Sajhamanch Archive

कांग्रेस पार्टी कार्यालयमा नाराबाजी, दुई समूहबीच हात हालाहाल

Published: in राजनीति by .

ललितपुर । नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशनमार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समूहका बीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ।

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरूलाई दबाब दिन दुवै पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य वीरबहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डैझण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शुशिल भट्टलगायतको समूहले महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै ‘टिके’ प्रथाको विरोधमा नाराबाजी गरेको हो। अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिनालगायतको समूहले नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका हुन्। दुवै पक्षले आ-आफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन्।

बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए। नेविसंघले तीन महिनाअघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावली पास हुन नसक्दा नेविसंघको भावी नेतृत्वमा अन्योल छाएको छ। भोलिदेखि नेविसंघको थप गरिएको पदावधि पनि सकिँदै छ।

विद्यार्थी नेता भट्ट समूहले हालको पदाधिकारीलाई नै महासमिति आयोजक समिति बनाई प्रजातान्त्रिक प्रक्रियाबाट महाधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिँदै आएको छ।

तीन महिनाअघि बुझाएको पार्टीको विधान र नियमावली पास नगरी पार्टी नेतृत्व नयाँ तदर्थ समिति गठन गरी आफू अनुकूलको बनाउने प्रयासमा लागेपछि विरोधमा उत्रिएको विद्यार्थी नेता भट्टले बताए। यो समाचार तयार पार्दासम्म पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्न सकेको छैन। नेताहरू आन्तरिक बैठकमा बसिरहेको सूचना प्राप्त भएको छ। कार्यालय परिसरमा दुवै पक्षका विद्यार्थीले नाराबाजी पनि गरिरहेका छन्।

थाहा संवाददाता

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *