Sajhamanch Archive

मोरङको रंगेली आजबाट खुल्ला दिसामुक्त

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

मोरङ । मोरङ जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रंगेली खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रतिनिधि सभाका सदस्य शिवकुमार मण्डलले नगरपालिकालाई खुल्ला दिसामुक्त भएको घोषणा गरे ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश पोखरेलले नगरपालिकालाई खुल्ला दिसामुक्त स्थानीय तहको प्रमाणपत्र प्रदान प्रदान गरेका थिए ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सामुदायिक विकास समाज बिराटनगर र मातृभूमि महिला समाजले रंगेलीमा खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेका हुन् । ११ हजार १ सय ३४ घरधुरीमध्ये ५ हजार ६ सय ९८ घरधुरीमा अभियानअघि सुरक्षित चर्पीको पहुँच रहेको थियो भने अभियानको क्रममा ५ हजार ४ सय ३६ घरधुरीमा सुरक्षित चर्पीको निर्माण भै सम्पूर्ण घरधुरीमा सुरक्षित चर्पीको पहुँच पुगेको घोषणा समारोहमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

दिगोपनमा जोड
घोषणा समारोहका वक्ताहरुले नगरपालिका क्षेत्रभित्र सुरक्षित चर्पीको पहुँच पु¥याएकोमा बधाइ दिंदै चर्पीको समुचित र नियमित प्रयोग, स्तरोन्नति र दिगोपनमा जोड दिए ।

“विश्वले मंगल ग्रहमा सहर बसाउने योजना बनाइरहँदा हामीले धरतीमा चर्पी बनाउने योजना बनाइरहेका छौं”, कार्यक्रमका प्रमुख अतिथि सांसद शिवकुमार मण्डलले भन्नुभयो, “तैपनि, जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रंगेली नगरपालिका यसमा सफल भएको छ ।”

प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारीले प्रधानमन्त्री र देशकै नेतृत्व उत्पादन केन्द्रको रुपमा रहेको मोरङ जिल्ला खुल्ला दिसामुक्त नहुनु दुःखद भएको बताउँदै सन् २०१८ भित्रै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरी समुन्नतिमा अघि बढाउन अनुरोध गरे ।

अर्का प्रदेश सभा सदस्य ज्ञानेश्वर राजवंशीले सार्वजनिक स्थलहरुको व्यवस्थापनमा जोड दिंदै घरायसी फोहर व्यवस्थापन प्रभावकारी रुपमा गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश पोखरेलले सामाजिक चिन्तन, संस्कार र व्यवहार नै साँचो अर्थमा परिवर्तनका सूचक भएको बताए । यही मंसीर महिनाभित्र मोरङलाई खुल्ला दिसामुक्त घोषणा गरी पूर्ण सरसफाइ अभियानमा समेत लाग्नुपर्नेमा उनले जोड दिए ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले सडक र कल्भर्टलाईमात्र विकास मान्ने चिन्तनमा परिवर्तन ल्याउनुपर्ने बताउँदै विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि, पूर्ण सरसफाइ रणनीतिक योजना र नगरपालिकाको वातावरण तथा सरसफाइ कार्यविधिलाई सँगसँगै कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

थपियो बिराटनगरमाथिको चुनौति
नेपालका तीन वटा प्रदेश खुल्ला दिसामुक्त अवस्थामा पुगिसक्दा पनि विकास र समृद्धिमा अग्रपंक्तीमा रहेको १ नं. प्रदेश अझैसम्म खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । नेपालको पूर्वी प्रवेशद्वारको रुपमा लिइने झापा र प्रदेश राजधानी समेत रहेको मोरङले खुल्ला दिसामुक्त अवस्था समेत हासिल गरेका छैनन् ।

१५ स्थानीय तह रहेको झापाका १२ स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् भने बाँकी ३ स्थानीय तहलाई यही मंसीर १० सम्म खुल्ला दिसामुक्त घोषणा गरी मंसीर २८ गते जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने अन्तिम कार्ययोजना झापाले सार्वजनिक गरेको छ ।

मोरङ जिल्लालाई यही मंसीर २० गतेसम्म खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता जिल्लास्थित मुख्य सरोकारवालाले व्यक्त गरे पनि जिल्ला तहको विस्तृत कार्ययोजना बन्न नसक्दा अभियान त्यति प्रभावकारी बन्न सकेको छैन ।

१९ वडा रहेको सदरमुकाम विराटनगरका १७ वडा खुल्ला दिसामुक्त घोषणा भएका छन् । वडा नं. १८ र १९ खुल्ला दिसामुक्त घोषणा हुनासाथ जिल्लाबाट अनुगमन गरी नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिने महानगरपालिकाका प्रमुख भीम पराजुली बताउँछन् । “हामीले महानगरको सरसफाइलाई विशेष जोड दिएका छौं, विपन्नहरुलाई सहयोग गरेर भए पनि तोकिएकै समयमा खुल्ला दिसामुक्त गर्न प्रतिवद्ध रहेको उनको भनाइ छ ।

विराटनगर महानगरपालिकासँगै जोडिएको बूढिगंगा गाउँपालिका र नजिकै रहेको जहदा गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान सहजीकरण भैरहे पनि खुल्ला दिसामुक्त अवस्था हासिल गर्न सकेका छैनन् ।

हटहरी बन्यो फलामको च्युरा
बिराटनगरसँगै जोडिएको कटहरी गाउँपालिकामा करिब १ हजार ८ सय घरधुरीमा चर्पी निर्माण गर्न बाँकी छ । अभियान सहजीकरण गर्ने निकाय नहुँदा कटहरी गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान रामभरोसे बनेको छ । गाउँपालिका अध्यक्ष रामकुमार कामत कटहरी गाउँपालिकाका कारण जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न वाधक नबने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ ।

हालैमात्र सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्की गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न संघसंस्था र निकायसँग समन्वय गरी अभियान सहजीकरण गर्ने र खुल्ला दिसामुक्त हुन बाँकी वडाहरुले निर्माण सामग्रीको सुनिश्चितता गरी सुलभ दरमा सामग्री उपलब्ध गराउने रणनीति गाउँपालिकाले तय गरेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *