Sajhamanch Archive

आज गणेशमान सिंहको १०४औं जन्मजयन्ती

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं सर्वमान्य नेता गणेशमान सिंहको १०४ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

१९७२ साल कात्तिक २४ गते जन्मिएका सिंह नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रातःस्मरणीय व्यक्तित्व हुन् । २०५४ साल असोज २ गते निधन भएका सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय थिए ।

लौहपुरुषका नामले चिनिने सिंहले नेपालमा प्रजातन्त्र स्थापना गर्न राणाकालदेखि नै कठोर संघर्ष गरे । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा वीपीसँगै थिए ।

यातनासहित पटक पटक निर्वासन र जेल जिवन बिताउँदा समेत सिंहले नेपाली जनतालाई सार्वभौम बनाउने लोकतान्त्रिक आन्दोलनबाट कहिल्यै विश्राम लिएनन् ।

विपरित धारमा रहेका कांग्रेस र कम्युनिष्टहरुलाई प्रजातान्त्रिक आन्दोलनमा एक साथ उभ्याउन उनले २०४६ सालमा निर्वाह गरेको भूमिका अविस्मरणीय छ ।

०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घच्याएका थिए । कांग्रेस र कम्युनिष्टलाई एकै डुंगामा चढाएर आन्दोलन हाँक्ने क्षमता राख्ने सिंहजस्ता व्यक्तित्वको अभाव आजका दिनमा झनै खड्केको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *