Sajhamanch Archive

एकैदिन दुई बालिका बलात्कृत

Published: in राष्ट्रिय समाचार by .

सुनसरी । धरानमा एकैदिन दुई बालिका बलात्कृत भएका छन् । बलात्कार आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले धरान १६ का ३० वर्षीय विष्णु तामाङ र १७ का २७ वर्षीय सुवास राईलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरीका नायब उपरीक्षक सुमन तिम्सिनाका अनुसार तामाङले गत आइतबार बिहान ९ वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।

तामाङ शारीरिक रूपले तन्दुरुस्त भए पनि बोल्न सक्दैनन् । बालिकामाथि जबर्जस्ती गरिरहेको गाउँलेले देखेपछि समातेर प्रहरीलाई बुझाइएको थियो ।

बालिकाको घरमा कोही नभएका बेला तामाङले बलात्कार गरेको प्रहरीले जनाएको छ । सुरुमा तामाङले इसारामार्फत आफूले बलात्कार नगरेको भने पनि बालिकाको शारीरिक अवस्था हेर्दा जबर्जस्ती भएको देखिन्छ ।

बेलुका सुवास राईले धरान १७ मा १२ वर्षीयालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । चार कक्षामा पढ्ने बालिकालाई सुवासले ललाइफकाई घरभित्र लगेर जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । बेलुकासम्म भान्जीलाई घरमा नदेखेपछि खोजतलास गर्दा स्थानीय दिनेश राईको घरको कोठामा रुँदै बसेको अवस्थामा भेटेर प्रहरीलाई खबर गरिएको थियो ।

मामालाई देख्नासाथ भान्जीले रुँदै आफूलाई सुवासले जबर्जस्ती गरेको बताएकी थिइन् । दुवै घटनाका आरोपीलाई प्रहरीले सोमबार सुनसरी जिल्ला अदालतमा पेस गरेको छ ।

ताप्लेजुङमा पनि तीन वर्षअघि जबर्जस्ती गरेको अभियोग लागेका पाथीभरा याङवरक १ नाङखोल्याङका मिङमा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ३ हजार १ सय मिटरको हिमाली बस्ती घुन्साबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

२०७२ साउन २६ गते राति फुङलिङ नगरपालिका १० फुरुम्बुको बाटोमा १२ वर्षीया बालिका बलात्कार गरेको उनीमाथि आरोप छ । कात्तिक २१ गते प्रहरीले पक्राउ गरी उनलाई जिल्ला अदलतमा बुझाएकामा पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *