Sajhamanch Archive

मेसीको पेनाल्टीले पनि बचाएन बार्सालाई, रियल बेटिससँग पराजित

Published: in खेलकुद by .

स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाको उतरचढावपूर्ण प्रदर्शन जारी छ। आइतबार बार्सिलोना लिगमा तुलनात्मक रुपमा कमजोर मानिएको रियल बेटिसविरुद्ध अप्रत्यासित पराजय ब्यहोर्न बाध्य भयो।

चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले राम्रो पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग घरेलु दर्शक सामु ४–३ ले पराजित भयो। पाहुना टोली बेटिसले पहिलो हाफमै बार्सिलानाविरुद्ध निरन्तर आक्रमण गर्दा दुई गोलको अग्रता बनायो।

बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए। पहिलो हाफमै टिमको अग्रता दोब्बर पार्ने क्रममा जोक्विनले ३४ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा निरीह देखिएको बार्सिलानाले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरे पनि बेटिसविरुद्ध उसले कुनै चमत्कारिक नतिजा निकाल्न सकेन्। उल्टो थप दुई गोल खायो।

तर अन्तिम समयमा पनि गोल गरेकाले फराकिलो हारबाट भने जोगिएको थियो। ६८ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पाएको थियो। जसमा लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै खेलमा टिमलाई फर्काउने प्रयास गरे। तर त्यसको तीन मिनेटमा नै बेटिसले गोल गर्दै पुन: खेलमा दुई गोलको अग्रता कायम गर्‍यो। टेलोकै पासमा जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३–१ को अग्रता दिलाए।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका भिडालले ७९ औं मिनेटमा गोल गर्दै पुनरागमनको आशा जगाए। तर इभान राकिटिच अाठ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना थप कमजोर बनेको थियो। यद्यपि, अन्तिम समयसम्म नाटकीय देखिएको खेलमा ८३ औं मिनेटमा सर्जियो कानालेसले बार्सिलोनालाई थप समस्या दिए। फिर्पोको पासमा सहज गोल गर्दै कानालेसले दुई गोलको अग्रता कायम राखे।

इन्ज्युरी समयमा लिओनेल मेसीले गोल फर्काए पनि उनको गोलले टिमको हार टार्न सकेनन्। हारसँगै लिग तालिकामा उपाधि होड खुल्ला भएको छ। शीर्ष स्थानमा बार्सिलोनाको अग्रता एक अंकमा झरेको छ। बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ। ११ खेल खेलेको एस्पान्योलको २१ अंक छ र जित दर्ता गरेमा बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *