Sajhamanch Archive

मेचीनगरमा डेंगु संक्रमण दर उच्च भएपछि चेतना अभियान सञ्चालन

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

मेचीनगर । मेचीनगरका केही वडाहरुमा डेंगु संक्रमण दर उच्च भएपछि नगरपालिकासहित ती वडाहरुमा चेतना अभियान सञ्चालन भए अनुसार मंगलबार मेचीनगर नगरपालिका—६ काँकरभिट्टाका विभिन्न ठाउँमा विषादी छिट्ने काम भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा वडानम्बर—६ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय संघ संस्थाका प्रतिनिधिसहितको टोलीले त्यसक्षेत्रमा डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचार, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, विषादी छिट्ने लगायतका काम गरेको स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताईन् ।

लामो समयदेखि जमेको पानीमा, पानीको ट्याङकी, एसी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्छ । स्वास्थ्यकर्मीहरुको टोलीले त्यस्तै ठाउँको खोजी गरी लामखुट्टेको वासस्थान, लार्भा खोजेर नष्ट गर्ने गरेको शाखाका सह संयोजक रामनारायण यादवले बताए ।

वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार बजार क्षेत्र, बाहुनडाँगी रोड, भट्टराई चोक, पुरानो भन्सार र विशेष गरी टायर मर्मत गर्ने ठाउँमा टोलीले विषादी छिट्ने काम गरेको थियो । शाखाले केही दिनअघि नगरको वडानम्बर ३ को तेलपानी क्षेत्र, १० को धुलावारी क्षेत्र, १२ को माथिल्लो धाइजन क्षेत्र तथा १३ को चारआली आसपास क्षेत्रमा रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो ।

झापाका मेचीनगर, विर्तामोड, दमक नगरपालिका डेंगुको उच्च जोखिममा रहेका छन् । असोज र कात्तिक महिनामा यस्तो संक्रमणको खतरा बढ्ने भएकाले यसबाट बच्न राईले सर्वसाधारणलाई अपिल समेत गरेकी छन् ।

डेंगुका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने भन्र्दै यस्तो लक्षण देखिए तत्काल स्वास्थ्य स्वास्थ्य संस्थामा जान उनले आग्रह गरीन् । लामखुट्टेको टोकाइबाट बच्ने, लामखुट्टेको बृद्धि र विकासमा नियन्त्रण गर्ने, घर आँगन, लार्भा नष्ट गर्ने , कौसीको हरहमेशा सरसफाइ गर्ने, र पानी जम्न नदिने, टिनका खाली डिब्बाहरु, रंगका खाली डब्बाहरु, टायर, ट्यूव, खाली ड्रमहरुमा पानी जम्न नदिने, पानीको नाली ढल, पोखरी आदिमा हप्ताको २ पटक डढेको मोविल मट्टितेल छर्किने, खानेपानी ट्याँकी राम्ररी ढकन लगाएर राख्न सके डेंगु ज्वरोबाट बच्न सकिने राईको भनाई छ ।
टोलीमा वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्य लक्ष्मी पाख्रिन तामाङ, राजकुमार श्रेष्ठ, सावित्रा ल्वागुन देवीप्रसाद सुवेदी, मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती मजदुर नेता खडानन्द भण्डारीसहित स्वास्थ्यकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *