Sajhamanch Archive

मेचीनगरमा देवकोटाको ११०औँ जन्म जयन्ती भव्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by .

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्म जयन्ती झापाको मेचीनगरमा विविध कार्यक्रमका साथ मनाइएको छ ।

देवकोटा पार्क संरक्षण उपसमितिले मेचीनगर ६ काँकरभिट्टास्थित देवकोटा पार्कमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले पार्कमा रहेको महाकविको पूर्णकदको शालिकमा मल्यार्पण गरेर उद्घाटन गरेका हुन् ।

आयोजक समितिका अध्यक्ष गणेशकुमार खरेलको सभापतित्वमा भएको कार्यक्रममा महाकवि देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गर्नुका साथै दर्जनौ कविहरुले आ—आफ्नो रचना पाठ गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले महाकविलाई दोस्रो गौतम बुद्धको संज्ञा दिएका थिए । वक्ताहरुले महाकवि देवकोटा आफ्नो समयका एक अनुपम साहित्यिक प्रतिभा र विलक्षण प्रतिभाका धनी भएकाले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यपछि अर्काे चर्चित व्यक्तित्व भएको चर्चा गरेका थिए ।

देवकोटा आदिकविभन्दा अघि बढेर अन्तर्राष्ट्रिय स्तरमा नै नेपाल र नेपाली साहित्यको ख्याती विस्तारित गर्ने पहिलो महान व्यक्ति भएको बताए । देवकोटा सानोमा अन्तर्मुखी र धेरै नबोल्ने खालका रहेको भन्र्दै वक्ताहरुले उनको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

निरंकुश राणाकालीन समयको मध्यान्हमा जन्मेका र सचेत देवकोटाले एउटा निरंकुश र क्रुर समय आफ्नो अगाडि देख्न र भोग्न बाध्य भएको सहभागी वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोइराला, प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, प्रज्ञा सदस्य यज्ञराज प्रसाई, मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेती, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले देवकोटाको साहित्य, शिक्षाका बारेमा बोलेका थिए ।

यस्तै संघीय समाजवादी फोरम नेपालका धनप्रसाद गुरुङ, साहित्यकार सुभद्रा भट्टराई अर्याल, डिल्लीराम घिमिरेलगायत विभिन्न साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

आयोजक समितिका सचिव फणिन्द्र घिमिरेले सञ्चालन गरेको कार्यक्रममा सहभागी सबैलाई प्रविन बानियाँले शब्दद्वारा स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्ना रचना पाठ गरेका थिए भने कलाकारहरुले देवकोटाले रचना गरेका गीतहरु प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *