप्रसाद देवकोटा सानैदेखि कविता लेख्थे ? यस्तो छ उनको जीवनी

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जम जयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म विसं। १९९६ कार्तिक कृष्ण औसी अर्थात् लक्ष्मीपूजाको दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका तेस्रा सन्तानको रूपमा काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

न्वारानको नाम तीर्थमाधव देवकोटा भएपनि लक्ष्मीपूजाको दिन्न जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिन गएको हो ।

सानैदेखि लेख्थे कविता

दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए र ती कृतिका माध्यमले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

विराट प्रतिभा

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका छन् ।

देवकोटा सर्जकका साथै अनुवादक पनि थिए । उनले विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चार्ल्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।

योगदान

उनले विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्ने–गराउने कामसमेत गरेका थिए । उनले वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा समेत सक्रिय योगदान दिएका थिए ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्थापनामा समेत महत्वपूर्ण योगदान गरेका देवकोटाले केही समय त्रि-चन्द्र कलेजमा शिक्षण समेत गरेका थिए ।

तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *