Sajhamanch Archive

अफगानिस्तानका लागि उड्न लागेको विमानका पाइलटले विमान अपहरणमा परेको सूचना दिएपछि….

Published: in राष्ट्रिय समाचार, by .

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीमा रहेको एक विमानले अपहरणमा परेको सूचना प्रवाह गरेपछि शनिबार उक्त विमानस्थलमा हल्लीखल्ली मच्चियो ।

अरियाना एयरलाइन्सको विमान उड्ने तयारी गरिरहँदा अपहरणमा परेको सन्देश प्रवाह भएको थियो । विमानका पाइलटले उक्त सन्देश पठाउनासाथ विमानस्थल प्रशासनले उक्त विमानलाई उड्न रोक लगाउँदै चारैतिरबाट सुरक्षाकर्मीले घेराबन्दी गरेका थिए ।

राष्ट्रिय सुरक्षा गार्डका कमाण्डोसहित सुरक्षासँग सम्बन्धित विभिन्न निकाय उच्च सतर्कअवस्थामा रहे । विमानभित्र रहेका यात्रुमा पनि हल्लीखल्ली मच्चियो । लगत्तै विमानमा चेकजाँच सुरु गरियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार करिब दुई घण्टासम्म विमान र विमानमा सवार यात्रुको सुरक्षा जाँच गरियो ।

लामो अनुसन्धानपछि उक्त विमानका पाइलटले भूलवस अपहरणमा परेको सूचना दिने स्वीच थिचेको पाइयो । भारतीय सञ्चारमाध्यमका अनुसार ती पाइलटले आफ्ना को–पाइलटलाई आपतकालिन सेवासम्बन्धी जानकारी गराइरहेको अवस्थामा भूलवस उक्त स्वीच थिचिएको थियो ।

१२४ यात्री र चालक दलका ९ सदस्य सवार सो विमान करिब दुई घण्टा ढिलो नयाँ दिल्लीबाट अफगानिस्तानका लागि उडेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *