Sajhamanch Archive

३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सकियो

Published: in अर्थतन्त्र by .

लमजुङ  ।  ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सकियो  लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहनुडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ ।

काम सुरु भएको १६ महिनामा आयोजनाको झण्डै ४ किलोमिटर लामो सुरुङ निर्माणको काम सकिएको हो । यो आयोजना न्यादी हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित आयोजना हो । यस आयोजना चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाको सुरुङ निर्माण काम सकिनुका साथै आयोजनाको अन्य काम पनि तीव्र गतिमा अघि बढिरहेको आयोजनाका प्रमुख उत्तम अमात्यले बताउनुभयो ।

उहाँका अनुसार २०१७ को जुलाई ६ बाट सुरुङ निर्माणको काम सुरु भएको हो । आयोजनामा सुरुङसहित ७ सय ७६ मिटर लामो पेनस्टक पाइप राखिनेछ । भौगोलिक विकटता भए पनि आयोजना निर्माणले तीव्रता पाएको छ । आयोजना निर्माणका लागि एकसय बढी कामदार खटिएका छन् । नेपाली र चिनियाँ कामदार आयोजना निर्माणमा खटिएका हुन् ।

आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना अन्तर्गतका काम २० प्रतिशत सकिएको छ । आयोजनाको ४५ प्रतिशत काम सकिएको छ । वर्षा सुरु हुनुअघि बाँध क्षेत्रको संरचना निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख अमात्यको भनाई छ ।उहाँले थप्नुभयो, ‘आयोजनामा विद्युतगृहको जग खन्ने काम सुरु भएको छ । विद्युतगृह पनि आउने वर्षा यामअघि सम्पन्न गर्ने योजनामा जुटेका छौँ ।’

२०७३ चैतबाट निर्माण सुरु भएको यो आयोजना आउँदो १७ महिनाभित्रै सम्पन्न गरी विद्युत उत्पादन गर्ने तालिका प्रवद्र्धक कम्पनीसँग छ । कुल ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

आयोजना पूरा भएपछि उत्पादित विद्युत २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा लगेर जोड्ने योजना प्रवद्र्धक कम्पनीसँग छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी गेजाङले गरेको छ ।

नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिनेछ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दर अनुसार वर्षा याममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता ९पीपीए० गरेको छ । उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भई आठ वर्षसम्म र सम्झौताको अवधि ३० वर्षसम्म कायम रहने बताइएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *